१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीमा उद्वार गर्न गाउँपालिका अध्यक्ष आफै पुगेपछि...

राप्ती नदीको बीच टापुमा फसेका महिलाको उद्वार गर्न रबरबोट चलाउँदै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु । तस्बिर : नागरिक

कोरोना भाइरसको कहर चलिरहेकै बेला राप्ती नदीमा पानीको सतह बढिरहेको थियो । शनिबार बेलुकी ७ बजेतिर कुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह ५ मिटर ९० सेन्टिमिटर पुगिसकेको थियो । नदीको सतह ५ मिटर ४० सेन्टिमिटर पुग्दा राप्तीको तल्लो तटिय क्षेत्रमा बाढी पस्ने खतरा हुन्छ । कुसुममा मापन गरिएको बाढी तल्लो तटिय क्षेत्रसम्म पुग्न करिव ४/५ घण्टा जति समय लाग्ने अनुमान गरिन्छ ।  

नदीको सतह खतराको चिन्हभन्दा माथी पुगेपछि स्थानीय प्रशासन र राप्तीसोनारी गाउँपालिका अन्र्तगतको स्थानीय विपद ब्यवस्थापन समितिले एफ.एम. रेडियोमार्फत सर्बसाधारणलाई अलर्ट गराइरहेको थियो । रात पर्न थालेपछि राप्ती नदीको तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दा त्रसित अवस्थामा थिए । रातको पौने ९ बजेको थियो, राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको मोबाइलमा घण्टी बज्यो । ‘राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना(ललही) गाउँका पाँच जना महिला राप्ती नदीको बीच टापुमा फसिरहेका छन्, उद्धारको पहल गरिदिनुपर्‍यो हजुर ।’  

महिलाका घर परिवार र आफन्तहरु रोईकराई गरिरहेका थिए, नदीको सतह झन्–झन् बढिरहेको थियो । अध्यक्ष थारु आफैले गाडी चलाएर गाउँपालिका कार्यालयमा पुगे । गाउँपालिकामा स्थानीय विपद ब्यवस्थापन समितिले तयारी अवस्थामा राखेको रबरबोट र केही लाइफ ज्याकेट गाडीमा राखेर नदीको किनारमा पुगे । उनी त्यहाँ पुग्दा नदीको छेउमा ठुलो संख्यामा सर्बसाधारण जम्मा भएका थिए । स्थानीय बासिन्दासँग फसेका महिलाको उद्धार गर्ने उपाय नै थिएन । रबरबोटमा हावा भरिसकेपछि अब कस्ले चलाउने ? रबरबोट चलाउन जान्ने तालिम प्राप्त ब्यक्ति कोही थिएनन् । त्यसपछि स्थानीय पाँच जना युवालाई रबरबोटमा राखेर गाउँपालिका अध्यक्ष थारुले आफै चलाए । उर्लिरहेको नदीको भेलामा उनीहरु पसे ।  

‘एक त रातको समय, त्यसमाथी बाढीको भेलमा रबरबोट चलाउनु कम्ति जोखिम थिएन,’ अध्यक्ष थारुले नागरिकसँग भने ‘त्यो बेलामा आफ्नो ज्यानको भन्दाबढी फसेका महिलाहरुको चिन्ता मलाई लागिरहेको थियो, रातको समयमा रबरबोट कतै रुखका हांगा र ठुटामा ठोक्किएर हावा नउडोस् भन्ने मात्रै कामना गरिरहेको थिए मैले ।’ रबरबोटमा तैरिदै उनीहरु लालपुरबाट ललही गाउँ नजिक पुगे । उनीहरु नजिक पुग्दा नदीको बीच टापुमा फसेका महिलाहरु आगो बालेर बसिरहेका थिए । महिलाले बालेको आगोको संकेत र आफुसँग रहेको टर्चको सहायताले गाउँपालिका अध्यक्ष थारु राती साढें ११ बजे महिलाको सकुशल उद्धार गर्न सफल भए । महिलाहरु शनिबार दिउँसो बीच टापुमा घाँस काट् गएका थिए ।  

फसेका महिलाको सकुशल उद्धार गरेकोमा गाउँपालिका अध्यक्ष थारुको स्थानीयले अहिले खुलेरै प्रशंसा गरिरहेका छन् । ‘आफ्नो ज्यानको बाजी थापेर मध्यरातमा गाउँपालिका अध्यक्ष आफैले रबरबोटको सहायताले फसेका महिलाको उद्धार गर्नु भयो, यसले गर्दा हामी राप्तीसोनारी गाउँपालिकाबासीको गर्वले छाती फुलेको छ, आफ्ना जनतालाई दुःख पर्दा यसरी रात बिरात खटिएर काम गर्ने जनप्रतिनिधी सायद कमै होलान्,’ राप्तीसोनारी–५ बिनौनाका स्थानीय शेखर रावतले भने ।    

राप्ती नदीमा शनिबार आएको बाढीले बाँकेमा धनजनको क्षति भने गरेन । तर, राप्ती नदीको बीच टापुमा ११ जना ब्यक्ति फसेका थिए । बीच टापुमा फसेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ का पाँच जना महिला र वडा नम्बर २ राजपुरका ६ जना ब्यक्तिको सकुशल उद्धार गरियो । भैसी चराउन गएका राप्तीसोनारी–२ राजपुरका ३ जना ब्यक्ति टापुमा फेसका थिए । फसेका ३ जनालाई उद्धार गर्न गाउँका थप ३ जना युवा टापुमा पुगेका थिए । बाढी बढेपछि उद्धार गर्न पुगेका ब्यक्ति पनि फसेपछि सम्शेरगन्जमा रहेको सशस्त्र प्रहरीको टोली पुगेर ६ जनाको राती साढे १० बजेतिर सकुशल उद्धार गरेको थियो ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक रामबहादुर कुरुङवाङले राप्ती सोनारीको वडा नम्बर २ र ५ मा नदीको टापुमा फसेका ११ जनाको सकुशल उद्धार भएको बताएका छन् । आइतबार भने राप्ती नदीमा पानीको सतह घटिसकेको उनले बताए । प्रजिअ कुरुङवाङका अनुसार राप्ती नदीको कुसुमस्थित बाढी मापन केन्द्रमा नदीको सतह शनिबार राति ५ मिटर ९० सेन्टिमिटर सम्म पुगेर घटेको हो । बाढी राप्तीसोनारीका केही गाउँमा राति पसेपनि कुनै क्षति भने नगरेको बताइएको छ ।

प्रकाशित: ७ असार २०७७ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App