१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आत्मदह प्रयास गर्ने सिद्धार्थको मृत्यु

जागिरबाट निकालिएपछि आत्मदहको प्रयास गरेका अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका २७ वर्षीय सिद्धार्थ आउजीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।  

न्याय हेल्थ नेपाल गैरसरकारी संस्थाद्वारा सञ्चाललित बयलपाटा अस्पतालमा दुई वर्षदेखि सफाइ कर्मचारीका रूपमा कार्यरत आउजीले सोमबार बिहान ८ बजेतिर अस्पताल परिसरमै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदहको प्रयास गरेका हुन् । उनलाई हेलिकप्टरमार्फत कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । बिहान ११ बजेतिर कोहलपुर ल्याइएका आउजीको बेलुकी पौने ५ बजेतिर मृत्यु भएको उपचारमा संलग्न डा. अनुप शर्माले बताए । ‘आउजीको शरीरको ७० प्रतिशत बढी जलेको थियो,’ उनले भने ।

गैरसरकारी संस्थाबाट सञ्चालित अस्पतालमा विदेशी दातृ निकायबाट सहयोग आउने गरेको थियो । यसपालि अनुदानमा कटौती भएको भन्दै अस्पताल प्रशासनले ३२ कर्मचारीलाई हटाइएको पत्र थमाएको थियो । जागिरबाट हटाइएको पत्र पाएका आउजीले आफूलाई नहटाउन पटकपटक प्रशासन समक्ष आग्रह गरिरहेका थिए । साँफेबगर नगरपालिका–६ का वडाध्यक्ष प्रेमराज शर्माका अनुसार आउजीले आफूलाई जागिरबाट नहटाइदिन आग्रह गरिरहेका थिए । अन्ततः उनले अस्पताल परिसरमै आत्मदहको प्रयास गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका आउजीका आमाबुबा रोजगारीका क्रममा भारतको मुम्बईमा छन् । आउजीका सात वर्षीय एक छोरा, १० महिनाकी एक छोरी र पत्नी छन् । गाउँमा पनि मिजासिला र सहयोगी भावनाका आउजी काममा लगनशील रहेको वडाध्यक्ष शर्माले बताए ।  

प्रकाशित: २७ जेष्ठ २०७७ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App