३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

पहिरोको त्रासमा पहाडी जिल्ला

फाइल तस्बिर

असारको पहिलो साता नै ठूलो वर्षा भएपछि पहाडी क्षेत्रमा पहिरो आउन सुरु भएको छ। पहिरोका कारण राजमार्ग र ग्रामीण क्षेत्रका सडकहरू केही समय बन्द हुने र खुल्न थालेका छन्। प्रदेश ५ का पाल्पा, गुल्मी, अर्घाखाँचीसहित पहाडी जिल्लामा पहिरोका कारण मानवीय क्षतीका साथै गाउँ नै विस्तापित हुने अवस्थामा पुगेका छन्।  

पाल्पा तानसेन नगरपालिका–११ सम्मोबारीमा सडकमाथिबाट आएको पहिरोले चार वटा सवारी बगाउँदा चार जनाको ज्यान गएको छ। सोमबार साँझ आएको पहिरोले दुई वटा गाडी बगाएको थियो भने, दुई वटा पुरेको थियो। उक्त घटनामा दुई जनाको घटनास्थलमै तीन जनाको मृत्यु भएको र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा जिल्लाको शिवपटासी नगरपालिका–८ का १८ वर्षीय कुमार तामाङ, चितवनको भरतपुर महानगरपालिका–२९ का ३३ वर्षीय वीरबहादुर गुरुङ, काभ्रे पाँचखाल–८ का २८ वर्षीय निबेक श्रेष्ठ र पाल्पाका ३२ वर्षीय भुवन खाम्चाको रहेको प्रहरीको भनाइ छ।

तानसेनदेखि करिब ५ किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा पहिलो पटक ठूलो पहिरो गएको स्थानीयको भनाइ छ। उक्त ठाउँमा पहिरो हटाउन सडक सञ्चालन गर्न एक दिन लागेको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। घटना भएको दिन तीन जनाको र पछिल्लो दिन मंगलबार थप एक जनाको शव फेला परेको उनले बताए।

पाल्पा, गुल्मी र अर्घखाँचीमा पहिरोका कारण पाँचको मृत्यु, ४४ परिवार विस्तापित र २१ घर उच्च जोखिममा परेका छन्।

पहिरोले अन्य मानवीय क्षती पनि गरेको हुनसक्ने भएकाले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली उक्त स्थानमा खटीएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन गिरीले जानकारी दिए। पाल्पादेखि गुल्मीसम्मको सडकखण्ड साँघुरो भएपछि तानसेन नगरपालिकाले गत वर्षदेखि फराकिलो बनाउन सुरु गरेको थियो। सडक फराकिलो बनाउन थालेपछि सडकमा पहिरो जानेक्रम बढेको स्थानीयको भनाइ छ।

वर्षाका कारण पाल्पाका ग्रामिण क्षेत्रका सडकमा समेत यो वर्ष पहिरोको समस्या बढ्न सक्ने प्रजिअ न्यौपानेले बताए। स्थानीय तहमाले डोजर प्रयोग गरेर विकास निर्माणका काम हुने गरेकाले बर्खामा पहिरोको समस्या बढी रहेको उनको भनाइ छ। पाल्पाको तानसेन नगरपालिका–११ जोगीपानीका हिरालाल गहतराजको परिवार पहिरोका कारण विस्थापित भएको छन्। पाल्पा रम्भा गाउँपालिका झिर्दीखोलामा आएको बाढीले बगाउँदा स्थानीय ७१ वर्षीय मनकुमारी सारूको मृत्यु भएको प्रहरीले जनाएको छ।  

पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएपनि तत्काल पहिरो हटाएर सुचारु गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इञ्जिनियर शिवु खत्रीले जानकारी दिए। पहिरो हटाउन आवश्यक उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए।  

बर्खा सुरु भएपछि गुल्मी जिल्ला पनि प्रभावित भएको छ। यहाँका कही गाउँ पहिरोको जाखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। अहिलेसम्म पहिरोका कारण ४२ घरपरिवार विस्तापित भएका छन्। पहिरोले घर जोखिममा रहेका परिवारलाई नजिकैको विद्यालयमा राखिएको प्रहरीले जानकारी दिएको छ।  

जोखिममा रहेका परिवारलाई विद्यालयहरुमा राखिएको छ। गत वर्ष पहिरोले ठूलो क्षती गराएको सत्यवती ठूलो लुम्पेकका यो वर्ष पनि पहिरोको जोखिम देखिएको छ। गत वर्षभन्दा अहिले मनसुन छिट्टै सुरु भएकाले सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गरेर पूर्वतयारीमा जुटेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए। जिल्लाका अन्य ठाउँमा पनि पहिरोको जोखिम रहेको उनले बताए।  

अर्घाखाँचीमा बुधबारसम्म पहिरोले दुई घर बगाएको प्रहरीले जानकारी दिएको छ। जिल्लामा अहिलेसम्म दुई घर बगाएको र २१ घर उच्च जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ११ असार २०७७ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App