तीन सताअघिसम्म प्रदेश नं. ५ का पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा कोरोना संक्रमण शून्य थियो । बुटवलमा उपचारत एक जना शिक्षकको स्वाब परीक्षण गर्दा जेठ ५ गते कोरोना पोजेटिभ देखियो । त्यसयता यी तीन जिल्लामा संक्रमितको संख्या पाल्पामा १८, गुल्मीमा ७ र अर्घाखाँचीमा ३६ छ । तीन वटै जिल्लामा कोरोना संक्रमणबाट एक/एक जनाको मृत्यु भइसकेको छ ।
अहिले सम्म तराइको तुलनामा पहाडमा संक्रमितको संख्या कम छ । तर जोखीम झन बढेको जनस्वाथ्यका अधिकारीहरु बताउछन । ‘भारतबाट फर्केकाहरुले क्वारेन्टिन भरीभराउ छन् । पिसीआर टेष्ट नगन्य छ । आरडिटी किट पनि पर्याप्त छैन जोखीम बढेको छ’ स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले भने । तीनवटै जिल्लामा कन्ट्रयाक्ट टे«सिङका लागि केही स्वाब संकलन भएको छ । तर भारतबाट फर्केकाहरुको परीक्षणलाई प्राथमिकता दिइएको छैन । त्यसको मुख्य कारण किट अभाव र संकलित नमुनाको रिपोर्ट समयमै नआउनु हो ।
तीनवटै जिल्लामा भारतबाट फर्केकाहरुलाइ साँघुरा क्वारेन्टिनमा कोचाकोच गरी राखीएको छ । दिल्ली, महाराष्ट्र, गुजरात जस्ता कोरोना फैलीएका भारतीय शहरहरुबाट फकर्नेहरु धेरै छन् । प्रदेशमा अहिले सम्म भेटिएका संक्रमितहरु पनि अधिकतर तीनै शहरबाट फर्केका छन् । प्रदेशमा खटिएका डब्लुएचओका एक जना प्रतिनिधिले समयमै संक्रमितको पहिचान गरी विशेष सावधानी नअपनाइए पहाडी जिल्लाहरुले पनि तराइकै नियती भोग्नु पर्ने बताए । ‘क्वारेन्टिनहरु मापदण्ड अनुरुप बनाउने, टेष्टको गती बढाउने र संक्रमितको उपचारका लागि पूर्वाधार तयार गर्न ढिला गर्नुहुन्न’ ती अधिकारीले भने ।
जनस्वास्थ्य विज्ञहरुले पहाडमा जोखीम बढीरहेको बताइरहदा तीनै जिल्लामा कोरोना पहिचान, संक्रमण रोकथाम तथा उपचारको तयारी फीतलो छ । न किट पर्याप्त छ, न परीक्षण । न त क्वारेन्टिन र संक्रमितलाई राख्ने आइसोलेसन मापदण्ड अनुरुपका छन् ।
३६ जनामा संक्रमित भेटिएको अर्घाखाँचीमा अहिले सम्म ४५ बेडको एउटा आइसोलेसन सेन्टर छ । क्वारेन्टिनमा ४ हजार ३ सय जना छन् । परीक्षणको गती बढ्दा संक्रमित थपिए भने तीनलाई कहाँ व्यवस्थापन गर्ने अन्यौल छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले भुमीकास्थान, शितगंगा, छत्रदेव र सन्धिखर्कमै २०÷२० बेडका आइसोलेसन सेन्टर बनाउने तयारी भइरहेको बताए ।
स्वास्थ्य समस्या देखिएका वा लक्षणसहितका संक्रमितलाई आइसोलेसन अस्पतालमा राख्ने भनीएको छ । तर त्यसखालको आइसोलेसन बेड जिल्ला अस्पतालमा जम्मा २ वटा छ । लक्षण सहितका संक्रमित थपिए र आइसीयु, भेन्टिलेटरको सेवा आवश्यक परे बिरामीलाई बुटवल दौडाउनुको बिकल्प छैन ।
स्वास्थ्य सुरक्षा सामाग्रीको पनि अभाव छ । एम्बुलेन्स चालकहरुकै लागि पर्याप्त पिपिइ नभएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आर्चायले बताए । ‘ पिपिइ नहुँदा एम्बुलेन्सले संक्रमित बोक्न मान्दैनन् । भारतबाट फर्केकालाई जिल्ला ल्याउन त्यस्तै समस्या छ’। स्वाबको रिर्पोट दुइ सातासम्म आउदैन’ आर्चायले भने । आरडिटि पोजेटिभ आएर संकलन गरीएका स्वाब समेत प्रदेशका प्रयोगशाला भैरहवा र दाङ्गले लिन नमानेपछि चितवन पठाइएको उनले बताए ।
पाल्पामा क्वारेन्टिनमा बसेका २ हजार जनाको परीक्षण भएको छैन । हालसम्म जिल्लामा १८ संक्रमित भेटिएका छन । भिटिएम प्रयाप्त नहुँदा संक्रमितसग प्रत्यक्ष सम्पर्कमा आएकाहरुको मात्रै नमुना लिइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । यहाँ संक्रमितको व्यवस्थापनका लागि तयारी फीतलो छ । स्वास्थ्य कार्यालयका प्रमुख न्यौपानेका अनुसार तानसेनमा १२ र २० बेडका दुइवटा आइसोलेसन सेन्टर तयार छन् । पुर्वखोला, रिब्दीकोटमा र रामपुरमा २०/२० बेडको आइसोलेसन सेन्टर बनाउने तयारी मात्रै छ ।
मिसन अस्पतालमा तीन,लुम्बिनी मेडिकल कलेजमा ९,रामपुरमा २ र जिल्ला अस्पतालमा एउटा आइसोलेसन बेड छ । तर सरकारी अस्पतालमा आइसीयु र भेन्टिलेटरको व्यवस्था छैन । ‘संक्रमितहरु सिकिस्त भए बुटवललाई नै बिकल्पको रुपमा लिनु पर्ने अवस्था छ’ न्यौपानेले भने । डब्लुएचओका एक जना प्रतिनिधिका अनुसार यहाँका क्वारेन्टिन र आइसोलेसनमा सामाजिक दुरी कायम नगरीएको छैन । एउटै धारा, सौचालय,बाथरुम धेरै जनाले प्रयोग गरीरहेका छन । जसले क्वारेन्टिन भित्रैबाट संक्रमण फैलने खतरा छ ।
गुल्मीमा ४ हजार २ सय क्वारेन्टिनमा छन् । परीक्षण गती निकै सुस्त छ । कन्टयाक्ट ट्रेसिङलाई जोड दिइएपनि किट अभावमा थ्रोट स्वाब संकलन हुन सकीरहेको छैन । आरडिटी किट समेत पर्याप्त उपलब्ध नगराइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमखु डा. भवानीप्रसाद शर्माले बताए । ‘क्वारेन्टिनमा ४ हजार बढी छन । आरडिटी किट २४ सय थान पठाइएको छ’डा शर्माले भने । जिल्लामा अहिले सम्म २० बेडको एउटा मात्रै आइसोलेसन सेन्टर तयार गरीएको छ । छत्रकोट,चन्द्रकोट,धुर्कोट,मुसीकोट र सत्यवतीमा बल्ल आइसोलेसन सेन्टर बनाउने तयारी चल्दैछ । आइसोलेसन र क्वारेन्टिनहरु मापदण्ड अनुरुप छैनन् । ‘क्वारेन्टिनहरुनै मापदण्ड अनुरुप छैनन् । आइसोलेसनको त कुरै छोडौ’ स्वास्थ्य कर्यालयका प्रमुख डा. शर्माले भने । हालको उपलब्ध साधन श्रोतले मापदण्ड अनुरुपका आइसोलेसन सेन्टर बनाउन नसकीने उनले भनाइ छ ।
आइसोलेसन सेन्टरमा कम्तीमा एक जना डाक्टरसहित स्वास्थ्यकर्मीहरु हुनुपर्नै मापदण्ड छ । तर धुर्कोट, मुसीकोट लगायतका पालिकामा डाक्टर छैनन् । जिल्लामा आइसोलेसन अस्पताल तथा आइसीयु,भेन्टिलेटरको व्यवस्था छैन । डा. शर्माले पहाडी जिल्लाहरुमा पनि आइसोलेसन अस्पताल व्यवस्थापन गरीनु पर्ने खाँचो औल्याए ।
मुख्य मन्त्री संयोजक रहेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले प्रदेशका सबै जिल्लामा आइसोलेसन सेन्टर बनाउने, क्वारेन्टिनहरुलाइ मापदण्ड अनुरुप स्तरोन्ती गर्ने,परीक्षणको दर बढाउने,पिपिइ लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीहरु प्रयाप्त उपलब्ध गराउने, लगायतका निर्णाय गरीरहन्छ । तर स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यका अधिकारीहरु भने प्रदेश सरकारले कागजी निर्णय गरेपनि आवश्यक सहयोग र समन्वय नगरेकेको गुनासो गर्छन् ।
तराइका जिल्लामा क्वारेन्टिन व्यवस्थापनमा हेलचेक्रयाइ गरीदा त्यहीबाट संक्रमण फैलीरहेको छ । पहाडी जिल्लामा पनि क्वारेन्टिन र आइसोलेसन सेन्टर मापदण्ड अनुरुप व्यवस्थापन नगर्ने हो भने कपिलवस्तु, बाँके र रुपन्देहीको जस्तै नियती पाल्पा, गुल्मी र अर्घाखाँचले भोग्नु पर्ने जनस्वास्थ्यका विज्ञ तथा डब्लुएचओका प्रतिनिधिहरुले औल्याएका छन् ।
प्रकाशित: २९ जेष्ठ २०७७ १३:२६ बिहीबार