७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

१० दिनपछि रिपोर्ट, संक्रमित समुदायमा घुलमिल

बैतडीको शिवनाथ गाउँपालिकाका २१ जना कोरोना संक्रमण भेटिए । जेठ २३ स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न धनगढी पठाइयो । सेती प्रादेशिक अस्पतालले १० पछि कोरोना पोजिटिभ भएको पुष्टि गर्यो ।  स्वाब संकलन गरी एक हप्ताको लागि होम क्वारेन्टिनमा बस्न भनियो । रिपोर्ट आउँदासम्म होम क्वारेन्टिन अवधि पार गरी संक्रमित समुदायमा घुलमिल भइसकेका थिए ।

पिसिआर रिपोर्ट पोजिटिभ आएपछि संक्रमित सबैलाई १० दिन घरमै अलग बस्न भनिएको छ । यो बिचमा उनीहरूबाट समुदायका अरु व्यक्तिमा संक्रमण फैलिएको भए समस्या आउने स्वास्थ्यकर्मी बताउँछन् । भारतबाट फर्केर १४ दिन क्वारेन्टिन र एक हप्ता होम क्वारेन्टिन बसेकाहरू संक्रमित देखिएकाले अरुमा संक्रमण सर्ने संभावना न्यून हुने शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रसिंह महताले बताए ।

‘लक्षण नदेखिएका र सामान्य अवस्थालाई घर पठाउन सकिने स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार घर पठाइएको हो,’ उनले भने, ‘संक्रमितलाई १० दिन घरकै आइसोलेसनमा बस्न भनिएको छ ।’ कुनै  स्वास्थ्य समस्या वा लक्षण देखिएमा मात्र स्वास्थ्य संस्था आउन आग्रह गरिएको छ । संक्रमितलाई समाजिक दूरी कायम गरेर बस्न, साबुनपानीले पटकपटक हात धुन, पौष्टिक र सन्तुलित खानपान गर्न भनिएको उनले बताए ।

कोरोना संक्रमितबाट गाउँमा अरुलाई सर्ने संभावना कम भए पनि स्थानीय भने त्रसित छन् । ‘डेढ हप्तापछि रिपोर्ट आयो, घर पठाइएकाहरू खुलामखुला गाउँमा डुलेका छन्,’ नागार्जुन मावि शर्मालीका प्रअ महामलसिंह साउदले भने, ‘गाउँघरमा संक्रमण फैलिने त्रास कायम छ ।’ कोरोना संक्रमित गाउँमा पठाइएपछि त्रास फैलिन थालेको स्थानीय बताउँछन् । क्वारेन्टिनमा बसेकाहरूको रिपोर्ट नआउँदै घरमा पठाएपछि गाउँमा त्रास फैलिएको हो ।

आरडिटी पोजिटिभ आएकाहरूको मात्र स्वाब परीक्षण गरिँदै आएको छ । कोरोना संक्रमितहरू अधिकांश भारतबाट घर फर्केकाहरू मात्र छन् । उनीहरू १४ दिन क्वारेन्टिनमा बसे पनि त्यही बिचमा संक्रमित भएको भए कोरोना भाइरसको जोखिम बढने स्वास्थ्यकर्मी बताउँछन् ।

भारतबाट आएका सबैलाई क्वारेन्टिनमा राखिएको भए पनि संक्रमण कहाँबाट फैलिएको हो त्योबारे जानकारी लिइएको छैन । यदि क्वारेन्टिनमै संक्रमित भएको हो भने जाँच नगरी घर पठाउँदा समुदायसम्म फैलिनसक्ने जोखिम रहेको जगन्नाथ बहुमखी क्याम्पका प्रमुख पृथ्वीराज अवस्थीले बताए ।

जिल्लामा स्थानीय तहले क्वारेन्टिनमा बसेकाहरूलाई आरडिटी टेष्ट गर्दै घर पठाउने गरिएको छ । आरडिटी भरपर्दो नहुँदानहुँदै पिसिआर नगरी घर पठाउँदा जोखिम निम्ताउन सक्ने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए ।

लक्षण नदेखिएकाहरूबाट अरुलाई सर्ने संभावना कम भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइडलाइन अनुसार संक्रमितहरूले घरमै सेल्पआइसोलेसनमा बस्नुपर्ने जिल्ला अस्पतालका प्रमुख बशन्तराज जोशी बताउँछन् । ‘रिपोर्ट समयमा नआउँदा धेरै जना आत्तिएका छन्’ डा.जोशीले भने, ‘अहिलेसम्म समुदायमा संक्रमण नदेखिएकाले सबैले सतर्क रहनु आवश्यक छ । जोखिमबाट बच्न सावधानी अपनाउनु आवश्यक छ ।’

प्रकाशित: २ असार २०७७ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App