२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

आइसोलेसनमा दिनहुँ झडप

दैलेख सदरमुकामस्थित त्रिभुवन माविको आइसोलेसनमा रहेका कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा शनिबार चार जना घाइते भएका छन् । दोस्रो पीसीआरको नतिजा आउन ढिलो भएको भन्दै आइसोलेसनमा रहेका ४३ जना कोरोना संक्रमित आन्दोलित भएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी हरिबहादुर वलीले आइसोलेसनमा रहेका चार जना घाइते भएको जानकारी दिए ।

‘आन्दोलनमा उत्रिएका कोरोना संक्रमितहरुलाई सम्झाउँदा पनि नमानेपछि स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरिएको हो,’ डिएसपी ओलीले भने, ‘एउटाको टाउकोमा चोट लागेको छ, अरुको अवस्था सामान्य छ ।’ प्रहरीले चारै जनालाई त्रिभुवन माविको आइसोलेसनबाट सरस्वती माविमा सारेको छ ।

कोरोना संक्रमण पुष्टि भएका ४३ जना जेठ आठ गतेदेखि त्रिभुवन माविको क्वारेन्टिनमा छन् । उनीहरुको दोस्रो पीसीआर परीक्षणका लागि छ दिनअघि स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।  

डिएसपी ओलीले कोरोना संक्रमितलाई पक्राउ गर्न नसक्ने अवस्था भएकाले सामान्य लाठीचार्ज गर्नु परेको बताए । ‘सुरुमा पाइकिङ ग¥यौं, हात जोडेर भित्र जान आग्रह ग¥यौं,’ डिएसपी ओलीले भने, ‘रड र लाठीले आक्रमण गर्न आएपछि बाध्य भएर बल प्रयोग गर्नुप¥यो ।’

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विभिन्न बहानामा आइसोलेसन र क्वारेन्टिनमा रहेकाहरु दैनिकजसो आन्दोलन गर्ने गरेको बताए । ‘पीसीआर परीक्षण रिपोर्ट ढिलो आएको भन्दै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरु विद्यालयको गेट फोडेर लाठी र रडसहित नारावाजी गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ प्रजिअ कट्टेलले भने, ‘आइसोलेसनमा बसेर आन्दोलन गर्ने मध्येका केहीलाई अर्को ठाउँमा स्थानान्तरण गरिसकेका छौं ।’

शनिबारै डुंगेश्वर गाउँपालिकाका कोरोना संक्रमित व्यक्तिहरुले पनि आन्दोलन गरेका छन् । खानपिन, बस्ने ठाउँ, सौचालय र पानीको असुविधा भएको भन्दै क्वारेन्टिनमा बसिरहेका उनीहरु आन्दोलित भएका हुन् । गाउँपालिकाले कोरोना संक्रमितलाई चुप्रास्थित त्रिवेणी संगम माविमा राखेको थियो । यहाँ बस्ने, खाने, सौचालय र खानेपानीको व्यवस्थापन नभएको भन्दै घर जान पाउनुपर्ने माग राखेर ३५ जना कोरोना संक्रमित आन्दोलित भएका हुन् । घर जाने भन्दै विद्यालयबाट निस्केर मटेलाखोला नजिकै जंगलमा पुगेका उनीहरुलाई प्रहरीले रोकेको थियो । कोरोना संक्रमित आन्दोलित भएपछि गाउँपालिकाले अवलपराजुलमा रहेको जनसहयोगी माविमा राखेको छ ।  

प्रमुख जिल्ला अधिकारी कट्टेलले जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि उनीहरुको व्यवस्थापनमा समस्या भइरहेको बताए । ‘पहिलो कुरा कोरोना संक्रमितहरुलाई राख्नका लागि स्थान अभाव छ, त्यसमाथि स्वाब संकलन भएकाहरुको पनि समयमै रिपोर्ट आउँदैन्,’ उनले भने, ‘यसले गर्दा यहाँ दिनदिनै कुनै न कुनै ठाउँमा आन्दोलन भइरहन्छ ।’

संक्रमित पाँच सय नाघे
दैलेख जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय दुई पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार आठबीस नगरपालिकामा २०, नौमुले गाउँपालिकामा ९ र डुङ्गेश्वर गाउँपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नारायण नगरपालिकामा १९४, दुल्लुका ६७, चामुण्डाविन्द्रासैनी नगरपालिकामा एक र आठबीस नगरपालिकाका २२ जना कोरोना संक्रमित छन् ।  

डुङ्गेश्वर गाउँपालिकामा ६८, महाबु गाउँपालिकामा १०८, भैरबी गाउँपालिकामा ९, गुराँस गाउँपालिकामा दुई, भगवतीमाईमा नौ, नौमुलेका १९ र ठाटीकाँध गाउँपालिकाका तीन जना छन् । कोरोना संक्रमणका कारण दैलेखमा एक जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या ५०२ पुग्दा जिल्लामा कोरोना जित्नेको संख्या ३६ पुगेको छ । शनिबार थप नौ जना कोरोना जितेर घर फर्केका छन् । 

प्रकाशित: ३१ जेष्ठ २०७७ १३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App