६ वैशाख २०८१ बिहीबार
समाज

पोखरा खुल्यो, लेकसाइड खुलेन

पोखरा लेकसाइडको सुनसान बजार। तस्बिरः सन्तोष पोखरेल / नागरिक

कोरोना भाइरस जोखिम नियन्त्रण लागि करिब तीन महिना लामो लकडाउन खुकुलो भएर धेरैतिरको बजार खुले पनि पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड भने खुल्न सकेको छैन। पोखराकैै महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, नयाँबजार, सिर्जनाचोक, पृथ्वीचोक केहीदिनदेखि नै चहलपहल बढिसक्दा नजिकैको महत्वपूर्ण पर्यटकीय बजार लेकसाइड सुनसान छ। लकडाउनको बेलाको झैं लेकसाइड सुनसान देखिन्छ।

मुख्य बजारतिर सवारीको चाँप समेत बढिसकेको छ। निजी तथा दुईपांग्रे सवारीको भीड अरु बजारतिर बढिसकेको छ। तर, लेकसाइडमा भने सवारीको चाँप पनि अरुतिर जस्तो छैन। लेकसाइडका केही किराना र पदयात्राका कपडा बिक्री गर्ने पसल फाट्टफुट्ट खुलेपनि अरु गतिविधि ठप्प छन्। पर्यटकीय क्षेत्र भएको र कोरोना कारण पर्यटक आउजाउ रोकिँदा बजारले गति लिन सकेको छैन। खानपिन र रमाईलोका लागि पुग्ने ठाउँको रुपमा लेकसाइड भएपनि रेस्टुरेन्ट, होटल समेत बन्द छन्। त्यस्तै किनमेलका लागि पनि लेकसाइड जाने चलन उत्तिसारो छैन। त्यसले पनि पर्यटकीय क्षेत्रको गतिविधि चलायमान बन्न नसकेको व्यावसायीले बताएका छन्।  

‘अरुतिरको बजार खुलिसक्यो, तर लेकसाइड त खुल्नै सकेको छैन,’ पर्यटन व्यावसायी नरेशबहादुर भट्टराइले भने, ‘लकडाउनमै भएजस्तो अनुभूति लेकसाइडले गरिरहेको छ। मुख्य बजारतिर चहलपहल हुँदा पनि लेकसाइड उठ्न सकेको छैन।’ लेकसाइड सुनसान हुँदा आफुहरुलाई नितान्त गाउँमा बसेको जस्तो अनुभव भएको उनले बताए। ‘अरुबेला लेकसाइडमा राती अबेरसम्म चहलपहल हुन्थ्यो। दिउँसो भन्दा रातीमा झनै बढि चम्किन्थ्यो,’ भट्टराइले भने, ‘तर, यो बेला त दिनरात नै सुनसान छ। हामीलाई बजारमा बसेको अनुभव पनि भएको छैन।’ बजारीया चहलपहल हेर्नका लागि आफुहरु पनि महेन्द्रपुलतिर उक्लिने गरेको उनले बताए।

लेकसाइडमा संचालित अधिकांश पसल पर्यटन क्षेत्रसँग सम्बन्धित छन्। होटल, रेस्टुरेन्ट बाहेक यहाँ पदयात्राका सामान किन्ने पसल, इम्ब्रोइडरी, मनिचेन्जर, बुकसप, ट्रेकिङ, टुर एण्ड ट्राभल, र्याफ्टिङ, बेकरी, कपिसप लगायत संचालित छन्। चियापसल र कपिसप जस्ता सानातिना पसल पनि अझै खुल्न सकेका छैनन। बजारतिर फास्टफुडका पसल खुलिसक्दा लेकसाइडमा भने केही किराना पसल मात्र यतिबेला खुलेका छन्। कुनैपनि गतिविधि नहुँदा लेकसाइड निदाएकै अवस्थामा रहेको भट्टराइले बताए। ‘अब जहिलेदेखि पाहुना आउन थाल्छन, तब मात्र लेकसाइड खुल्छ,’ उनले भने।

‘पर्यटक नभएसम्म लेकसाइड खुल्ने अवस्था नै रहन्न। पोखराको पुरै बजार पूर्णरुपमा खुलेर चहलपहल बढेपनि लेकसाइड खुल्न भने अझै केही महिना लाग्ने निश्चित छ,’ पोखरा उद्योग बाणिज्य संघका महासचिव अर्जुन पोखरेल भन्छन, ‘पर्यटक नआएसम्म लेकसाइड चम्किने अवस्था नै रहन्न। आन्तरिक तथा बाह्य पर्यटक आउन अझै धेरै समय लाग्ने पक्का छ।’ पर्यटकीय गतिविधि चालु नभएसम्म लेकसाइडले गति लिने अवस्था नरहने उनले बताए।  

पोखरेलका अनुसार महेन्द्रपुल, चिप्लेढुंगातिरको बजार खुलेपनि आर्थिक गतिविधि उत्तिसारो बढेको छैन। बाहिरबाट हेर्दा बजारीया चहलपहल देखिएपनि आर्थिक गतिविधि भने खासै नभएको उनले बताए। ‘अझै केही समय बजारमा किनबेच हुँदैन। बजार खुलिसकेपनि ग्राहक भने बजारसम्म आएका छैनन,’ पोखरेलले भने, ‘सार्वजनिक यातायात पनि खुलेको छैन। जहिले सार्वजनिक यातायात खुल्छ। अनिमात्र सबैतिर चलहपहल बढ्छ। सार्वजनिक यातायात संचालनमा आएपछि लेकसाइडमा पनि केही चमक थपिन थाल्छ।’ रेस्टुरेन्टलाई पहिले झैं खोलेर ब्यापार गर्न नदिएकोले पनि अहिले लेकसाइड खुल्न नसकेको उनले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष सोमबहादुर थापा पनि बजार खुलेपनि लेकसाइड चम्किन अभैm केही समय लाग्ने बताउँछन्। ‘पर्यटन क्षेत्र जहिलेपनि पाहुनाको आउजाउसँग सम्बन्धित हुन्छ। जब पाहुना आउँछन, तब मात्र लेकसाइड चम्किन्छ,’ थापा भन्छन, ‘अहिल्यै पोखरामा पाहुना आउने अवस्था छैन। महेन्द्रपुल, चिप्लेढुंगातिर यतिबेला चहलपहल बढिसकेको छ। 

तर लेकसाइड भने लकडाउनकै अवस्थामा रहेको जस्तो देखिएको छ।’ महेन्द्रपुल, चिप्लेढुंगामा बजार खुलिसकेपनि आर्थिक कारोबार भने नभएको उनले पनि बताए। काम केही नभएपछि कतिपय व्यावसायीले फुर्सदको समय कटाउनका लागि लेकसाइडमा व्यावसाय खोलेका छन। तर आर्थिक गतिविधि भने नभएको उनीहरुको भनाई छ।  

परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पनि बजार नखुल्दा लेकसाइड अझै पनि लकडाउनको अवस्थामा रहेको बताए। उनका अनुसार लेकसाइडमा केही किराना र फाट्टफुट्ट कपडाका पसल संचालन भएपनि ब्यापार भने छैन। ‘घरमा बसिरहँदा समय कटाउन गाह्रो भएपछि कतिपय व्यावसायीले फुर्सदलाई उपयोग गर्नका लागि मात्र पसल खोलेका हुन,’ पोखरेलले भने, ‘घरमा बसिरहँदा समय कटाउन गाह्रो हुन्छ। पसल खोल्यो भने दिन बिताउन सहज हुन्छ। दिन कटाउने मेलोको रुपमा मात्र लेकसाइडमा केही व्यावसायीले पसल खोलेका छन्।’

लोकल बजार भएकोले पनि महेन्द्रपुल, चिप्लेढुंगामा केही चहलपहल थपिएको उनले सुनाए। ‘बाहिरी मान्छे नभएसम्म त लेकसाइड आफै लकडाउन हुन्छ। अहिले पनि हामीले लकडाउनको अनुभूति गरिरेहका छौ,’ पोखरेलले भने, ‘अरु सामान किन्न पनि लेकसाइडमा कोही आउँदैनन। महेन्द्रपुलतिर दैनिक उपभोग्य बस्तु किन्न पनि मान्छे जान्छन, तर, लेकसाइड नितान्त पर्यटनसँग मात्र सम्बन्धित छ। अरु सामान किन्न कोही आउँदैनन्।’ महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड लगायतका क्षेत्रमा लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न लगायतका सामग्री किन्नेको भीड हुने भएपनि लेकसाइड भने नितान्त रमाउने र खानपिन गर्ने थलोको रुपमा रहेको पनि पोखरेलले बताए।  

प्रकाशित: ३ असार २०७७ १०:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App