७ वैशाख २०८१ शुक्रबार
समाज

मालपोत, नापी खुल्यो

कोरोना भाइरसको संक्रमणका कारण ७५ दिनदेखि बन्द रहेका मालपोत, नापी तथा भूमि सुधारका कार्यालय आज(आइतबार)बाट खुल्ने भएका छन् । भूमि व्यवस्था विभागले शुक्रबारै मातहतका कार्यालयलाई आन्तरिक सर्कुलर गरी आइतबारदेखि आन्तरिक प्रशासन तथा अत्यावश्यकीय सेवा सुरु गर्न निर्देशन दिएको हो ।

मालपोत तथा भूमि सुधार कार्यालयका कर्मचारीलाई कार्यालयमा उपस्थित गराउन पनि कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ । लकडाउन सुरु भएदेखि यी कार्यालय बन्द भएका छन् । ‘सेवाग्राहीहरूलाई सेवा दिन तयारी अवस्थामा रहन हामीले सबै कार्यालयलाई निर्देशन दिएका छौ’, भूमि व्यवस्था विभागका महानिर्देशक शेषनारायण पौडेलले भने, ‘भूमि व्यवस्था मन्त्रालयबाट निर्देशन आउनेबित्तिकै सेवाग्राहीलाई सेवा दिन सुरु गर्छौ ।’

विभागले जारी गरेको आन्तरिक सर्कुलरमा ‘हालका लागि आन्तरिक प्रशासन, न्यूनतम मूल्यांकन मुआब्जा, अड्डा अदालत जस्ता कार्य सुचारु गर्न अनुरोध गरिन्छ,’ भनिएको छ ।

नापी विभागले पनि भूमि व्यवस्था मन्त्रालयबाट निर्देशन आउनेबित्तिकै सेवाग्राहीलाई सेवा दिन नापी कार्यालय तयार रहेको जनाएको छ । विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सेवा दिन नापी कार्यालयहरू तयार रहेको जनाउँदै यसका लागि मन्त्रालयलको निर्देशन पर्खेको बताए । हाल देशभर १ सय ३१ वटा मालपोत तथा नापी कार्यालय छन् । तीमध्ये १ सय २६ सुचारु अवस्थामा छन् ।

सरकारले लक डाउन घोषणा गरेपछि मालपोत, नापी तथा भूमि सुधार कार्यालय बन्द भएका हुन् । कार्यालय बन्द भएपछि अधिकांश सरकारी कर्मचारी घरमै बस्ने गरेका छन् ।

प्रकाशित: २५ जेष्ठ २०७७ ००:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App