१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।

१४ दिन क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हासेगाउँका २० वर्षीय कृष्ण तारामीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो।  

भारतको मुम्वईमा मजदुरी गर्दै आएका तारामी जेठ आठ गतेदेखि पञ्चपुरीस्थित विद्यापुर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका थिए। १४ दिन अवधि पुरा भएपछि बुधबार ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको थियो। ‘आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनीसहित गाउँका पाँच जनालाई घर पठाइएको थियो,’ सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले भने, ‘रातिनै मृत्यु भएपछि बिहीबमार स्वाब संकलन गरेका थियौं, पोलिमेरीज चेन रियाक्सन (पीसीआर) रिपोर्ट पोजेटिभ आएको छ।’

कोरोना संक्रमणबाट मृत्यु भएका तारामीसहित गाउँका पाँच जना युवाहरुलाई दिउँसो तीन बजेतिर घर पठाइएको थियो। पाँचै जना युवासँगै मृतकका दाजु पनि राति मुल घर नजिकै रहेको मौरीघार राखिएको घरमा बसेका थिए। ‘मध्यराति सास फेर्न गाह्रो भयो भन्यो,’ उनीसँगै रहेका एक युवाले भने, ‘अस्पताल लिने तयारी गर्दै थियौं मृत्यु भयो।’ बिहीबार पञ्चपुरी नगरपालिकाका स्वास्थ्यकर्मीले घरमै पुगेर मृतकको स्वाब संकलन गरेका थिए।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ। कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआरमा उनमा कोरोना संक्रमण देखियो।

जनस्वास्थ्य शाखा प्रमुख कँडेलले भारतदेखि घर पुग्दासम्मको उनको ट्राभल हिष्ट्री संकलनको काम भइराखेको बताए। ‘उनीहरुसँगै भारतबाट आएका, क्वारेन्टिनमा रहेका र घर पुग्दासम्म सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी सुरु गरिएको छ,’ कँडेलले भने, ‘सबैको स्वाब संकलन गरेर पीसीआर गर्ने तयारीमा छौं।’  

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या योसँगै ११ पुगेको छ। कर्णालीमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुने दुई पुगेका छन्। यसअघि दैलेखमा एक युवकको क्वारेन्टिनमै कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको पनि मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: २३ जेष्ठ २०७७ ०२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App