२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टिनमा क्षमताभन्दा तेब्बर व्यक्ति, न शौचालय, न बाथरुम

महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा करिब सय जना क्षमता भएको क्वारेन्टिनमा अढाइ सय व्यक्तिलाई राखिएको छ । १२ वटा कोठामा भुइमै ओछयाइएको त्रिपालमा उनीहरू कोच्चिएर बसिरहेका छन् । 

भारतबाट आएकाहरूमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको हुँदा दुरी कायम गरेर बस्न सरकारले आदेश दिएको विषयमा क्वारेन्टिनका हरेक व्यक्ति ज्ञात छन् । तर बस्ने मात्र नभइ खाना, शौचालय र नुहाइधुवाई लगायतका गुनासोको ठूलो भारी भएपनि उनीहरूसित बिसाउने ठाउँ छैन । क्वारेन्टिन बाहेक अन्य कुनै विकल्प नहुँदा उनीहरू दुःख झेल्न बाध्य छन् ।  

पशुजन्य व्यवहार खेप्नु परको पीडाको बोझ भएतापनि सुन्ने कोही नभएको भारतको मुम्बईबाट फर्किएका नसिम अन्सारीले बताए । ‘क्वारेन्टिनमा हामी एकदमै असुरक्षित महसुस गरिरहेका छौँ । एउटै कोठामा कोच्चिएर सुत्दा, बस्दा, खाँदा झन् असुरक्षित भएको छु,’ अन्सारीले थपे । क्वारेन्टिनमा एउटै शौचालय भएका कारण शौचकालागि उनीहरूलाई खोलामा पुग्न करिब १० मिनेट लाग्छ ।

‘अढाइ सय जनामा एउटै ट्वाइलेट छ । जतिबेलै ट्वाइलेट जानेको लाइन हुन्छ । खोलामा गएर शौच गनुपर्ने बाध्यता छ,’ उनले गुनासो पोखे ।  एउटै मोटर भएकाले केही दिनअघिसम्म उनीहरू घरबाटै नुहाइ धुवाइ गरेर क्वारेन्टिनमा फर्किने गरेका थिए । तर मेयर, वडाध्यक्ष र सांसदलाई पटक पटक समस्या सुनाएपनि बेवास्ता गर्दै पैसा नभएको बहानामा  जिम्मेवारीबाट पन्छिन खोजेको उनीहरूको आरोप छ ।  

सरकारको मापदण्ड अनुसार उच्च सुरक्षा सतर्कतासहित क्वारेन्टिन सञ्चालन हुनुपर्ने हो तर पुरानो विद्यालयमा बनाइएको क्वारेन्टिन रेखदेख गर्ने न कोही सरकारी अधिकारी छन् न त जनप्रतिनिधि नै । क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नहुँदा खुला चौर रहेको विद्यालयमा गाउँका सर्वसाधारण भित्र प्रवेश गर्ने र क्वारेन्टिनमा रहेकाहरू गाउँमा सजिलै हिँड्दा–डुल्दा संक्रमण फैलने जोखिम छ ।

क्वारेन्टिनको समस्याबारे गाउँपालिका प्रमुख फारुक शेष, प्रदेश सांसद कौशल यादव र संघीय सांसद सुरेन्द्र यादवलाई फोन गरेरै जानकारी गराएको शेख अब्दुल्लाहले बताए । ‘उनीहरूले हाम्रो कुरा सुन्दैनन् । मेयरले आउँछु भन्छन् तर आउँदैनन् । सांसदहरूले त फोन नै उठाउन्नन्,’ उनले दुखेसो पोखे ।  

स्थानीय जनप्रतिनिधिकै कारण आफुहरू थप जोखिममा परेको उनले सुनाए । वडाध्यक्ष मो.मक्सुदले अव्यवस्थित क्वारेन्टिनमा बस्नेहरूले अनेकौ पीडा खेप्नु परेको स्वीकार गरे । उनका अनुसार सम्सी गाउँपालिकाको यो वडाा मात्र ५ सय बढी व्यक्ति क्वारेन्टिनमा बसिरहेका छन् । तर रकम र श्रोतसाधन अभावले व्यववस्थापनमा कठिनाइ भएको उनले सुनाए । ‘क्वारेन्टिनमा बस्नेको संख्या धेरै छ तर नगरपालिकाले मात्र ११ लाख रुपैँया दिएको छ । अरु कसैले सहयोग गरेको छैन,’ उनले भने, ‘हामीले सक्दो राम्रो गरेकै छौँ । तर सरकारले भनेको मापदण्डअनुसार तत्काल क्वारेन्टिनको व्यवव्स्थापन सम्भव छैन् ।’  

विपक्षीले उस्काएर क्वारेन्टिनमा पटक पटक विवाद गर्ने गरकोले आफुहरू त्यहाँ नपुगेको उनको भनाइ छ । ‘मासु भात र दुध खुवाउन पैसा दिइएको छ । भएको पैसा वडाध्यक्षले खल्तीमा राखेको भनेर क्वारेन्टिनमा विपक्षीहरूले उस्काइ दिने गर्या छन् । उनीहरू यसकैलागि सधै विवाद गर्छन, मारपीट गर्न खोज्छन्,’ वडाध्यक्ष मक्सुदले थपे । वडाका ४ वटा अन्य मदरसामा समेत मानिसको संख्या धेरै भएकाले क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको उनले बताउ ।

गाउँपालिकाका अध्यक्ष शेख फारुखले क्वारेन्टिनमा बस्नेको संख्या सोचेको भन्दा धेरै भएकाले व्यवस्थापनमा चुनौती भएको बताए । ‘यतिधेरै मानिस क्वारेन्टिनमा बस्लना भनेर हामीले सोचेकै थिएनौं । हतारमा क्वारेन्टिन बनाएकाले समस्या आएको हो । विस्तारै हामीले व्यवस्थित गर्दै जानेछौँ,’ अध्यक्ष फारुखले भने । सम्सी गाउँपालिकामा बुधबार विभिन्न क्वारेन्टिनका एक सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि क्वारेन्टिनलाई २४ घण्टाका लािग सिल गरिएको छ ।

प्रकाशित: ४ असार २०७७ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App