१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘संक्रमण नफैलिएको जिल्लालाई पनि संक्रमित सूचीमा राख्दा आतंक फैलियो’

कोभिड–१९ का प्रभावित तथा निको भएकाहरुको तथ्याङ्क सार्वजनिक गर्न बुधवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले संक्रमित जिल्लाहरुको सूची थप भएको भन्दै ताप्लेजुङ र पाँचथरको समेतको नाम लिए । कोभिड–१९ का बारेमा बिस्तृत जानकारी दिने नेपालकै आधिकारिक निकायका प्रवक्ताबाट आएको यो भनाई पछि ताप्लेजुङ र पाँचथरमा पनि कोरोना संक्रमित फेला परेको हल्ला सनसनी बन्यो । सामाजिक सञ्जाल रंगिए ।  

बिहीबार बिहानबाट त कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई स्थिति के हो भनेर तथ्यगत अवस्था सार्वजनिक गर्न पेचिलो दबाब पर्‍यो । कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन अहिले सम्म ताप्लेजुङमा कोरोना संक्रमितको नभेटिएको बरु स्वास्थ्य मन्त्रालयको असवाधनीले प्रस्तुत भएको तथ्याङ्कपछि भने मानिसहरुमा त्रास फैलिएको बताउँछन् ।  

ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमित फेला नपरेको भन्दै उनले हल्लाको पछि नलाग्न र सावधानी अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार अहिले सम्म ताप्लेजुङका ६२ जनाको पीसीआर र ५ सय ८३ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ । निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले अहिले सम्म ताप्लेजुङमा कोरोना संक्रमणको कुनै संकेत नभएको बताए । बिहीबार मात्र बिभिन्न क्वारेन्टिन व्यवस्थापनमा खटिएका,कोभिड–१९ का बिरुद्ध अग्रभागमा रहेर काम गर्नेहरुको स्वाब संकलन गरिएको छ ।  

ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले संकलित स्वाब परीक्षणका लागि धरानतर्फ पठाउने तयारी भईरहेको बताए ।‘अहिले सम्म ताप्लेजुङमा कोरोना संक्रमित भेटिएको छैन’उनले भने । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सुनसरीको भोक्राहामा रहेका ताप्लेजुङका ५१ जना शुक्रवार फुङ्लिङ आई पुग्ने बताए । भारत गएर घर फर्किएका उनीहरुको सबैको भोक्राहाबाटै पीसीआर परीक्षण भई नतिजा नेगेटिभ आई सकेको छ । झापाको बुद्धशान्ति गाउँपालिका स्थित बुद्ध आर्दश माध्यमिक बिद्यालयको क्वारेन्टिनमा रहेका मध्ये ताप्लेजुङका ३ र पाँचथरका १ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।  

तर त्यो परीक्षण झापामै गरिएको थियो र संक्रमण पुष्टी भएपछि त्यहिँ क्वारेन्टिनबाट उपचारका लागि धरानतर्फ लगिएको कोरोना नियन्त्रण तथा व्यवस्थाप समितिले जनाएको छ ।‘संक्रमित ३ जना ताप्लेजुङका नागरिक हुन् तर,उनीहरुको कोरोना संक्रमण पुष्टी झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टिनमा भएको हो’ कोरोना नियन्त्रण तथा व्यवस्थाप समिति संयोजक मादेनले भने । नागरिक जुन जिल्लाको भएपनि कुन जिल्लामा संक्रमण पुष्टी भएको हो,संक्रमितको संख्या उहिँ जिल्लामा थप हुनुपर्नेमा मन्त्रालयको गलत सन्देशले ताप्लेजुङको जनमानसमा अनावश्यक त्रास फैलिएको उनले बताए । मादेनले गलत तथ्याङ्क सच्याउन उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरेका छन् ।  

भारतकै नागरिक नेपालमा संक्रमित भएको अवस्थामा पनि संक्रमित संख्या नेपालमै जोडिए जस्तै अवस्थाको चित्रणलाई बुझ्न मादेनले मन्त्रालयलाई अनुरोध गरेका छन् । पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दीपक नेपाल मन्त्रायले पाँचथरको नाम समेत संक्रमित जिल्लाको सूचीमा दर्ज गरेर पाँचथरमा समेत अनावश्यक भ्रम सृजना गरेको बताउँछन् ।‘झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टिनमा रहेका पाँचथरका १ जना नागरिक कोरोना संक्रमित भेटिएका हुन्,तर पाँचथरमै भेटियो भनेर थप आतंकित बनाउने कोशिस गरियो’नेपालले टेलिफोनमा नागरिकन्युज संग भने ।

उनले गलत तथ्याङ्क तत्काल सच्याएर आतंकित भएको ताप्लेजुङ र पाँचथरको जनजीवन सामान्य बनाईदिन स्वास्थ्य मन्त्रालयको ध्यानकर्षण गरेका छन् । संक्रमित नभएका जिल्लालाई पनि संक्रमणको सूचीमा राख्दा जनमानसमा त्रास र आतंक पैदा हुने उनले बताए ।

प्रकाशित: २२ जेष्ठ २०७७ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App