१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा संक्रमितको संख्या एक हजार भन्दा बढी

बुधबार एकैदिन रौतहटमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२७ थपिएसँगै जिल्लाका कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । मंगलवार ९२१ जना कोरोना संक्रमित रहेकामा बुधबार १२७ थपिएसँगै रौतहटमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०४८ पुगेको छ ।

कोरोना भाइरसबाट अत्यधिक प्रभावित स्थानीय तहमा राजपुर, ईशनाथ, देवाहीगोनाही नगरपालिका र यमुनामाई गाउँपालिका रहेका छन् । अन्य स्थानीय तहमा पनि कोरोना भाइरसको संक्रमण उच्च रहेको छ । अहिलेसम्म संक्रमित जति सबै क्वारेन्टिनमा नै रहेका छन् ।  

भारतबाट विभिन्न समयमा आउनेहरु क्वारेन्टिनमा बसेका छन् । जिल्लामा अझै पनि हजारौँको संख्यामा क्वारेन्टिनमा रहेका छन् । स्वाब परीक्षणको नतिजा समयमा नआउँदा क्वारेन्टिनमा बस्नेहरुको समय लम्बिँदै गएको हो ।

कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै जानु र लकडाउन खुकुलो हुँदै जानुले जिल्लामा चिन्ता र त्रास बढेको नागरिक समाज रौतहटका विजयकिशोर झाको भनाइ रहेको छ ।  

रौतहटका मुख्य बजारहरु चन्द्रपुर, गरुडा, गौर, समनपुर, राजपुर, कटहरिया, मौलापुर, माधोपुरमा सर्वसाधारणको चहलपहल निकै बढेको छ । बजारमा सर्वसाधारणको भीड बढेको भए पनि सावधानी अपनाइएको पाइएको छैन । सर्वसाधारणले सावधानी नअपनाउँदा समाजमा कोरोना भाइरसको संक्रमण बढ्ने खतरा रहेको झा बताउँछन् ।

जिल्लामा हजारको संख्या नाघ्दा सर्वसाधारणमा चिन्ता बढे पनि सम्बन्धित निकाय खासै गम्भीर हुन नसकेको आरोप लाग्ने गरेको छ । जिल्लाका केही कार्यालयहरु जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गराएको छ ।

प्रकाशित: ३ असार २०७७ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App