२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधन क्षति

मुस्ताङ जिल्लाका तीन गाउँपालिकामा पछिल्लो चार वर्षमा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधन क्षति भएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका याक, चौँरी, भेडाच्याङ्ग्रा लगायत पशुधनमा हिउँ चितुवा, चितुवा र ब्वाँसोले आक्रमण गरेका हुन्।  

एक्यापका प्रमुख राजेश गुप्ताका अनुसार प्रभावित ६८ घरधुरीका पशुधनमध्ये १२ याक, सात चौँरी, ११७ च्याङ्ग्रा, ३८ भेडाबाख्रा, दुई खच्चड र आठ घोडा मरेका छन्। बाँकी अन्य पशुधनमा पनि क्षति पुगेको कार्यालयले जनाएको छ। 

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९ र ८० मा ३१, २०८० र ८१ मा ५६, २०८१ र ८२ मा ८६ तथा चालु आर्थिक वर्षको वैशाखसम्म ६६ वटा पशुधन वन्यजन्तुको आक्रमणमा परेका छन्।  

कृषि, पशुपालन र पर्यटनमुखी मुस्ताङमा परम्परागत पशुपालन व्यवसाय लामो समयदेखि मुख्य जीविकोपार्जनको आधार रहँदै आएको छ। तर पछिल्ला वर्षहरूमा उच्च हिमाली क्षेत्रमा वन्यजन्तुको जोखिम बढ्दै जाँदा पशुपालक किसान चिन्तित बनेका छन्। स्थानीयका अनुसार मानव–वन्यजन्तु द्वन्द्व बढेसँगै याकचौँरी तथा भेडाच्याङ्ग्रा पालन व्यवसाय असुरक्षित बन्दै गएको छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको ‘वन्यजन्तु क्षति राहत निर्देशिका, २०८०’ अनुसार एक्यापले पीडित किसानलाई राहत रकम वितरण गर्दै आएको छ। निर्देशिकाअनुसार याक, चौँरी, घोडा र खच्चडको क्षतिमा बढीमा ६० हजार रुपैयाँ तथा भेडाच्याङ्ग्राको क्षतिमा बढीमा १० हजार रुपैयाँसम्म राहत उपलब्ध गराइन्छ।   

एक्याप जोमसोम कार्यालयले पछिल्लो चार आर्थिक वर्षमा पीडित किसानलाई २५ लाख २१ हजार रुपैयाँ राहत वितरण गरिसकेको जनाएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म मात्रै पाँच लाख २९ हजार रुपैयाँ सम्बन्धित पशुधनीको बैंक खातामा जम्मा गरिएको छ।  

यसैबीच, उपल्लो मुस्ताङ क्षेत्रमा रहेको एक्याप लोमान्थाङ कार्यालय ले पनि पछिल्लो तीन आर्थिक वर्षमा वन्यजन्तुबाट प्रभावित पशुपालकलाई ४५ लाख ९९ हजार रुपैयाँ राहत वितरण गरेको जनाएको छ।  

एक्यापका अनुसार जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रका पानीका स्रोत सुक्दै जानु, चरन क्षेत्र घट्नु तथा जंगली जनावर बस्ती नजिक झर्न थालेकाले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ। साथै, गोठ तथा खोरको कमजोर संरचनाका कारण पनि पशुधनमा क्षति बढिरहेको बताइएको छ।  

प्रकाशित: २ जेष्ठ २०८३ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App