२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरामा पाँच हजार कोठाको क्वारेन्टिन तयारी

पोखरा लेकसाइडका होटल। विदेशबाट फर्केका नेपालीलाई यहाँका होटलमा क्वारेन्टिनमा राख्ने तयारी सुरु भएको छ। तस्बिर: सन्तोष/नागरिक

कोरोना भाइरस संक्रमणको चपेटामा परेर विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई क्वारेन्टिनमा राख्न पोखराका होटलसँग पाँच हजार कोठा माग गरिएको छ। सरकारले पोखरा महानगरपालिकालाई होटलमा पाँच हजार कोठा व्यवस्थापन गर्न जिम्मा दिएको हो।  

पश्चिमाञ्चल होटल संघ र पोखरा महानगरपालिकामार्फत अहिले होटल व्यवस्थापनको थालनी भइसकेको छ। संघका अध्यक्ष विकल तुलाचनका अनुसार पहिलो चरणमा पाँच हजार कोठा व्यवस्थापन गर्ने तयारी भइरहेको बताए। ‘पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाले हामीसँग पाँच हजार कोठा माग गरेका छन्। हामीले पनि त्यही अनुसार सदस्य होटललाई जानकारी दिएका छौं,’ तुलाचनले भने, ‘होटलको समस्या हुँदैन। व्यवस्थापन कसरी गर्ने भन्ने मात्र हो।’  

अहिले पोखराका धेरै होटल बन्द छन्। पाहुना नभए पनि केही होटलले सीमित कर्मचारी राखेर व्यवस्थापन गरिरहेका छन्। त्यसैले कर्मचारी अभावमा सबै होटलले सेवा दिन सक्ने अवस्था पनि छैन। तर विदेशबाट फर्किएका ती नेपालीलाई क्वारेन्टिनमा राख्दा खाना र बासको व्यवस्थापन गर्नेगरी होटललाई आह्वान गरेको तुलाचनले बताए। ‘विदेशबाट फर्किदा नै स्वास्थ्य परीक्षण गराएर आएका हुन्छन्। काठमाडौंमा पनि आरडिटी परीक्षण गर्ने भनिएको छ,’ उनले भने, ‘तर यात्राको क्रममा कसैलाई संक्रमण हुन सक्छ। त्यसैले उनीहरूलाई दुई साता क्वारेन्टिनमा बस्न लगाउने तयारीअनुुसार व्यवस्थापन गर्न थालिएको हो।’  

होटललाई क्वारेन्टिन बनाउँदा सकेसम्म ठुला आकारका पूर्वाधारलाई प्रयोग गर्न लगाउने तयारी भएको पनि उनले बताए। ‘छरिएका भन्दा एकै ठाउँमा रहेका धेरै होटलमा विदेशबाट फर्केका नेपालीलाई राख्न सकिन्छ। त्यसले गर्दा समुदायमा संक्रमण फैलिन पाउँदैन,’ उनले भने, ‘चारैतिर छरिन नदिने गरी सीमित क्षेत्रभित्रका होटलमा व्यवस्थापन गर्न सकेमा समुदाय सुरक्षित हुन्छ। यसबाट धरासयउन्मुख होटल व्यवसायलाई पनि केही राहत हुन्छ।’  

क्वारेन्टिनका रूपमा होटलमा बसेका नेपाली नागरिकले १४ दिने अवधिको बसाइ र खानपिनको खर्च आफैंले बेहोर्नुपर्ने हुन्छ। लामो समय बस्नुपर्ने र अनावश्यक खर्च हुने भएकाले सकेसम्म सस्तो मूल्यका होटल व्यवस्थापन गर्ने पनि उनले बताए। ‘कोठाको एक दिनको मूल्य न्यूनतम एक हजार पाँच सय रुपैयाँभन्दा माथि पर्नेछ। त्यसरी फर्किनेमा अधिकतर मजदुरी गर्न गएका युवाहरू हुने भएकाले पनि उनीहरूलाई सस्तोमा बसाउने पहल भइरहेको छ,’ उनले भने, ‘ठुला आकारका होटलमा बसाएर बढी खर्च गराएर मात्र हुँदैन। यो खर्च अनावश्यक पनि हो।’  

विदेशबाट फर्केका नागरिक भन्दैमा अनावश्यक खर्च गराउन जरुरी नभएको भन्दै सकेसम्म मझौला आकारका होटललाई क्वारेन्टिन बनाउन चाहेको अध्यक्ष तुलाचनले बताए। ‘न्यूनतम एक हजार पाँच सय र बढीमा दुई हजार पाँच सय रुपैयाँसम्मको कोठा खोज्ने हो,’ उनले भने। होटलमा बसेका ती नागरिकलाई बिहान नास्ता, खाना, दिउँसो नास्ता र बेलुकी खाना होटलले नै खुवाउनुपर्ने पनि उनले बताए।  

विदेशबाट फर्केका नागरिकलाई क्वारेन्टिनको रूपमा राख्न इच्छुक होटललाई महानगरमा सूचीकृत हुन आह्वान गरेको पनि अध्यक्ष तुलाचनले बताए। ‘हामीले एक चरणको सुझाव महानगरलाई दिएका छौं,’ उनले भने, ‘क्वारेन्टिन बनाउन इच्छुक होटललाई सूचीकृत हुन आह्वान गरेअनुसार आएका नागरिकलाई होटलमा राखिनेछ।’  

महानगरका मेयर मानबहादुर जिसीले पनि विदेशबाट फर्केका नागरिकलाई राख्न आफैंले पैसा तिर्नेगरी होटललाई क्वारेन्टिन बनाउने तयारी भइरहेको बताए। ‘विदेशबाट फर्केका नेपालीलाई राख्न पाँच हजार कोठा व्यवस्थापन गर्न सरकारले आग्रह गरेको छ। पोखराले पाँच हजार व्यक्ति सेटल गर्ने जिम्मा पाएको छ,’ मेयर जिसीले भने, ‘गण्डकी प्रदेशकै मान्छे आउने हुन्। उनीहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा राख्ने हो।’  

क्वारेन्टिन बनाउन चाहेका होटललाई सूचीकृत हुन तीन दिनअघि नै महानगरले सुचना जारी गरिसकेको मेयर जिसीले बताए। ‘हामीले तीनदिन अघि सूचना जारी गरेर इच्छुक, कम्तीमा १५ कोठा भएका होटललाई सूचीकृत हुन भनेका छौं,’ उनले भने, ‘केही होटल सूचीकृत हुन आइसकेका छन्। तर अहिले नै नेपालीहरू फर्किसकेका छैनन्।’

विदेशबाट फर्केका नेपाली नागरिक बस्ने होटल डिस–इन्फेक्सन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापनसहित विशेष मापदण्ड तय हुने उनले बताए। उनका अनुसार एक कोठमा बढीमा दुई जना बस्ने गरी व्यवस्थापन गर्न थालिएको छ। तर कतिपयले समूहमा आएर एकै ठाउँ बस्न चाहे त्यहीअनुसार व्यवस्थापन हुने उनको भनाइ छ।  

होटल संंघका केन्द्रीय सदस्य भरतराज पराजुलीले महानगरपालिका र होटल व्यावसायी मिलेर मापदण्ड पूरा गरेका होटलमा ती पाहुना राख्न सकिनेबारे छलफल गरेको बताए। पराजुलीका अनुसार क्वारेन्टिन बन्न होटलमा कम्पाउन्ड हुनु अनिवार्य गरिएको छ। ‘समाजमा पनि संक्रमण फैलिनुभएन। सकेसम्म एकै ठाउँमा धेरै अट्न सक्ने क्षमता भएमा राम्रो हुन्छ। समाजलाई पनि असर पर्नुभएन,’ पराजुलीले भने, ‘सबैतिर सुरक्षा मापदण्ड तय हुनुपर्छ। स्वास्थ्य र सुरक्षा महŒवपूर्ण हुन्छ।’

प्रकाशित: २३ जेष्ठ २०७७ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App