५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

कर्णालीमा भिर र रूखबाट लडेर चार वर्षमा २ सय ५२ को मृत्यु

फाइल तस्बिर

कर्णाली प्रदेशमा भिर र रूखबाट लडेर पछिल्ला साढे चार वर्षमा २ सय ५२ जनाको ज्यान गएको छ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्ष ०८२/०८३ को असोज मसान्तसम्म २ सय १८ जनाको मृत्यु भिरबाट लडेर र ३४ जनाको मृत्यु रूखबाट खसेर भएको छ। यो तथ्यांकले कर्णालीको भौगोलिक विकटता, असुरक्षित दैनिक मार्ग र जीविकोपार्जनमा निर्भर जोखिमयुक्त श्रम आज पनि कति महँगो साबित भइरहेको छ भन्ने कठोर यथार्थ उजागर गर्छ।

दुर्घटनाबाट मृत्यु हुने संख्याले बर्सेनि उतार–चढाव देखाए पनि मूल समस्या भने उस्तै छ। २०७८/०७९ मा ५२ जना, २०७९/०८० मा ५३ जना, २०८०/०८१ मा ७२ जना (चार वर्षकै उच्च), २०८१/०८२ मा ६२ जना र २०८२/०८३ (असोज मसान्त) १३ जना यता प्रहरीका अधिकारीहरूका अनुसार मौसम, गोरेटोको अवस्था र ग्रामीण क्षेत्रका दैनन्दिन श्रमको चरम जोखिम यी उतार–चढावका पछाडि मुख्य कारण हुन्। कुल मृतकमध्ये १ सय ८५ पुरुष, ५० महिला र १७ बालबालिका छन्।

प्रहरी तथ्यांकले देखाउँछ महिला प्रायः घाँस काट्ने क्रममा रूख वा भिरबाट चिप्लेर ज्यान गुमाउने गर्छन्, जबकि पुरुषहरू दाउरा तथा अन्य वनपैदावार संकलनकै क्रममा दुर्घटनामा पर्छन्। कालिकोट–२ की ४४ वर्षीया पाँचा खड्का गत जेठमा घर नजिकै भिरमा घाँस काट्न जाँदा घटनास्थलमै मृत्यु। यस्तै सान्नी त्रिवेणी–९ की ६८ वर्षीया मनपुरा केसीले गत वर्ष साउनमा घाँस काट्ने क्रममा चिप्लिएर ज्यान गुमाइन्। यी घटनाले ग्रामीण महिलाले दैनिक दिगो जीवनका लागि भोग्नुपर्ने जोखिम बुझाउँछन्।  

कर्णालीका सबै जिल्लामा मृत्यु संख्या भौगोलिक बनावटअनुसार भिन्न छ। कालिकोट : ४७ (जसमध्ये ४५ भिरबाट)  प्रदेशमै सर्वाधिक जाजरकोट ३६ जना, दैलेख २४ जना, मुगु १६ जना, रुकुम पश्चिम उल्लेख्य संख्या र सल्यान  २०७८/७९ मा मात्र १७ जनाको मृत्यु भएको छ।

विशेषज्ञहरूका अनुसार कर्णालीमा मानवीय क्षति रोक्न तीन प्रमुख क्षेत्र तत्काल ध्यान दिनुपर्ने छन्। सुरक्षित पदमार्ग र मार्ग–संरचना निर्माण,घाँस–दाउरा संकलनमा सुरक्षा उपाय तथा तालिम र वैकल्पिक जीविकोपार्जनका अवसर विकास प्रदेश प्रहरीका प्रवक्ता केदार खनाल भन्छन्, 'भौगोलिक अप्ठ्याराले सामान्य दैनन्दिन काम पनि जोखिमयुक्त बनेको छ। संरचनागत सुधार र जनचेतना दुवै नभएसम्म यस्तो दुर्घटनाबाट मुक्त हुन कठिन छ।'

कर्णालीको भिरालो भूगोल केवल प्राकृतिक चुनौती मात्र होइन—ठोस नीतिगत ध्यान नपाउँदा मानवीय क्षतिमा परिणत भइरहेको तथ्य यो विवरणले फेरि एक पटक स्पष्ट बनाएको छ।

प्रकाशित: २ मंसिर २०८२ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App