३१ श्रावण २०७७ शनिबार
समाज

प्रयोगशालामा २५ सय बढी ‘स्याम्पल’ थुप्रिए

कोरोनाको संक्रमण बढ्दै जाँदा यहाँको प्रयोगशालामा परीक्षणका लागि ल्याइएको स्वाबको ‘स्याम्पल’ को थुप्रो लागेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म पोखरामा मात्र प्रयोगशाला छ । यहाँको प्रयोगशालामा परीक्षणका लागि अहिले २५ सय २२ नमूनाले पालो कुरेका छन् । थप नमूना संकलन नगरी थुप्रिएकालाई मात्र परीक्षण गर्दा पनि सबैको पालो आउन कम्तिमा एकसाता लाग्ने प्रयोगशालाका पदाधिकारीले बताएका छन् ।  

थुप्रिएका नमूनाको परीक्षण सक्न कम्तिमा एकसाता
प्रयोगशालामा स्वावको थुप्रो लागेपछि इमर्जेन्सी बाहेक संकलन नगर्न निर्देशन  

हालसम्म यहाँका प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्नका लागि तीनवटा मेसिन ल्याएपनि एउटाले मात्र पूर्ण क्षमतामा काम गरेको छ । पछिल्लो समय भित्रिएको नयाँ पिसिआर मेसिनले अझै पूर्ण क्षमतामा काम गरिसकेको छैन । यहाँको क्षयरोग केन्द्रमा नयाँ मेसिन जडान गरिसकेपनि त्यो मेसिनले पूर्ण क्षमतामा काम गर्न अझै दुईदिन जति लाग्ने प्राविधिकको भनाई छ । सरकारले भित्र्याएको पोर्टेबल पिसिआर मेसिन भने हाल थन्काइएको छ ।  

जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले नयाँ जडित मेसिनले पूर्ण क्षमतामा काम गर्न अझै दुइदिन लाग्ने भएकोले पनि थुप्रिएका स्वावको रिजल्ट आउन कम्तिमा एकसाता लाग्ने बताइन । ‘अहिलेसम्म एउटा मेसिनबाट मात्र परीक्षण गरेका थियौ । अब अर्काे मेसिनले पनि दुईदिनपछि पूर्ण क्षमतामा परीक्षण गर्छ,’ उनले भनिन, ‘दुईवटा मेसिनबाट दैनिक तीनसय नमूना परीक्षण गर्ने लक्ष्य छ । दैनिक तीनसय नमुना परीक्षण गर्न सकेको खण्डमा पनि संकलित नमूनाको परीक्षण सक्न एकसाता बढी समय लाग्छ । किनकी बीचमा अरु पनि स्वाव थपिँदै जानेछन् । कपितय स्वाव इमर्जेन्सीमा पनि परीक्षण गर्नुपर्छ ।’

सरकारले भित्र्याएको पोर्टेबल पिसिआर मेसिन भने अहिले थन्किएको छ । दिनमा बढीमा १२ वटा नमुना परीक्षण गर्न सक्ने पोर्टेबल मेसिन प्रयोग गरिरहँदा जनशक्ति र समय मात्र खेर गएको भन्दै थन्काइएको उनले बताईन । पोर्टेबल मेसिनले कम क्षमतामा काम गर्दा समय खेर गएको र अनावश्यक जनशक्तिमात्र परिचालन गर्नुपरेको भन्दै त्यसलाई थन्काउन स्वास्थ्य मन्त्रालयले नै निर्देशन दिएको छ ।  

एउटा पिसिआर मेसिनमा काम गर्दा ६ जना जनशक्ति चाहिन्छ । मेसिनलाई तीन सिफ्टमा परिचालन गर्दा १८ जना प्राविधिक चाहिन्छन । नयाँ मेसिनलाई तीन सिफ्टमा चलाउँदा प्रयाप्त जनशक्ति चाहिने भएकोले जिल्लास्थित अस्पतालका प्राविधिकहरुलाई ल्याउने तयारी भएको उनले बताईन । क्षयरोग केन्द्रको मेसिन संचालन गर्न हाल ६ जना प्राविधिकहरु जुटिसकेको र अरु प्राविधिक जुटाउने तयारी भईरहेको उनले जानकारी दिईन । ‘पुरानो मेसिन पूर्ण क्षमतामा चलेको छ । अब नयाँ पनि पूर्ण क्षमतामा चलाउने हो,’ उनले भनिन,‘त्यसो गर्दा छिटो काम हुनेछ ।’

नियमित परीक्षण भईरहेको स्वावको नमूनाको दुईदिनसम्म भ्यालिडेसन हुन नसक्दा पनि थुप्रो लागेको उनले बताईन । पछिल्लो दुई दिनसम्म प्रदेशको स्वास्थ्य निर्देशनालयले दैनिक रिपोर्ट सार्वजनिक गरेको थिएन । परीक्षणका लागि भित्रिएको नयाँ रि–एजेन्टलाई भ्यालिडेसन गर्नका लागि समय लागेको सुवेदीले बताईन । ‘सम्पूर्ण रिजल्ट आउने गरि भ्यालिडेसन हुन सकेको थिएन । त्यही भएर दुईदिनसम्म परीक्षणको रिपोर्ट बाहिर नआएको हो । तर काम भने भईरहेको थियो,’ उनले भनिन् ।  

स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक नवराज शर्माले पनि थुप्रिएका स्वावको परीक्षण सक्न कम्तिमा एकसाता लाग्ने बताए । ‘नयाँ मेसिन पनि जडान भएको छ । अब दुईवटा मेसिनबाट पूर्ण क्षमतामा परीक्षण गर्ने तयारी भएको छ,’ शर्माले भने, ‘दैनिक ३ सय भन्दा बढी क्षमतामा नमूना परीक्षण गर्ने तयारी छ । त्यो हिसाबले पनि एकसाता भन्दा बढी समय लाग्छ ।’ पुरानो र नयाँ जडित मेसिनले दैनिक १५० वटाको दरले परीक्षणको क्षमता राख्छन् । प्रदेश सरकारले नमूना परीक्षणको गति बढाउन ठुलो आकारको मेसिन भित्र्याउने तयारी भएको पनि उनले जानकारी दिए । शर्माका अनुसार दैनिक ५ सय नमूना परीक्षण क्षमताको मेसिन किन्नका लागि प्रक्रिया अघि बढेको र टेण्डरकोे तयारी भईरहेको छ । नेपालमै मेसिन उपलब्ध भएकोले पनि १५–२० दिनभित्र त्यो मेसिन ल्याउन सकिने गरि प्रक्रिया अघि बढाइएको उनले बताए ।  

संकलित नमूनालाई माइनस ६० डिग्रिको चिस्यानमा राख्नुपर्ने हुँदा हालैमात्र चारवटा फ्रिज पनि किनिसकेको उनले बताए । तापक्रम मिलाएर राख्दा संकलित नमुनालाई एकमहिनासम्म परीक्षण गर्न सकिने पनि शर्माले बताए । ‘सबैलाई नमूनाको रिजल्ट पाउन हतार छ । तर, काम पनि भईरहेको छ,’ उनले भने ।  

नमुनाको थुप्रो लाग्दै गएपछि इमर्जेन्सी अवस्थाको बाहेक अरु नमूना संकलन नगर्न जिल्लाका स्वास्थ्यकर्मीलाई मौखिक निर्देशन समेत दिइएको एक अधिकृतले बताए । उनका अनुसार लक्षण नदेखिएको तर, क्वारेन्टिनमा बसेका व्यक्तिलाई १४ दिनपछि घर पठाउन सकिने भएकोले पनि हतारमा नमूना संकलन नगर्न भनिएको छ । ‘इमर्जेन्सी अवस्थामा बाहेक थप नमूना संकलन नगर्न भनेका छौ । हुन त क्वारेन्टिनमा भीडभाड छ । तर, सबैको परीक्षणका जरुरी छैन,’ निर्देशनालयका ती अधिकृतले भने, ‘अत्यावश्यक अवस्थामा त काम गर्नैपर्छ । तर, इमर्जेन्सी बाहेक नियमित रुपमा नयाँ नमूना संकलन हुँदैनन । पहिला थुप्रो लागेका स्वावको परीक्षण सकेपछि मात्र अरु संकलन गर्ने हो ।’

गण्डकी प्रदेशमा पीसिआर विधिबाट परीक्षणका लागि अहिलेसम्म ८ हजार १ सय ५० जनाको स्वाव संकलन गरिएकोमा २ हजार ५ सय २२ जनाको नमूना अझै परीक्षण भएको छैन । अहिले प्रयोगशालामा २ हजार ५ सय २२ सय जनाको स्वावले परीक्षणका लागि पालो कुरेका छन् । प्रदेशमा अहिलेसम्म १९७ जना संक्रमित भेटिएकोमा १६ जना मात्र निको भएको र  एकजनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १९:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App