१६ चैत्र २०८० शुक्रबार
समाज

रिपोर्ट ढिलो आउँदा संक्रमित गाउँगाउँमा

समुदायमा संक्रमितको घुलमिलले अवस्था जटिल

भारतका बिभिन्न ठाउँबाट आएकाहरूलाई गाउँ गाउँमा बनाइएका क्वारेन्टिनमा राखियो । केहि दिन पछि आरडिटी जाँच गर्दा रिपोर्ट नेगेटिभ आएकालाई मात्र घर–घर पठाइएन । आरडिटीमा रिपोर्ट पोजेटिभ आएकालाई समेत संकलन गरिएको नमुनाको पिसिआर रिपोर्ट नआउँदै घर पठाइयो । 

अहिले संकलन भएको नमुनाको रिपोर्ट जाँच गर्दा संक्रमणको पुष्टि भएपछि सुदूरपश्चिमका कैलाली, बैतडी, डडेल्धुरा लगायत बिभिन्न जिल्लामा गाउँ गाउँमा पुगेर समुदायमा घुलमिल भएका संक्रमितहरूलाई खोज्न भ्याई नभ्याई भएको छ । ‘५८ जनाको पिसिआर जाँचका लागी नमुना संकलन गरेर पठायौं, दुईसाता सम्म रिपोर्ट आएन, १४ दिन भैसकेकालाई घर पठाइए पनि हुन्छ भनेर चिकित्सकहरूले नै भनेकाले घर पठायौं’, डडेल्धुरा गण्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल बहादुर मल्लले भने, ‘घर पठाएको दुई दिन मात्र भएको थियो, ती मध्य अधिकाशंको रिपोर्टमा संक्रमण भएको देखायो ।’ 

रोपाई गर्न जाने लगायत तिनीहरू गाउँमा घुलमिल गरिसकेका थिए । यि ५८ जना र अन्य पिसिआर जाँच गरेका मध्य गण्यापधुरा गाउँपालिकामा मात्र ५७ जना संक्रमण देखिएको छ । ‘सरकारको निर्देशिकाले १४ दिनपछि घर पठाउदाँ हुन्छ, जाँच नगरे हुन्छ भनेकाले हामीलाई समस्या भयो’, उनले भने, ‘गाउँ गाउँमा गएका संक्रमितलाई खोजेर ल्याएर आइसोलेसनमा राखिरहेका छौं ।’

गाउँ गाउँमा उनीहरू घुलमिल भैसकेकाले उनीहरूबाट कतिजनामा संक्रमण सर्यो भन्न सकिने अवस्था छैन । उनीहरूको कन्ट्रयाक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएकाको आरडिटी जाँच गर्ने र पोजेटिभ आए पिसिआर गर्ने गरि कुरा भैईरहेको उनले बताए ।

यो डडेल्धुराको मात्र समस्या नभई सुदूरपश्चिममा पिसिआर जाँचका लागि संकलन भएको नमुनाको रिपोर्ट दुई÷तीन साता सम्म पनि नआएपछि क्वारेन्टिनबाट घर घर पठाउँदा अहिले संक्रमण पुष्टि भएका सबैतिर यो जटिल समस्या देखिएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा पनि क्वारेन्टिनबाट आठ दिन अघि घर फर्केका २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा एकमात्र प्रयोगशाला रहेको र नमुनाको चाप धेरै भएकाले नमुनाको रिपोर्ट आउन ढिलो भएको हो । कोरोना संक्रमितलाई रिपोर्र्ट नआउँदै गाउँ पठाउँदा समुदायमा कोरोना संक्रमणको त्रास बढेको छ । रिपोर्र्ट नआउँदै एक हप्ता घरमा अलग बस्न आग्रह गर्दै पठाए पनि अधिकांश समुदायमा घुलमिल भएकाले कोरोनाले गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन् । यसले कोरोना समुदायस्तरमा जाने खतरा बढेको हो ।

बैतडीका विभिन्न क्वारेन्टिनमा राखिएकाको पिसिआर रिर्पोट नआउँदै घर घर पठाइएको छ । समुदाय नै कोरोनाको उच्च जोखिममा छ । शुक्रबार संक्रमित देखिएका गोगडाकेदार गाउँपालिकाका १२ जना पिसिआर रिपोर्र्ट नआउँदै घर पठाइएका थिए । एक हप्ताभन्दा बढी समयपछि पिसिआर रिपोर्र्ट आएपछि संक्रमितलाई खोजेर आइसोलेसनमा राखिएको छ । गत सोमबार संक्रमित भेटिएका शिवनाथका १७ जना पनि रिपोर्र्ट नआउँदै घर पठाइएका थिए । 

उनीहरूको पिसिआर रिपोर्र्ट १० दिनदेखि १५ दिनभित्र आएको थियो । त्यो बिचमा उनीहरू गाउँघरमा निर्धक्क घुम्न थालेपछि जोखिम बढेको स्थानीय बताउँछन् । रिपोर्ट समयमै नआउँदा समस्या हुन थालेको स्थानीय तहले बताएका छन् । सीमित स्रोतसाधनले क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएपछि १४ दिन क्वारेन्टिनमा राखेर अधिकांशलाई घर पठाइएको छ । भारतबाट फर्कनेको संख्या बढ्न थालेपछि क्वारेन्टिन व्यवस्थापन गर्न समस्या भएपछि रिपोर्र्ट नआउँदै १४ दिन पुग्ने वित्तिकै घर पठाउनुपर्ने बाध्यता रहेको स्थानीय तहले बताए ।

अधिकांश संक्रमितहरू लक्षण नदेखिएकाले घरमै राख्ने नीति ल्याइएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार लक्षण नदेखिएका बिरामीलाई घरमै राख्ने नीति लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । समस्या देखिएमा उपचार गर्ने सकिने उनले जानकारी दिए ।

दिनानुदिन कोरोनाका बिरामी फेला पर्न थालेपछि समुदायमा यसको संक्रमण फैलिने जोखिम ह्वात्तै बढेको छ । अहिलेसम्म आरडिटी पोजिटिभ आएकाहरूको मात्रै स्वाब संकलन गरेर पठाउने गरेकोमा आरडिटी रिपोर्ट नेगेटिभ आएका तर अहिलेका संक्रमितहरूससँग सँगै बसेका धेरै जना गाउँ पसेकाले समेत समुदायमा संक्रमणको अवस्था भयाभव रुपमा फैलिएको हुनसक्ने पाटन नगरपालिका–६ का स्थानीय हरिश बिष्टले बताए । धेरै नागरिक भारतबाट फर्केका छन् । उनीहरू सबैको परीक्षण गर्न सम्भव नभएको तर एकै क्वारेन्टाइनमा बसेकाहरूमा पिसिआर रिपोर्र्ट पोजिटिभ आउँदा अरुमा पनि संक्रमण भएको हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।

शिवनाथ गाउँपालिकाका केही संक्रमित विकास निर्माणका काममा समेत संलग्न भएकाले कोरोनाको संक्रमण समुदायमा फैलन सक्ने चिन्ता बढेको स्थानीय बताउँछन् । होम आइसोलेसनमा बस्नका लागि सुझाव दिइएका संक्रमितहरू समेत विकास निर्माणका काममा लागेका र यसले समुदायमा कोरोनाको जोखिम बढ्दै गएको शिवनाथ गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण महताले बताए ।

सरकारले लक्षण नदेखिएका संक्रमितहरूलाई होम आइसोलेसनमा बस्ने निर्देशिका पारित गरेकाले लक्षण नदेखिएका संक्रमितहरूलाई होम आइसोलेसनमा बस्न लगाइएको छ । तर होम आइसोलेसनको मर्मविपरीत संक्रमितहरू यताउता जान थालेपछि समुदायमा संक्रमण जोखिम बढ्दै गएको हो । सुदूरपश्चिममा संक्रमण दर ह्वात्तै बढेको छ । करिब आठ सय जना संक्रमित भएका छन्।

लक्षण नदेखिएपनि संक्रमितबाट कोरोना सर्ने संभावना भएकाले संक्रमितहरू समुदायमा घुलमिल हुदाँ सुदूरपश्चिममा जोखिम धेरै बढेको बिज्ञहरूले बताएका छन ।‘लक्षण नदेखिएको बाट संक्रमण सर्दैन भन्ने हुदैन, संक्रमित समुदायमा घुलमिल भएमा फैलिने जोखिम हुन्छ,’ सेती प्रादेशिक अस्पताल कोरोना उपचार बिभाग प्रमुख शेरबहादुर कमरले भने, ‘सुदूरपश्चिम जोखिमको केन्द्रमा परेको छ ।’  

समान्यतया दुई तिन साता सम्म कोरोनाको भाईरस शरिरमा प्रवेश गरेपछि लक्षण देखिन्छ अर्थात शरिरले भाईरसलाई जितेर एन्टिवडी बन्ने भएकाले दुई तिन सातासम्म लक्षण नदेखिएमा सर्ने संभावना कम हुने भनिएको उनी बताउछन्। भारतमा व्यापक रुपमा फैलिएपछि नेपालीहरू आएको र उनीहरू क्वारेन्टिनमा कोचाकोच भएर बसेको र क्वारेन्टिनबाट घर घर गएर घुलमिल भएकाले कोरोना संक्रमणको जोखिम धेरै भएको उनी बताउछन ।‘सुदूरपश्चिममा समुृदायमा संक्रमण फैलिसकेको अवस्था हो,’उनले भने ।

संक्रमण बढेपछि सिल र बन्द

कोरोना संक्रमण भएका व्यक्ति गाउँघरमै रहेको पाइएपछि डडेल्धुरामा संक्रमणको जोखिम बढेको जनाउँदै सदरमुकाम सिल गरिएको छ ।  अनिश्चितकालका लागि सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख  डिएसपी दधिराम न्यौपानेले बताए ।  सरकारी कार्यालय खुल्ला नै रहने छ भने अति आवश्यकबाहेक सेवा बन्द हुने डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले बताए ।

यसैगरि कैलालीको अत्तरिया बजार बन्द गरिएको छ । कोरोनाको संक्रमण फैलिएको र १ जनाको मृत्युभएपछि गोदावरी नगरपालिकाले गरेको अपिल अनुसार अत्तरिया बजार १५ दिनका लागी बन्द गरिएको हो ।

प्रकाशित: ६ असार २०७७ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App