९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

नेपालमा किन पुरुषमा बढी कोरोना संक्रमण ?

नेपालमा पनि अन्य प्रभावित देशहरुमा जस्तै कोरोना संक्रमित हुनेमा पुरुष बढी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार हालसम्म कुल ५ हजार ६२ जना पुरुष छन् भने कुल संक्रमित महिलाहरु ३५३ जना मात्र छन्। यो हिसावले कुल संक्रमित मध्येमा पुरुष ९३.०२ छन् भने महिला ६.९७ प्रतिशत छन्। यो हिसावले ८६.०५ प्रतिशत पुरुष महिलाको भन्दा बढी संक्रमित छन्।  

अहिलेसम्म मृत्यु हुनेमा पनि पुरुषनै बढी छन्। हालसम्म नेपालमा कुल १६ जना मृत्यु भएकामा २  जना मात्र महिला छन् भने बाँकी १४ जना पुरुष नै छन्।  विश्वको तथ्यांक अनुसार अमेरिकाको न्युयोर्कमा भर्ना भएका ५ हजार ७ सय कोभिड १९ का विरामी मध्येमा ६० प्रतिशत पुरुष थिए भने इटालीमा ७० प्रतिशत पुरुष थिए भने चीनमा ५८ प्रतिशत पुरुष थिए। कोभिड १९ ले मृत्यु हुनेमा पनि पुरुष नै बढी भएको अन्तराष्ट्रिय तथ्याकंहरुले औल्याएका छन्।  

कोरोना संक्रमण किन पुरुषमा पोजिटिभ देखियो त ? विज्ञ चिकित्सकहरु अहिलेको सन्दर्भमा नेपालमा वैदेशिक रोजगारीमा जाने पुरुष बढी  हुने र अहिले कोरोना संक्रमित भएका पनि विदेशवाटै आएकाहरु भएकोले पुरुषमा बढी संक्रमण देखिएको हो।‘अहिले क्वारेनटाइनमा रहेकाहरु बढी परीक्षण भइरहेको छ, उनीहरु सवै जसो भारतवाट आएका नेपाली पुरुष हुन्,उनीहरु रोजगारीको लागि भारत गएका थिए’ राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप वास्तोलाका अनुसार वैदेशिक रोजगारीमा जानेहरु पुरुष नै रहेकोले नेपालमा महिलाको तुलनामा  अत्यन्त धेरै पुरुषमा देखिएको हो। उनको अनुसार रोगको गम्भिर असर पनि पुरुषमै बढी देखिएको छ। पुरुषको दैनिक गतिबिधी बढी मात्रमा घर वाहिर गई आर्थिक गतिबिधीमा भाग लिने कारण पनि उनीहरुमा संक्रमण हुने सम्भावना बढी भएको डा.वास्तोला बताउँछन्। दीर्घरोगी,धुमपान गर्ने,फोक्सोमा संक्रमण भएका पनि महिला भन्दा पुरुष भएकोले विश्वव्यापी रुपमा कोरोनाको असर महिलाको तुलनामा पुरुषमा बढी देखिएको उनले बताए। नेपालमा युवा पुस्तामै बढी कोरोना संक्रमण हुनुको कारण पनि वैदेशिक रोजगारीमा गएर आउने युवा नै भएकोले यसको असर यो समुहमा देखिएको चिकित्सक बताउँछन्।  

शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोगक डा. शेर बहादुर पुनको अुनसार नेपाल तथा विदेशमा समेत पुरुषहरु सामुहिक गतिबिधीमा  बढी भाग लिने कारण उनीहरुमा कोभिड १९ को संक्रमण बढी भएको हो। ‘ नेपालमा पनि विदेशमा पनि सामुहिक गतिबिधीमा पुरुष बढी संलग्न भएको देखिन्छ, डान्सवार या पार्टी दुवैमा पुरुष बढी हुन्छन्’ उनले भने। यो संगै धुमपान मद्यपान बढी गर्ने पनि पुरुष बढी भएकोले उनीहरुमा यो रोगको गम्भिर्यता पनि बढी देखिएको उनको तर्क छ।

 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App