coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नयाँ गाडी र भवन नलिने उपसभामुख तामाङ चर्चामा

वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले नयाँ गाडी, नयाँ निवास(स्वकीय सचिवालय)भवनको विनियोजित वजेट फिर्ता गर्ने जनमुखी निर्णय लिएसँगै चर्चामा छिन् । कोरोना भाइरस(कोभिड–१९)का रोकथाम र संक्रमितको उपचारमा सहयोग पुगोस् भनेर सुविधा नलिने घोषणा गरेपछि सामाजिक संजालमा उनको धेरैले तारिफ गरिरहेका छन् ।

वाग्मती प्रदेशसभा सचिवालयले उपसभामुख तामाङका लागि नयाँ गाडी किन्न र सडक डिभिजन( सभामुख–उपसभामुख अस्थायी निवास)को कम्पाउन्डभित्र नयाँ भवन बनाउनका लागि रकम विनियोजन गरेको थियो । सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको २०७६ फागुन १४ गते बसेको बैठकले उपसभामुखका लागि नयाँ गाडी किन्ने निर्णय गरेको थियो । त्यस्तै, सभामुख र उपभामुखका लागि भवन बनाउने निर्णय प्रदेशसभाको स्वीकृत वार्षिक कार्यक्रममै रहेको थियो ।

नयाँ गाडी र नयाँ भवनको वजेट सिधै कोरोना कोषमा नगएपनि राज्यकोषमा गएपछि मितव्यीता हुने सोचले नयाँ गाडी र नयाँ भवन त्यागेको उनको दाबी छ । लकडाउन(बन्दाबन्दी)का बेला पटकपटक आफ्नो निर्वाचन क्षेत्र जाँदा कोरोना संक्रमण रोक्न र व्यवस्थापनमा गम्भीर समस्या देखिएपछि उनले सुविधा नलिने सोच विकास भएको उनले बताईन् ।

‘लकडाउन भएको ११–१२ दिनमा गाउँ जाँदा ज्वरो नाप्ने मेसिन समेत थिएन,’ उनले भनिन्, ‘गाउँमा व्यवस्थित क्वारेन्टाइन बनाउन नसकेकाले भारतबाट आएकालाई राख्न स्थानीयले नदिएको देखे, त्यसपछि राज्यमा बसेका हामीले यस्तो गरे कस्लाई विश्वास गर्ने जस्तो लागेर नयाँ गाडी र नयाँ भवन त्याग्ने निर्णय गरेको हुँ ।’

आफनो गाउँपालिकाले स्वास्थ्य सामग्री किन्न नपाएको भनेपछि पटक–पटक स्वास्थ्य सामग्री र डाक्टर लिएर गएको भन्दै उनले आफनो क्षेत्रमा रहेको एउटा अस्पताललाई आइसोलेशन बनाउँन काम पनि गरिरहेको समेत सुनाईन् ।

आफ्नो निर्वाचन क्षेत्र दुर्गम भएकाले सडक कच्चीमा सजिलोका लागि अग्लो गाडी किनेर साट्ने योजना बनाएपनि अहिले मानसिकता बदलेको उनले बताईन् । ‘यो(कोरोना कहर) बेला गाडी किन्नु  राम्रो हुँदैन भनेर फ्रिज भएपनि होस् भनेर अघि बढेको हुँ,’ उनले थपिन्, ‘सचिवालय भवन पनि यो बेलामा बनाउनु राम्रो हुँदैन, जे छ यही ठिक छ भनेर नयाँ नबनाउने सोच बनाएर सभामुखलाई जानकारी गराएको थिए ।’

सामान्य सोचले त्यस्तो निर्णय गरेको भन्दै उनले प्रचार होस् भनेर नगरेको बताईन् । ‘मैले दुर्गम(लेक) ठाउँबाट चुनाव जितेको हो, भोली यो(उपसभामुख) पद सकेपछि सार्वजनिक गाडीमा हिड्ने मान्छे हो,’ उनले भनिन्  ।

उपसभामुखका लागि गाडी खरिदका लागि १ करोड २० लाख बजेट विनियोजित छ । सचिवालयले सभामुख र उपसभामुखलाई छुट्टा छुट्टै स्वकीय सचिवालय भवन निर्माण गर्न ५८ लाख ३० हजार रकम विनियोजन गरेको थियो । गत मंसिरमा निर्णय भई इविडिङ्ग मार्फत् ठेक्का प्रक्रिया बढाउने भनिएपनि ढिलासुस्ती र लकडाउनका कारण भन्दै सचिवालयले २०७७ जेठ अन्तिम सातामा मात्र निर्माण प्रकृया अघि बढाएको थियो ।

सभामुख र उपसभामुखका लागि २ सचिवालय भवन बनाउने निर्णय अनुसार सभामुख सानुकुमार श्रेष्ठको सचिवालयका लागि नयाँ ट्रस्टको भवन भने निर्माण गरिएको साचिवालयले जनाएको छ । राष्ट्रपतिका लागि हेलिकप्टर, कारपेट खरिदमा राष्ट्रपति विद्यादेवी भण्डारी, जिकखाना निर्माणमा मन्त्रीहरुको निक्कै आचालोना भएको थियो । तर उपसभामुखको नयाँ गाडी र भवन निर्माणको वजेट फिर्ता गर्ने निर्णयको भने सामाजिक संजालहरुमा निक्कै प्रसंशा भईरहेको छ । ‘वास्तविक जननेताको वस्तुगत निर्णय । नमन,’ लालबहादुर तामाङले फेसबुकमा लेखेका छन् । त्यस्तै, गायत्री डोटेल लेख्छिन्, ‘विद्या भण्डारीले उहाँबाट केही सिक्ने हो कि ?’ राजेन्द्र श्रेष्ठले उपसभामुख तामाङ जस्तै नेताहरु सुविधाभोगी नभए देश विकास हुने धारणा व्यक्त गरेका छन् ।

नुवाकोट क्षेत्र नम्बर १ को ‘क’बाट प्रदेश सांसद निर्वाचित उपसभामुख तामाङ तत्कालिन नेकपा माओवादीकी केन्द्रीय सदस्य, दोस्रो संविधान सभामा सभासद र पूर्व कृषि राज्यमन्त्री हुन् । तामाङले माओवादी सशस्त्र विद्रोहका बेला २०६१ मा नुवाकोटमा जनसरकार प्रमुखको भुमिका समेत निर्वाह गरेकी थिइन् ।

प्रकाशित: ८ असार २०७७ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App