९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा बिहीबार सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा रहेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले जानकारी दिए । ‘भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो’ स्वास्थ्य संयोजक श्रेष्ठले भने, ‘संक्रमितहरुको अवस्था सामान्य छ ।’

क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २५ गते स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ६ आगिन्चोकस्थित सुन्दरी आ.विको क्वारेन्टिनमा बसेकाहरु ४३, २८, २०, १७, १८ र १९ वर्षका पुरुषहरु र वडा नं १ सल्यानटारस्थित रानीपौवा माविको क्वारेन्टिनमा बसेका ३९ वर्षीय पुरुष छन् ।  

संक्रमित व्यक्ति देखिएपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामा, स्वास्थ्य कार्यालय धादिका प्रमुख डा. भुवन पौडेल लगायतका टोली सल्यानटार पुगी थप उपचार र कन्ट्याक्ट ट्रेसिङ लगायतका बारेमा छलफल गरिएको छ । संक्रमितलाई थप उपचारका लागि सल्यानटारमा नै आइसोलेसन कक्ष निर्माण गरिने गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिए ।  

यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी उपचाररत छन् । गाउँपालिको प्रत्येक वडाहरुमा क्वारेन्टिन निर्माण गरेको छ । हाल भारतबाट आई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको संख्या ५० जना रहेको गाउँपालिकाले जनाएको छ । 

प्रकाशित: २९ जेष्ठ २०७७ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App