७ वैशाख २०८१ शुक्रबार
समाज

क्वारेन्टिनबाट घर फर्केका भन्छन् : ‘कोरोना काल जितेर फर्कियौ’

जुम्लाका खड्क बहादुर खत्री भारतको गोहा हुँदै जुम्ला पुगे । उनी कामको शिलशिलामा भारतको गोहा गएका थिए । धन कमाउला, घरपरिवारको लुगो फाटो फेरौँ, छोराछोरी पढाउला भनेर गोहा पुगेका उनी कोरोना भाइरसका कारण निकै दुःख पाए । उनले भने,‘जहाँ रहेपनि कोरोनाको काल टाउको वरिपरि घुमिरहे जस्तो लाग्थ्यो । घरपरिवारको अनुहार देख्न नपाउला, गाउँका साथीभाई संग खेल्न नपाउला । 

घरमा उब्जेका अनाज चाख्न नपाउला भन्ने लागिरहेको हुन्थ्यो । कोरोना भाइरसले मानसिक रुपमा निकै कमजोर बनाइसकेको थियो । सबै हिसाबले मानसिकता निकै कमजोर भइसकेको थियो । तर कोरोना संक्रमण हुन सकेको थिएन । संक्रमित भइन्छकी भन्ने पिरले मनमा घर बनाइसकेको थियो ।  

क्वारन्टिनमै एकातिर संक्रमित निको भएर घर फर्केको खबर जुम्ला निकै खुसी लाग्थ्यो । दैनिक दिन संक्रमित थपिदा र मृत्युको संख्या बढिरहदा दुःख पनि । तर हिम्मत नहारेको खण्डमा कोरोनालाई जित्न सकिने आँट भने मनमा पलाइसकेको थियो ।

उनी संगै गाउँका धेरै युवा थिए । सबैको चाहना र कामना एउटै थियो ‘ हामीका कोरोना संक्रमण नफैलियोस । जहाँ रहेपनि स्वस्थ्य रहने शक्ति मिलोस । बाँचे संसार देख्न मिल्छ । ’ भारतको गोहा देखि हिडेबाटै उनीहरुमा निकै तनाव बढिसकेको थियो । जब जुम्ला पुगे उनीहरुलाई क्वारेन्टिनमा राखियो । चौध दिन क्वारेन्टिनमा बस्दा उनीहरुको चिन्ता नै रिपोर्ट के आउने हो भन्ने नै थियो । जब उनी बसेको क्वारेन्टिनको १ सय ७ जनाको रिपोर्ट नेगेटिभ आयो । उनीहरु निकै खुसी भए । सुकले भने,‘धेरै दिन पनि मनमा घाम लागेको आभाष भयो । मन सन्तोष भयो । पेटमा भोक लागे जस्तो र शरीर निकै तिर्खाएर पानी मागिरहेको जस्तो अनुभुति भयो । ’ लामो सास फेर्दै उनले थपे,‘अब त बाँचौला, संसार देखौला र साथीभाई घरपरिवार भेटौला भन्ने आशा जन्मियो । कोराना कालबाट जितेजस्तो महसुस भयो ।  ’

भारतबाट आएका सबैलाई यहाँको समाजले हेर्ने नजर फेरिएको छ । यीनिहरु संक्रमित नै हुन भन्ने जस्तो व्यवहार गर्छन् । गाउँमा बस्न दिइदैनन् । नजिकै आएर छुन र कुराकानी गर्न सम्म गर्दैनन् । सान्त्वनाको बदला मन हतोत्साहित बनाइदिन्छन् ।

अर्का सर्जन बुढा कोरोना रिपोर्ट नेगेटिभ आएपछि निकै खुसी भए । उनी सहित गाउँका सबै जनाले कोरोना जितेको भन्दै गाउँ फर्किदा अबिर जात्रा समेत गरे । घर फर्केका सबैले गाउँमा गएर होम क्वारेन्टिनमा बस्ने बताए । सर्जन भन्छन्,‘ठूलो कोरोनाकाल बाट मुक्ति मिल्यो । अब समाजमा रहेको मनोसामाजिक युद्ध जारी नै छ । ’

जुम्लामा दसैँ मनाए लगत्तै काम तथा ब्यापारका शिलशिलामा भारत जाने क्रम शुरु हुन्छ । फागुन महिला लाग्ने बित्तिकै घर फर्किन थाल्छन् । तर यो पटक कोराना भाइरसका कारण समयमै फर्कन सकेनन् ।

उनीहरु भारतमै अलपत्र परे ।त्यो भन्दा बढि नेपाल र भारतको सीमा नाकामा । घर पुग्दा सम्म महिला दिन वितिसकेको भारतबाट आउनेहरु बताउँछन् । केहीले त दुई तीन ठाउँका क्वारेन्टिनमा बसेर आएको बताएका छन् । पछिल्लो समयमा भारतबाट आएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि जुम्ला सुरक्षित देखिन थालेकोछ । संक्रमित २६ जनामा १८ जना निको भएर घर फर्किसकेका छन् । बाँकी ८ जनालाई पनि कुुनै लक्षण देखिएको छैन । उनीहरु निको हुने बित्तिकै जुम्लामा कोरोना संक्रमित शून्य हुनेछ ।  

जुम्लामा निर्माण भएका कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिन बाहेक अन्य चारवटा क्वारेन्टिनमा बसेका भारतबाट भित्रिएका सबैको कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ । भारतबाट आएकाहरुको रिपोर्ट नेगेटिभ आउन थालेपछि गाउँमा उत्पन्न त्रास कम भएको छ । स्थानीय दलबहादुर खत्री भन्छन्,‘गाउँमा भारतबाट कोरोना भाइरस आउन सक्ने अवस्था हेर्दा निकै त्रास फैलिएको थियो, तर सबैको रिपोर्ट नेगेटिभ आएपछि त्रास कम भएको छ ।’

जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाएको छ । लकडाउनको पूर्ण पालना गराउनेदेखि कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतना फैलाउदै आएको छ । यहाँका विभिन्न स्थानमा राखिएका स्वास्थ्य सहायता कक्षका अनुसार जुम्लामा १२ हजार १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यी मध्ये अधिकांस भारतबाट आएका हुन् । २ हजार ९५ जनाको पिसिआर परीक्षण भइसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकमा छ ।  

क्वारेन्टिनबाट रिपोर्ट नेगेटिभ आएर फर्कने क्रममा भारतबाट भित्रिएकाहरुले क्वारेन्टिन व्यवस्थापनमा देखिएका सबै खालका समस्या बिर्षिसकेका थिए । यहाँका ७ सय ८६ बेडको क्वारेन्टिनबाट १ हजार ४ सय २० जना घर फर्किएका छन् । भारतबाट गाउँ फर्किनेको संख्या बढ्दै गर्दा गाउँबस्ने निकै भयभित छन् । तर पछिल्लो परीक्षण रिपोर्टले निकै खुसी बनाइरहेको छ ।  

स्वदेशमा रोजगारीको अवसर सिर्जना नहुँदा जुम्लाका अधिकांस मानिसहरु भारतमा जान्छन् । कोही भारी बोक्ने कुल्लीको काम गर्छन् । कोही ब्यापार गर्छन् । त कोही सेकुरिटी गार्ड बस्छन् । तर खेति किसानीको समयमा जुम्ला पुगिसक्छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै पहलमा पिसिआर मेसिन ल्याएकोले परीक्षण गर्न सहज भएको हो । 

अहिले जुम्लामै पिसिआर परीक्षणको व्यवस्था हुँदा सहज भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष डा. निरेश थापा नेपालमा कोराना भाइरस फरक रुपमा प्रस्तुत भइरहेको बताउँछन् । यहाँ पिसिआर पोजेटिभ देखिएकाकोमा पनि कुनै लक्षण देखिएको छैन् । यहाँका संक्रमित पनि छोटो समयमै निको भइसकेका छन् ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App