१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

गण्डकी प्रदेश : हिमाली जिल्ला मुस्ताङ र मनाङमा संक्रमण शून्य

कोरोना भाइरस संक्रमणले तराई र पहाडि जिल्लामा तीब्र गति लिइरहँदा हिमाली जिल्लामा भने अहिलेसम्म संक्रमण उक्लिन सकेको छैन। गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म कोही पनि संक्रमित फेला परेका छैनन्।  

प्रदेशमा अहिलेसम्म १४४ जनामा संक्रमण पुष्टि भइसकेको छ। गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी बागलुङमा ४० जनामा कोरोना पुष्टि भएको छ। त्यसपछि स्याङजामा ३८, नवलपुरमा  ३४ जना संक्रमित फेला परेका छन्। गोरखामा ११, पर्वतमा ९, म्याग्दी र तनहुँमा ३–३, कास्कीमा ५ र लम्जुङमा एकजनामा मात्र संक्रमण पुष्टि भएको निर्देशनालयले बताएको छ।  

प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले संक्रमण पुष्टि भएका मध्ये करिब ९० प्रतिशत व्यक्ति भारतबाट फर्केका नागरिक रहेको बताए। उनीहरु क्वारेन्टिनमा बसेको भएपनि उनीहरुबीच नै संक्रमण फैलने क्रम रहेको उनले बताए। ‘करिब ९० प्रतिशत संक्रमित त भारतबाटै आएका व्यक्ति हुन्। उनीहरुलाई संक्रमणले कहाँ भेट्यो भन्ने यकिन नभएपनि भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोरोना देखिएको छ,’ शर्माले भने, ‘तर, हिमाली जिल्ला अझैसम्म चोखा छन्। हत्तपत्ति ती जिल्लामा संक्रमण पुग्ने सम्भावना छैन।’

भारतबाट आउने क्रम अझै जारी रहेकोले हिमाली बाहेकका जिल्लामा संक्रमणको दर बढ्ने पक्का रहेको उनले बताए। सबैभन्दा बढी संक्रमित फेला परेका बागलुङ, स्याङजा र नवलपुरमा भारतबाट आउनेको संख्या अधिक रहेको उनले बताए। ‘संक्रमण फैलिएका जिल्लामा कुन समुदायको अधिक बसोबास छ र उनीहरुको भारतसम्मको आउजाउ कत्तिको छ भन्नेले पनि फरक पार्छ,’ उनले भने, ‘जुन ठाउँमा भारत जानेको संख्या कम छ, त्यहाँ संक्रमण कम हुनसक्छ।’ भारतमा रोजगारी भएपनि उनीहरुको आउजाउमा पनि संक्रमणको दर भर पर्ने उनले बताए।  

‘लम्जुङका धेरै युवा भारतीय सेना र प्रहरीमा कार्यरत छन्। उनीहरु तत्काल आउने सम्भावना कम हुनसक्छ। तर, अरु जिल्लामा भारतबाट फर्केका नागरिकको भीडभाड छ,’ उनले भने, ‘त्यसले गर्दा पनि संक्रमितको संख्यामा फरक पर्न सक्छ।’ अहिलेसम्म भारतबाट फर्केका मध्ये करिब ९९ प्रतिशत नै क्वारेन्टिनमा बसेको भएपनि संक्रमणको त्रास भने कायमै रहेको उनले बताए।

हिमाली जिल्लामा आउजाउ कम रहेको र ती जिल्लाका युवाहरु कमै मात्रामा भारत गएकोले पनि संक्रमण पुगिहाल्ने सम्भावना कम रहेको उनले बताए। ‘हिमाली जिल्लासम्म आउजाउ करिब ठप्प छ। केहीगरि एकाध व्यक्ति उक्लेका रहेछन भने पनि त्यहाँको समुदायमा संक्रमण फैलने सम्भावना कम छ,’ उनले भने, ‘हिमाली जिल्लाको जनसंख्या कम, एकअर्का बस्तीको दुरी पनि धेरै रहेकोले संक्रमण फैलिन सहज छैन।’

कम संक्रमण देखिएको भएपनि कास्कीमा भने जोखिम उच्च रहेको उनले बताए। ‘प्रदेश राजधानी कास्कीको पोखराले संक्रमण सहन थालेको लामो समय भएको छ। बाहिर मात्र नदेखिएको हो। भित्रभित्र भुस झैं फैलिएको अनुमान छ,’ निर्देशक शर्माले भन्छन, ‘चैतमै पोखरा हुँदै बागलुङसम्म संक्रमित व्यक्ति आउजाउ गरेका छन्। ती बाहेक विभिन्न जिल्लाका संक्रमितले पोखरालाई ट्रान्जिट बनाउँदै आउजाउ गरेका छन्। त्यसले गर्दा पनि पोखरामा जोखिम निकै नै छ।’  

हिमाली जिल्लामा कोरोना संक्रमण उक्लिन नपाओस भनेर मुस्ताङ प्रवेशको नाका घाँसामा निकै नै कडाई गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले बताए। उनका अनुसार मुस्ताङमा पहिल्यै भित्रिएका मजदुरले काम गरिरहेपनि लकडाउन सुरु भएपनि बाहिरबाट कोही भित्रिएका छैनन्। ‘लकडाउनको अवधिमा सिमित व्यक्ति भित्रिएपनि उनीहरुको पनि परीक्षण भयो। अब तत्काल आउने कोही छैनन,’ शेरचनले भने, ‘भारतबाट अरु जिल्लामा ओइरो लाग्दा मुस्ताङमा भने आएका छैनन। अब खाडि गएका केही युवा फर्किने सम्भावना छ। आवश्यक परेमा उनीहरुलाई व्यवस्थापन गर्नुपर्छ।’ जिल्ला भित्रिने एकमात्र नाका मोटरबाटो रहेकोले पनि सडकमा कडाई गर्नासाथ सहज भएको उनले बताए।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जिल्लालाई कोरोना संक्रमणबाट सुरक्षित राख्ने प्रयास भईरहेको बताए। उनका अनुसार भारतबाट अहिलेसम्म बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका एकजना मात्र आएको र उनी होम क्वारेन्टिनमा बसिरहेको उनले बताए। ‘भारतबाट एकजना मात्र भित्रिएका हुन्। उनी पनि कडाइका साथ घरभित्रै बसिरहेका छन्। परीक्षणका लागि नमूना संकलन गरिएको छ,’ अर्यालले भने, ‘अरु कोही भित्रिएका छैनन्।’ प्रजिअ अर्यालका अनुसार जिल्ला भित्रिएका जो कोही व्यक्तिको घाँसाको क्लिनिकमा आरडिटी परीक्षण गरिन्छ। ‘आरडिटी क्लिनिकमा परीक्षण नगराई कोही भित्रिन पाउँदैन,’ उनले भने, ‘निकै नै कम आउजाउ भएकोले पनि अहिलेसम्म सुरक्षित रहन सकेको छ।’ उनका अनुसार संक्रमणको जोखिम कम भएपछि आन्तरिक गतिविधिमा केही सहज छ। माथिल्लो क्षेत्र लोमान्थाङदेखि तल्लो नाका घाँसासम्म आउजाउ गर्न पाउने गरि प्रशासनले खुला गरेको उनले बताए। प्रशासनलाई जानकारी दिएर व्यक्तिगत गाडिमा हिडडुल गर्न सक्ने उनले बताए।  

अर्को हिमाली जिल्ला मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले पनि जिल्ला भित्रिनमा कडाई गरेको र आउजाउ कम भएकोले जोखिम कम रहेको बताए। उनका अनुसार अहिलेसम्म मनाङमा भारतबाट नाँसो गाउँपालिकाका एकजना व्यक्ति मात्र आएको र उनी पनि क्वारेन्टिनमा बसेका छन्। ‘निकै नै कम संख्यामा मनाङका बासिन्दा भारत गएका छन्। काठमाडौं, पोखरा, लम्जुङ र चितवनमा बसाई अधिक छ,’ उनले भने, ‘एकमात्र नाकाबाट भित्रिन कडाई गरिएकोले पनि जोखिम कम छ।’ जिल्ला प्रवेशका लागि  एउटा मात्र नाका रहेको र ट्रान्जिट भएर अन्यत्र जान नमिल्ने भएकोले पनि संक्रमणको जोखिम कम रहेको उनले बताए।

 

प्रकाशित: २७ जेष्ठ २०७७ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App