२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गुल्मीमा हिँड्दै गरेको गाडीमाथि पहिरो खस्यो, एक जनाको मृत्यु

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा गएको पहिरो । पहिरोले तीन घर जोखिममा परेको छ भने एक व्यक्तिको घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति पुगेको छ । तस्बिर : नागरिक

अविरल बर्षाका कारण पहाडी क्षेत्रमा पहिरोले क्षति गरेको छ । गुल्मीको धुर्कोट गाउँपालिका ३ हर्रापाटामा गुडेरिहेको जीपमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । 

शनिबार अर्घाखाँचीको मालारानी गाउँपालिकाबाट हाडहाडे हुँदै धनमुढा तर्फ जाँदै गरेको ग १ ज ३९ ९७ नम्बरको जीप चुनाओढार भन्ने ठाउँमा पहिरो खसेपछि दुर्घटना भएको हो । धुर्कोट ३ हाडहाडेका १९ वर्षिय तुल्सिराम काउचाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए । पहिरोले हिँड्दै गरेको जीपलाई पुरेपछि दुर्घटना भएको उनले बताए ।  

दुर्घटनामा परि धुर्कोट ३ का २२ वर्षिय सुदीप पुन र सोही ठाउँका २५ वर्षिय रमेश रानाको अवस्था गम्भीर छ । दुवै जनाको सन्धिखर्कमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको अवस्था सामान्य छ । यसैगरि अविरल बर्षाका कारण गुल्मीको शनिबार इस्मा २ रातोचौरमा स्कारपियोलाई पहिरोले पुरेको थियो । बा १८ च ६६१४ नम्बरको स्कारपियो पहिरोले पुरेको प्रहरी नायव उपरीक्षक पन्तले बताए । स्कारिपयोमा सवार २ जनाको प्रहरीले सकुशल उद्धार गरेको थियो । गाडीलाई डोजरले पहिरोबाट निकालेको प्रहरीले जनाएको छ । गुल्मी कालीगण्डकी ५ फोक्सिङमा पहिरोका कारण ३ घर विस्थापित भएका छन् ।  

अविरल बर्षाका कारण पहाडी क्षेत्रका सडकहरुमा पहिरोले सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग पनि बेला बेलामा अवरुद्ध हुँदै आएको छ । पाल्पा तानसेन, रिडि सडकखण्डका दर्जनौं ठाउँमा पहिरो गएकाले सडक अबरुद्ध भएको छ । पाल्पाको ढुंगाखानीदेखि हार्थोकसम्मका ठाउँ ठाउँमा पहिरो जादा शनिबार दिनभर सडक अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।  

यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा पहिरोले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति भएको छ ।  नरपानीको जगत निवासी थानबहादुर महत्राको घरगोठ पहिरोले बगाउँदा भैंसी, बाख्रा र गोठमा राखिएको नगद २ लाख, ८ तोला सुन, लत्ताकपडा र खाद्यान्न पुरिएको छ ।  पहिरोले १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पहिरोका कारण सोही स्थानका अन्य तीन घर पनि जोखिममा छन् ।  

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपि प्रकाश विष्टका अनुसार लगातारको बर्षाले गोरुसिंगे सन्धिखर्क सडक खण्डको दर्जनौं ठाउँमा पहिरो गएको छ । शुक्रबार रातीदेखि अविरल बर्षा भएकाले दर्जनौं ठाउँमा पहिरो गएकाले सडक अबरुद्ध भएको उनले बताए ।  

सन्धिखर्क नगरपालिकाको नरपानी तथा शितगंगा नगरपालिकाको सितापुर र ठाडाका विभिन्न भागमा पहिरो गएको छ । त्यसैगरि बाढीले अर्घाखाँचीको पाणिनि गाउपालिका दुर्गाखोलामा निर्माणाधीन पुलमा क्षति पुर्‍याएको छ ।  

सालझन्डि सन्धिखर्क ढोरपाटन सडकखण्डको दुर्गाखोलामा निर्माणधिन पुलमा बाढिले सामान बगाएको हो । पुलमा लगाएका  लाखौका  सामानहरु खोलाले बगाएको छ । गुल्मी, अर्घाखाँची र पाल्पाका पहाडी भेगका सडकहरु बर्षाले पहिरो जादा अबरुद्ध भएको छ । स्थानीय तह र प्रहरीले सडकका पहिरो हटाउन खोजेपनि लगातारको बर्षाले हटाउन समस्या देखिएको छ ।  

तिनाउमा पानीको सतह बढ्यो
असारको पहिलो सातामै तिनाउमा पानीको सतह ह्वात्तै बढेको छ । शुक्रबार रातिदेखि परेको बर्षाका कारण तिनाउमा पानीको वहाव बढेपछि नदीछेउका बस्तीमा भने त्रास बढेको छ । नदी छेउका हजार भन्दा बढि घर बाढीको उच्च जोखिममा छन् ।  

तिनाउमा आएको बाढीका कारण बुटवलको मैनाबगर, बुद्धनगर, मझुवा, हात्तिसुढ, विनापाते, सुन्दरनगर लगायतका बस्तीहरु जोखिममा छन । लगातार बर्षा भएकाले रुपन्देहीका तराईका क्षेत्रमा बाढीको जोखिम बढ्दै गएको छ ।  

 

 

प्रकाशित: ६ असार २०७७ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App