१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकका थप एकमा कोरोना पुष्टि

सिन्धुपाल्चोकमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ। योसँगै जिल्लामा संक्रमितको संख्या तीन पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ। भारतबाट फर्केर मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका इन्द्रावती गाउँपालिकाका २० वर्षीय युवामा कोरोना भेटिएको हो।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ती युवामा कोरोना संक्रमण रहेको पुष्टि गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए। ‘युवाको ट्राभल हिस्ट्री पत्ता लगाउँदै छौँ,’ उनले भने।  

यसअघि इन्द्रावती गाउँपालिका–१० का पुरुषमा कोरोना संक्रमण भेटिएको थियो। भारतबाट फर्केका उनी पनि मेलम्ची क्वारेन्टिनमै बसेको थिए। उनको राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। जिल्लामा कोरोना अस्पताल नभएपछि उनलाई त्यहाँ लगिएको थियो।  

जिल्लामा उनी दोस्रो संक्रमित थिए। दोस्रो र तेस्रो संक्रमित फरक समूहमा नेपाल आएका थिए। पहिलो संक्रमितको भने मृत्यु भइसकेको छ। मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी महिला थिइन्। मुलुकमा कोरोना भाइरसबाट ज्यान गुमाउने उनी पहिलो बिरामी हुन्।  

पछिल्लो समय सिन्धुपाल्चोकका भारतबाट फर्कँनेहरुको संख्या बढ्दो छ। पछिल्लो दुई साता बीचमा ७० भन्दा बढी भारतबाट फर्केर विभिन्न क्वारेन्टिनमा बसिरहेका छन्। क्वारेन्टिन बस्न थालेको पाँच दिनपछि पिसिआर परीक्षण गर्ने प्रवन्ध मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईँले बताए। उनीहरुमध्ये धेरैको पिसिआर परीक्षणका लागि थ्रोट स्वाब पठाइए पनि रिपोर्ट भने आइसकेको छैन।  

दोस्रो संक्रमितसँगै आएका अन्य चारमा कोरोना संक्रमण नभेटिए पनि उनीहरुलाई क्वारेन्टिनमै राखिएको छ। क्वारेन्टिन बसेको १४ दिनपछि गरिने अर्को पिसिआरबाट रिपोर्ट नेगेटिभ आए मात्रै उनीहरुलाई घर पठाइने छ। 

प्रकाशित: २५ जेष्ठ २०७७ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App