४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

महामारीको मौका छोपेर अबैध चोरी, निकासी र अतिक्रमण

बाँकेको नदी, खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ बोकेर आएका ट्याक्टर । बाँकेको नरैनापुर गाउँपालिका १ स्थित झुरुवा नाकामा अतिक्रमित वन क्षेत्र । तस्बिर : नागरिक

कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण तथा ब्यवस्थापनमा सबैको ध्यान केन्द्रित भएको मौका छोपेर जिल्लामा अबैध चोरी, निकासी तथा वन अतिक्रमण मौलाएको छ । जिल्लाका नदी, खोलाबाट नदीजन्य पदार्थ चोरी, तस्करी तथा वन क्षेत्रमा ब्यापक रुपले अतिक्रमण बढेको हो । नदी, खोलाबाट बालुवा, ढुंगा र गिट्टी अबैध रुपमा चोरी तस्करी भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।  

नदी, खोलामा दिनरात उत्खनन गरेर नदीजन्य सामाग्री ट्याक्टर र टिपरबाट ओसार्ने गरेका छन् । नदी, खोलाबाट अबैध रुपमा नदीजन्य सामाग्री ओर्सादा पनि नियन्त्रणमा कसैले चासो नदेखाएको स्थानीयको गुनासो छ । जेठ मसान्तपछि जिल्लाका नदी, खोलामा प्रवेश निषेध गरिएको छ । यसअघि नदी, खोलालाई खुल्ला गरेपनि कोरोना भाइरसको महामारीका कारण राप्तीसोनारी गाउँपालिकाले बन्द गरेको थियो ।  

नदीजन्य सामाग्रीका हिसाबले उक्त राप्तीसोनारी जिल्लाकै धनी गाउँपालिका मानिन्छ । गाउँपालिकाले बन्द गरेका नदी, खोलामा खुलेआम ट्याक्टर, टिपर र एक्साभेटर लगेर उत्खनन् गर्ने गरेको स्थानीय बताउँछन् । त्यसरी अबैध रुपमा बालुवा, ग्राभेल चोरी निकासी गरिरहेको अवस्थामा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ । आइतबार राती साढें २ बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ को बाटो हुँदै केही ब्यक्तिले बालुवा, ग्राभेल चोरी निकासी गरेको भन्ने सूचनाको आधारमा प्रहरीले ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले भे १ त ९२३७, भे १ त ८३६२, भे २ त १२३, भे १ त ५९२६, भे १ त ६९६४, भे १ त ४२४६, भे १ त ७१४९, भे १त ५२६२ र नम्बर नभएको एउटा गरी ९ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  

त्यसअघि प्रहरीले जेठ ३२ गते राती १ बजेपनि डुडुवा गाउँपालिका वडा नम्बर ४ साहपुर्वाबाट पनि ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले भे१त ४५८, भे१त ५२७० र भे१त ८१५७ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । ट्रयाक्टरमा अवैध रुपमा चोरी निकासी गरि ल्याउदै गरेको बालुवा ग्राभेल फेला पारी नियन्त्रणमा लिई उनीहरुलाई सोधपुछ गर्ने क्रममा प्रहरीसँग वाद विवाद गरी अभद्र ब्यवहार गरेपछि उनीहरु विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी प्रमुख(एसपी) बीरबहादुर ओलीले जानकारी दिए ।  

‘अबैध रुपमा चोरी निकासी गरी ल्याउँदै गरेको बालुवा फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा प्रहरीसँग वाद विवाद गरेको हुँदा उनीहरुमाथी अभद्र ब्यवहार कसुरमा अनुसन्धान भइरहेको छ,’ एसपी ओलीले भने । नियन्त्रणमा लिइएको ट्याक्टर र बालुवा तथा ग्राभेललाई जिल्ला समन्वय समिति बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर १ स्थित झुरुवा नाकामा राष्ट्रिय वन क्षेत्र अतिक्रमण भएको छ । अतिक्रमण भएको सूचनाको आधारमा पुगेका वनकर्मी तथा सुरक्षाकर्मीले १३ वटा घर, टहरा भत्काइदिएका छन् । अतिक्रमणमा संलग्न भएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘कोरोना भाइरस महामारीको मौका छोपेर वन अतिक्रमण गरिएको रहेछ, अतिक्रमणबारे जानकारी आएपछि सिडिओ साबको सहयोगमा प्रहरी र वन रक्षक सहितको टोली पुगेर घर, टहरा भत्काइयो,’ उनले भने ।  

स्थानीयका अनुसार कोरोना भाइरसको महामारीको मौका छोपेर अतिक्रमणकारीले रातारात वन क्षेत्रमा घर, टहरा निर्माण गरेका हुन् । कोरोना महामारी अझै नियन्त्रणमा नआएको हुँदा अझै नदी, खोलामा तस्करी र वन क्षेत्र अतिक्रमण हुने जोखिम कायमै रहेको स्थानीय बताउँछन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ कोरोना भाइरसको महामारीको मौका छोपेर नदी, खोलामा चोरी, निकासी तथा वन क्षेत्र अतिक्रमण भएको बताउँछन् । प्रजिअ कुरुङवाङ जिल्लामा आएपछि उनले कोरोना भाइरस नियन्त्रण तथा ब्यवस्थापनलाई पहिलो प्राथमिकता राखेर चोरी, तस्करी र अतिक्रमण नियन्त्रणमा कडाई रुपले प्रस्तुत भइरहेका छन् । 

‘कोरोना भाइरस महामारीको मौका छोपेर यहाँ चोरी, तस्करी र अतिक्रमण मौलाएकै रहेछ,’ उनले भने ‘म यहाँ आइसकेपछि अब कुनैपनि हालतमा छुट दिनेछैन ।’

प्रकाशित: १ असार २०७७ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App