१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुर्तीको मूल्य पाँच गुणा बढी, सीमा क्षेत्रमा तस्करी बढ्यो

पक्राउ परेका सुर्ती तस्कर। तस्विरः नागरिक

लकडाउनका कारण बजारमा सुर्तीको मूल्य पाँच गुणा बढेको छ। १० रुपैयाँ पर्ने सुर्ती यतिबेला ५० रुपैयाँमा बिक्री भैरहेको छ। लामो लकडाउनसँगै बजारमा सुर्तीको अभाव भएपछि मूल्य ह्वात्रै बढेको हो।

एकातिर मूल्य ह्वात्रै बढ्नु र अर्कोतिर माग बढ्नुले सीमा क्षेत्रमा सुर्तीको तस्करी समेत बढेको छ। कैलालीको सीमावर्ती क्षेत्रमा भारतीय बजार तिकुनीयाँबाट सुर्ती तस्करी भैरहेको छ।  

केही ब्यापारीहरुको लगानीमा दुई देशका सीमा क्षेत्रमा बस्ने नागरिक सुर्ती तस्करीमा संलग्न भएको पाईएको छ। मोहना नदी पारीसम्म भारतीय नागरिकले पु¥याउने र त्यस यता नेपाली नागरिकले ओसार्ने गरेको पाइएको छ। उनीहरुले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीलाई समेत झुक्याएर रातीको समयमा तस्करी गर्ने गरेका छन्।  

सशस्त्र प्रहरीले जेठ २७ गते राति २ बजेतिर टीकापुर नगरपालिका–९ कालाकुण्डाबाट एक लाख बराबरको सुर्तीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–९ झुँगाका लालबहादुर दहित र दिनेश डगौरा रहेका छन्।  

उनीहरुलाई मोहना नदी किनारबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको बताइएको छ। सशस्त्र प्रहरीले दुवै जनालाई सत्ती भन्सार कार्यालय बुझाएको थियो। भन्सार कार्यालयले दुवै जनालाई जनही एक लाख धरौटीमा छोडेको छ। ‘तत्काल धरौटीमा छोडेका छौं। उनीहरु सम्पर्कमै रहन्छन’ निमित्त कार्यालय प्रमुख धर्मराज विकले भने–‘आवश्यक परेका बेला उपस्थित हुने गरी छोडिएको हो।’

एक सातामा प्रहरीले तस्करीमा संलग्न रहेको आरोपमा चारवटा मोटरसाइकल र केही थान साइकल समेत पक्राउ गरेको छ। सत्ती भन्सार कार्यालयका अनुसार प्रहरीले से ६ प ५४५४, से ७ प ११७७, से ५ प २६०८ र से ५ प ६९९४ नम्बरको मोटरसाइकल र केही थान साइकल बुझाएको छ। ती मोटरसाइकल र साइकलबाट समेत प्रहरीले सुर्तीजन्य पदार्थ बरामद गरेको छ।  

स्थानीयका अनुसार कर्णाली र मोहना नदीको दोभान, कालाकुण्डा, मरीयाघाट लगायतका क्षेत्रबाट तस्करी भैरहेको छ। तस्करले रातिको समयमा मोहना नदीमा डुंगा मार्फत सामान ओसार्ने गरेका छन। उनीहरुले सुर्तीका साथै अन्य खाद्य सामाग्री समेत तस्करी गर्ने गरेको पाइएको छ।  

स्थानीयले नेपालतर्फबाट कैलालीको लम्कीमा रहेको देउती गुट्खा उद्योगद्वारा उत्पादित मेघाश्री गुट्खा भारततर्फ तस्करी भैरहेको जानकारी दिएका छन्। गुट्खा आयातमा भारत सरकारले प्रतिबन्ध लगाएको छ।  

स्थानीयले तस्करीमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको समेत संलग्नता रहेको आरोप लगाएका छन। उनीहरुले यतिधेरै ठाउँमा सुरक्षाकर्मी तैनाथ हुँदा पनि तस्करी हुनुले सुरक्षाकर्मीको संलग्नता रहेको पुष्ठी हुने दावी गरे।  

‘कोरोना रोकथामका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी राखिएको छ। यस्तो अवस्थामा तस्करीको कुनै सम्भावना नै हुँदैन’ टीकापुर नगरपालिका–७ का विनय चौधरीले भने–‘सुरक्षाकर्मीको संलग्नता नभएर कसरी तस्करी भैरहेको छ त ?’

सीमा सुरक्षा पोष्ट खक्रौलाका इञ्चार्ज प्रहरी निरीक्षक चन्द्रदेव भट्टले तस्करीमा सुरक्षाकर्मीको संलग्नता अस्विकार गरेका छन। उनले आफूहरुले तस्करी नियन्त्रणमा सक्दो प्रयास गरिरहेको बताए। उनले तस्करी भैरहेको भने स्विकारेका छन। ‘हामीले ड्युटी गरेकै छौं’ उनले भने–‘खै कसरी लग्छन थाहा छैन।’

तस्करीमा संलग्न समूहले टीकापुर लगायतका बजारमा बिहानै साइकलमा सामान पुर्याउने गरेका छन्। मोहना र कर्णाली नदीको दोभान क्षेत्र खक्रौलास्थित सत्ती भन्सार कार्यालयबाट झण्डै एक किलोमिटरको दुरीमा रहेको छ।  

कोरोनाको जोखिम बढेसँगै भारतीय सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले झण्डै दुई किलोमिटरको दुरीमा अस्थायी पोष्टहरु राखेको छ। सुरक्षाकर्मीको पोष्ट भएकै ठाउँबाट सामानहरु तस्करी भइरहेको स्थानीयहरु बताउँछन्।

प्रकाशित: ३० जेष्ठ २०७७ ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App