१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

‘भर्चुअल’ बैठकमा मन्त्री बोल्दाबोल्दै अश्लील भिडियो

जारी लकडाउनका कारण भर्चुअल मिटिङका लागि जुम एप सबैको सारथि बनेको छ। कतिपय देशमा उक्त एपको विश्वसनीयतामाथि नै प्रश्न उठिसकेको छ। नेपालमा भने अहिले उक्त एपको प्रयोग स्कुल, कलेज, कार्यालयका काममा बढे पनि विश्वसनीयताबारे प्रश्न उठिरहेका छ। सोमबार सोही एपको प्रयोग गर्दै आयोजना गरिएको मन्त्री सहभागी एक कार्यक्रम रद्द मात्रै भएन, साइबर सुरक्षासम्बन्धी प्रश्नसमेत उठेको छ।

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्र सञ्चालनका लागि गाइडलाइन सार्वजनिक गर्न आयोजना गरेको ‘भर्चुअल जुम मिटिङ’मा अश्लील भिडियो सार्वजनिक भएपछि साइबर सुरक्षाबारे प्रश्न उठेको हो। जारी महामारीका कारण लथालिंग रहेको पर्यटन क्षेत्रमा सरकारले लकडाउन खोलेपछि पुनः व्यवसायमा कसरी प्रवेश गर्नेबारे छलफल गर्न पर्यटनसम्बन्धी सुरक्षा निर्देशिका सार्वजनिक गर्न दिउँसो १ बजे उक्त बैठक बोलाइएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई उक्त बैठकका प्रमुख अथिति थिए।

कार्यक्रममा पर्यटन सचिव तथा बोर्डका अध्यक्षसमेत रहेका केदारबहादुर अधिकारी, पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी विभिन्न संघ–संगठनका प्रतिनिधि, सातवटै प्रदेशका व्यवसायी, सञ्चारकर्मीसहित भारत र बंगलादेशबाट समेत ट्रेड, टुर अपरेटरहरूले भाग लिएका थिए। भारत र बंगलादेशका अपरेटरहरूलाई बैठकको लिंक बोर्डले नै पठाएको थियो।

एक हजारजनाले सुन्न सक्ने र सय सहभागीको फोटोसमेत देखाउन सक्नेगरी आयोजना गरिएको उक्त भर्चुअल बैठकमा पर्यटन सचिवले आफ्नो भनाइ राखेपछि अन्त्यमा मन्त्रीलाई बोल्ने समय तोकिएको थियो। तर मन्त्रीले बोल्न थालेको केही समयमै ‘अनौठो आवाज’सहित अश्लील भिडियो आउन थालेपछि सहभागीहरू बैठकबाट बाहिरिएका थिए। आयोजकले उक्त आवाज म्युट गर्न नसक्दा अन्तमा बैठक नै रद्द हुन पुगेको थियो।

उक्त घटनाबारे बोल्दै पर्यटन मन्त्रालयले बोर्डलाई कसरी त्यस्तो हुन गयो भन्नेबारे अनुसन्धानमा सघाउन निर्देशन दिइसकेको जनाएको छ। मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बोर्डले होस्ट गरेको कार्यक्रम भएकाले छानबिन गर्न मन्त्रालयले दिर्देशन दिएको र बोर्डले समेत प्रहरीमा जाहेरी दिइसकेको जानकारी गराएका छन्।  

साइबर क्षेत्र प्रहरीको क्षेत्राअधिकार भित्र पर्ने भएकाले अनुसन्धान पश्चात ह्याकर प्रवेश गरेको वा सहभागीमध्येबाटै त्यस्तो हुन गएको हो भन्ने बारे अनुसन्धानले देखाउने उनको भनाइ छ। संसारका कतिपय ठाउँमा यस्ता प्रकारका समस्या आइसकेको बताउँदै नेपालका सरकारी कार्यालयका डोमिनहरू विभिन्न समय ह्याकरको निसानामा पर्ने गरेकाले यो घटनामा समेत ह्याकरको अनधिकृत प्रवेशबारे अनुसन्धानले देखाउने नागरिकसँग उनले बताए। पर्यटन बोर्डको सिइओ रेग्मीले प्रहरीले अनुसन्धानको लागि कम्पुटर लगिसकेको र प्रहरीलाई अनुसन्धानमा सधाउन तीन जनाको संयोजकत्वमा अनुसन्धान समिति गठन भइसकेको बताए।

बैठकलाई को–होस्ट गरेका सुदन सुवेदीका अनुसार बैठकको मोनिटरिङ महिलाले गरेको र लिंकमा पासवर्डको प्रयोग भएको बताए। अनधिकृत रूपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आइडीबाट उक्त गतिविधि भएको समेत स्रोतको दाबी छ। केही समयअघि राष्ट्र बैंकले गरेको भर्चुअल कार्यक्रममा समेत उक्त समस्या देखिएको थियो।

प्रकाशित: ९ असार २०७७ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App