२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

क्वारेन्टिनमा कोरोना संक्रमणको बढ्दो ग्राफ

सिरहाको ब्रझ मावि क्वारेन्टिन ।

सप्तरीको बलाना बिहुल गाउँपालिकाको तीन वटा विद्यालयलाई क्वारेन्टिन बनाइएको छ । जसमध्ये जनता माध्यमिक विद्यालय सेहरा क्वारेन्टिनका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एउटै क्वारेन्टिनबाट यती धेरै मानिस संक्रमित हुनुमा यहाँको अव्यवस्था कारक बन्यो । यस क्वारेन्टिनका १ सय ३२ कोचिएर बसेका थिए । उनीहरुले विद्यालयको शैचालय र चाप्पल सामूहिक प्रयोग गर्थे । एकआपसमा घुलमिल गर्थे । तास खेल्थे । हसिमजाक गरेर समय बिताउँथे ।

लकडाउनमा परेर महोत्तरीको सम्सी गाउँपालिकामा १२ सय मानिस घर फर्केका छन् । जसमध्ये वडा नम्बर २ र ६ को क्वारेन्टिनमा मात्र १ हजार १ सय जना छन् । यहाँका मस्जिद, मदरर्सा, इदगाह सबै भरिएपछि विद्यालयहरुलाई क्वारेन्टिन बनाइएको अध्यक्ष मोहम्मद शेख फारुक बताउँछन् । उनीहरु सबै भारतबाटै आएका हुन् । उनीहरूलाई सीमाबाट क्वारेन्टिनमा ल्याइएको हो । मान्छे धेरै भयो अनि राख्ने ठाउँ साँघुरो उनले भने,‘जसोतासो कोचिएर बसिदिएका छन । उनीहरुले हम्रो इज्जत जोगाइदिएका छन ।’ विद्यालयको क्वारेन्टिनमा शौचालय नै छैन । कुनैमा एउटा छ । एउटा शौचालयमा सैयौं मानिस कसरी शौच गर्न भ्याउँछन् उनले भने,‘धेरै मानिस चौउरी र खोला किनारमा शौच गर्न जादोरहेछ ।’

अध्यक्ष फारुकले नागरिकसँग भने,‘अहिले यहाँको खप्नै नसकिने गर्मीमा जस्ताको छाना भएको विद्यालयमा धन्न उनीहरु टिकेका छन् । गर्मी भएपछि उनीहरु बाहिर चौतारामा निस्कन्छन् । तर, घर जाँदैनन् । विद्यालयको क्वारेन्टिनमा नुहाउने एकमात्र धारो छ ।  

सिरहाको शूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस क्वारेन्टिन कोरोनको इपिसेन्टर बन्दै छ । यस क्वारेनिटनबाट ३२ जना संक्रमण पुष्टि भैसकेको छ । मंगलबार संक्रमण पुष्टि भएका १२ जना मध्ये १० जना यसै क्वारेन्टिनका छन् । यो क्वारेन्टिन कोरोना संक्रमणको कारखाना बन्नुको कारण हो, अव्यवस्था । भारतबाट आएकाहरुलाई पहिला सीमामा रहेको ब्रझ माविमा संचालित अस्थायी क्वारेन्टिनमा लगिन्छ । त्यहाँ भरिएपछि टिपरमा लोड गरेर सिरहा सदरमुकाम स्थित शूर्यनारायण सत्यनारायण मरबैता यादव क्याम्पसमा संचालित क्वारेन्टिनमा राखिन्छ । ब्रझ मावि क्वारेन्टिनमा भुइँमै चटाइ ओछ्याएर उनीहरु सुत्छन । एउटै चापाकल सबै जना प्रयोग गर्छन् । गर्मी छल्न बाहिर चौरमा बसेर गफिन्छन् । क्याम्पस क्वारेन्टिनमा पनि उनीहरु सामूहिक रुपमै एकअर्कासँग घुलमिल गर्छन् । एकले अर्काको मोबाइल चलाउँछन् ।  

क्वारेन्टिन संयोजक सुरेश चोरबारका अनुसार जती भन्दा पनि उनीहरु आपसमा घुलमिल गरिहाल्दो रहेछ । यस क्वारेन्टिनमा संक्रमितको संख्या बढ्दै गएपछि व्यवस्थापन चौतीपूर्ण बनेको चोरबारको भनाई छ । संक्रमित थपिँदै गएपछि खाना पुर्याउन पनि सबै जना हचकिन्छन । सबै डराएका छन ।

बरियारपट्टी गाउँपालिका– १ को आधारभूत विद्यालय नरगी क्वारेन्टिनमा २५ जना छन् । जसमध्ये मंगलबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विद्यालयको एकमात्र शौचालयमा घण्टौंसम्म पालो कुर्नुपर्ने भएपछि अधिकांश मानिस दिसापिसाब गर्न बाहिर चौरीमै पुग्छन् । क्वारेन्टिन अघिल्तिरको चौरमा बसेर गफगाफ गर्छन् । खप्नै नसकिने गर्मी छ । झन् जस्ताको छाना भएको विद्यालयमा दिउँसो टिक्नै गाह्रो । क्वारेन्टिनमा रहेकाहरू गर्मी छल्न विद्यालय आसपासको छहारीमा पुग्छन् ।

प्रदेश २ मा भारतबाट फर्किने नेपालीहरुका लागि सात वटा प्रवेश नाका तोकिएको छ । प्रदेश नाकाबाट क्वारेन्टिनसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई तोकिएको छ । सीमा नाकामा नेपाली सेनाले पानी चाउचाउ र विस्कुट दिएर क्वारेन्टिनमा पुर्‍याउँछन् । कतिपय क्वारेन्टिनमा समेत नेपाली सेनाको तयनाथी छ ।

क्वारेन्टिनमा कोरोना संक्रमण
सिरहामा १२ जना कारोना संक्रमित थपिएसँगै प्रदेश २ मा संक्रमितको संख्या १३ सय ८२ पुगेको छ । जसमध्ये करिब १३ सय ५० जना भारतबाट फर्केर विभिन्न क्वारेन्टिनमा बसेकाहरु छन । जेठ १ गतेयता संक्रमितको ग्राफ डरलाग्दो गरी बढ्दै छ । सामाजिक विकास मन्त्रालयको जेठ १ गत्तेको तथ्यांकअनुसार प्रदेशमा संक्रमितको सख्या ९८ जना थियो । सताइसौ दिनमा यो संख्या १३ गुणाले बढेको छ ।  

संघीय इकाई प्रहरी कार्यालय जनकपुरका प्रवतmा एसपी जय सापकोटाका अनुसार चैत ११ गतेदेखि हालसम्म यस प्रदेशको नाकाबाट २५ हजार १ सय ७० जना प्रवेश गरेका छन् । जेठ १ गतेदेखि मंगलबारसम्म भारतबाट १९ हजार २ सय ८९ जना नेपाली नागरिक यस प्रदेशमा आएका छन् । मंगलबार भारतबाट फर्किएका नेपाली नागरिकको संख्या ३ सय ७६ मात्र छ । सापकोटाकाअनुसार चार पाँच दिनदेखि भारतबाट फर्किनेहरुहरुको संख्या घट्दै गएको देखिन्छ ।  

पछिल्लो समय भारतबाट फर्केर क्वारेन्टिन बसेकाहरुमा गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आइरहेको छ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रासद घिमिरेले भने,‘पछिल्लो समय संक्रमण पुष्टि भएकाहरु अधिकत्तर भारतबाट फर्केर क्वारेन्टिन बसेकाहरु छन् ।’ यस प्रदेशमा अहिलेसम्म २८ हजार ५ सय ३१ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये १३ सय ८२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । १४ हजार ५ सय ४५ को रिपोर्ट आउन बाँकी छ ।  

 

 

 

प्रकाशित: २७ जेष्ठ २०७७ १५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App