८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

रातो रिबनभित्र कैद कोरोना संक्रमित, गाउँमा त्रास

गौरीगंगा नगरपालिका–१, गोप्का चौमालामा एक कोरोना संक्रमितको घरमा बाँधिएको रातो रिबन । तस्बिरः पुष्पराज जोशी/नागरिक

घर अगाडि रातो रिबन बँधिएको छ । रातो रिबन भित्रको घरमा दुई युवाहरु पाँच दिनदेखि कैद छन् । असार ३ गतेका दिन उनीहरुको घरमा वडाका जनप्रतिनिधि आएर रिबन बाँधेर गए । त्यसपछि न उनीहरुको हालखबर सोधिएको छ, न त उनीहरुको स्वास्थ्य चेकजाँच नै गरिएको छ । गौरीगंगा नगरपालिका–१, गोप्का (चौमाला) का २७ वर्षिय र २६ वर्षिय पुरुष (दाजु भाइ) लाई पिसिआर चेकपछि कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि एकाएक जनप्रतिनिधि आएर उनीहरुको घर रेड जोनमा परेको भन्दै रातो रिबन बाँधिएको थियो ।  

भारतको दिल्लीबाट गत जेठ १० गते उनीहरु चौमाला फर्केका हुन् । चौमालास्थित पशुपति माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा बसेका उनीहरुको आरडिटी जाँचमा पोजेटिभ देखिएपछि पिसिआर जाँच गरिएको थियो । पिसिआरको रिपोर्ट ढिला आउने भएपछि वडाध्यक्षले जेठ ३० गते उनीहरुलाई घर पठाइदिए ।

‘रिपोर्ट नआउँदै जेठ ३० गते वडाध्यक्षले घर पठाइदिए,’ कोरोना संक्रमित २७ वर्षिय पुरुषले भने,‘हाम्रो रिपोर्ट नआउन्जेल यही बस्छौँ भन्दा कसैले मानेनन्, घर पठाइदिए, अहिले आएर घरमै रातो रिबन बाँधियो ।’ क्वारेन्टिनबाट सिधै घरमा आएर बसेको बताउँदै अर्का संक्रमित २६ वर्षिय पुरुष भन्छन्,‘क्वारेन्टिनबाट हामी सिधै घरमा आएर बस्यौँ, यहाँ आएको चार दिनपछि त पोजेटिभ रिपोर्ट आएको खबर पायौँ ।’ आफूहरुलाई पोजेटिभ देखिएपछि अहिलेसम्म कसैले पनि उपचारका लागि लैजान नआएको उनी दुखेसो पोख्छन् । ‘हामीलाई पोजेटिभ भएको छ भनेर हल्ला गरियो, फेरि घरमै रातो रिबन बाँधेर राखियो,’ उनले भने,‘तर, उपचारका लागि कोही आएनन् ।’ एक्कासि घरमा रातो रिबन बाँध्दा मनमा डर लाग्नुका साथै घर परिवार सबै डराएको बताउँदै उनले भने,‘घर अगाडिको रिबनले गाउँ टोलका सबै त्रासमा छन्, गाउँलेले यो बाटो हिँड्नै छाडिसके ।’  

आफूहरुलाई कारोना पोजेटिभ देखिएपछि वडाध्यक्षले नै नर्मल छ, घरमै बस भनेर बाध्य पारेकाले घरभित्रै कैद रहेको बताउँदै उनले प्रश्न गरे,‘हाम्रो अवस्था नर्मल भए, किन घर वरपर रातो रिबन बाँधेर राखियो ?’ दुई दाजुभाइसँगै वडा नम्बर १ मा १८ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका कसैलाई पनि उपचारका लागि लगिएको छैन ।  

गाउँमा आएर कोरोना संक्रमितका घरमा रातो रिबन बाँधिदिएपछि आफूहरु त्रसित बनेको बताउँदै स्थानीय कृष्ण बोगटीले भने,‘वडा कार्यालयले सुरुमै क्वारेन्टिनबाट नछाड्नु पर्ने हो, छाडिदियो, त्यसपछि भने कोरोना पुष्टि भएकालाई स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने त्यो नराखिदिँदा हामी त्रासमा छौँ ।’  

संघीय र प्रदेश सरकारले केही गर्न नसकेको अवस्थामा आपूmहरुले पनि केही गर्न नसक्ने बताउँदै वडाध्यक्ष जगतराम चौधरीले भने,‘क्वारेन्टिनबाट हामीले पठाएका हैनौ, उनीहरु आफै गएका हुन्, त्यसपछि पनि पोजेटिभ रिपोर्ट आउँदा घरमा रिबन बाँध्नसम्म त सक्यौँ ।’ कोरोनाको उपचार केही नभएको बताउँदै उनले भने,‘कोरोनाको उपचार छैन, त्यसका लागि उहाँहरुलाई घरमै बसेर स्वास्थ्य लाभ लिन आग्रह गरेका छौँ ।’ कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे जाँचबुझ गर्ने अधिकार स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीको रहेको बताउँदै सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने,‘सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अधिकार दिइएको छ, आ–आफ्नो क्षेत्रका बिरामीको जिम्मा सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मीले लिनुपर्छ ।’ गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख आशा दाहाललाई यस सम्बन्धि जानकारी लिन सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन् ।

प्रकाशित: ७ असार २०७७ १५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App