१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच दिनमै कोरोना संक्रमित दोब्बर

पछिल्लो समय तीव्र गतिमा बढेपछि पाँच दिनमै कोरोना संक्रमितको संख्या दोब्बर भएको छ। जेठ १५ गते कोरोना संक्रमितको संख्या १ हजार ४२ थियो। मंगलबार संक्रमितको संख्या २ हजार ९९ पुगेको छ। यीमध्ये २ सय ८८ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन्।  

कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ पुरुष र १ सय ५० जना महिला भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।हालसम्म २ सय ६६ जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ।

मंगलबार सबैभन्दा बढी प्युठानमा ५९ जना संक्रमित थपिएका छन्। यस्तै रौतहटमा ३६,सुर्खेतमा २७,सर्लाहीमा २१,सल्यानमा १८, सिरहा, बाँके र दाङमा १७–१७,रुपन्देही, अछाम र कैलालीमा १०–१०, दैलेखमा ९ र कञ्चनपुरमा ८ जना संक्रमित थपिएका छन्। धनुषामा ६, स्याङ्जा र पर्वतमा पाँचपाँच, काठमाडौंमा चारजनामा संक्रमण पुष्टि भएको छ। यस्तै बर्दिया, कपिलवस्तु, नुवाकोट, महोत्तरी, भक्तपुर, धादिङ, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी, सप्तरी र बारामा पनि संक्रमित थपिएका छन्। पर्वतमा पहिलोपटक मंगलबार संक्रमित देखिएपछि कोरोना ६१ जिल्लामा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्ला दिनमा भारतबाट नेपाल प्रवेश गर्ने र क्वारेन्टिनमा बस्नेको संख्या बढेसँगै संक्रमिताको संख्या पनि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए। क्वारेन्टिन अव्यवस्थित हुँदा त्यहींभित्र तीव्ररुपमा संक्रमण फैलिएको हुन सक्ने बताउँदै देवकोटाले भने, ‘क्वारेन्टिन व्यवस्थापन गर्ने जिम्मा स्थानीय र प्रदेश सरकारको हो, क्वारेन्टिन गुणस्तरीय हुनुपर्छ।’ क्वारेन्टिन व्यवस्थित बनाउनसुरक्षा निकाय,प्रदेश सरकार र स्थानीय सरकारको समन्वय चाहिने उनले बताए।

हालदेशभरिमा १ हजार ८ सय २५ जना आइसोलेसनमा र १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टिनमा छन्।  

मंगलबार ४५ जना निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा शिक्षण अस्पताल महाराजगन्ज र गुल्मी जिल्ला अस्पतालबाट एकएक,भीम अस्पताल भैरहवाबाट २५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना छन्।

प्रकाशित: २१ जेष्ठ २०७७ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App