९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जब आयो सलह...

बाल्यकालमा सलह धपाएका च्यास्मीटार खनियाखर्कका ८७ वर्षीय अगमबहादुर राई । तस्बिर सौजन्य : जीवन राई

जब आयो सलह पहेलो र रातो,
           छानामा बसेर खायो डाँडाभाटो ।
खोटाङका कतिपय बुढापाकाको मुखमा यो सवाई अहिले पनि झुण्डिरहेको छ । सलहको प्रशंग आउँदा ८० देखि ८५ वर्षमाथि उमेरका वृद्धवृद्धाले यो सवाई भाका मिलाएर सुनाउने गरेका छन् । अकस्मात बथानका बथानमा आएका सलहले कतिसम्म दुःख दिन्छ वा दिएको थियो भन्ने पीडा यो सवाईबाट बुझ्न सकिन्छ । अफ्रिकी देशमा पाइने सलह हाल भारतको पञ्जाव, महाराष्ट्र र दिल्ली हुँदै नेपालसम्म आउने चर्चा चल्न थालेपछि गाउँघरका वृद्धवृद्धा आजभन्दा सात दशकअघि सलहले मच्याएको उत्पातलाई दन्त्यकथाझैं सुनाउँछन् ।  

बिक्रम संवत १९९० साल बैसाख १० गते जन्मिएका हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार खनियाखर्कका अगमबहादुर राई ८/९ वर्षका थिए । बाबुबाजेबाट उनले गाउँमा सलह आएको, अन्नपात, बोटबिरुवा सखाप बनाएको किस्सा सुनिसकेका थिए । नभन्दै बिक्रम संवत १९९८/०९९ सालमा गाउँमा आकाश ढाक्नेगरी सलह आएको राईले बताए । उसबेला टाढाबाट चिचिमिरा उँडेजस्तै देखिने सलह पश्चितर्फ (भुम्जुडाँडा)बाट उत्तर (च्यास्मीटार टारगाउँ)तर्फ गएको उनी सम्झना गर्छन् । टाढाबाट भुरुरुरु चिचिमिराजस्तो उँडेको देखिए पनि नजिकबाट हेर्दा ठूलो फटेंग्राजस्तो सलह कुनै रातो, कुनै पहुेँलो र कुनै रागे–रागे रंगको देखिन्थ्यो । ‘हामी केटाकेटी थियौं । मध्य घामको उज्यालो नै धमिलो पार्नेगरी चिचिमिराजस्तै गरी उँडेर आयो, सबैले सलह आयो–सलह आयो भन्दै हल्ला गरे,’ ८७ वर्षीय राईले भने, ‘नजिक गएर हेर्दा कुनै रातो–रातो खालको, कुनै पहुँलो–पहेँलो खालको कुनै रागे–रागे खालको ठूलठूला फटेंग्रा थियो । उँडेर आएर रुखपात ढाकेर बस्थ्यो । बसेको एकैछिनमा रुखपात झ¥याझुरुप खाइसक्थ्यो ।’

हिउँदको याम थियो । सुक्खा क्षेत्र भएकाले बारीमा हिउँदे बाली थिएन । रुखपात मात्र थियो । घर वरपर, केरा, बाँस जस्ता बोटविरुवा र जंगलमा भएका साल, भर्ला जस्ता रुखमा बसेको सलहले रुखबिरुवालाई एकैछिनमा पतझडजस्तै बनाइदिन्थ्यो । रुखबिरुवाका हरियाली पात निमिट्यान्न पारेर मरुभूमी नै बनाइदिन्थ्यो । तर, आकाश नै ढाक्नेगरी उँडेर आएको सलह गाउँमा दिन विताएर बसेनन् । एकातर्फबाट उँडेर आउने, केहीबेर बिसाउने र हरियाली पात र मुन्टा खाएर फेरी गोलवद्ध भएर एकै दिशातिर गएको राईले बताए । ‘एकतिरबाट आएको आयै गर्ने, केहीबेर बस्ने र फेरी उँडेर जान्थ्यो । बासै बसेर खाएको भए त केही बाँकी राख्थेन होला’ उनले भने, ‘त्यसपछि आजसम्म यसरी सलह आएको थाहा पाएको छैन ।’ गाउँमा सलह आएको र २००१ सालमा बाक्लो हिमपात भएको राई जीवनका अविस्मरणीय क्षण हुन् ।  

आजभन्दा सात÷आठ दशकअघि पनि सलहले सवथोक विनास गर्छ, अन्नवाली खाइदिएर भोकमरी निम्त्याउँछ भन्नेमा बाजेपुर्खा जानकार थिए । त्यही भएर उसबेला अगमबहादुरले साथीभाईसँग मिलेर भुईमा वा पोथ्रामा बसेका सलहलाई मार्ने र धपाउने प्रयत्न गरे । तर, लामो लट्ठी लिएर नजिक पुगेर हान्न लाग्दा सलह उँडेर जान्थ्यो । सलहले बास बसेका ठाउँमा रुखका पात र मुन्टा बाहेक हाँगादेखि फेदसम्मका छाला समेत खाएर जाने गरेको बाबुबाजेले सुनाएको उनी बताउँछन् । कतिसम्म भने घरको छानामा बसेको सलहले घरको डाँडाभाटा समेत खाइदिन्थ्यो रे । घरको डाँडाभाटा खाइदिएको प्रशंगलाई पुर्खाले सवाईमार्फत उल्लेख गर्ने गरेका छन् ।  

बसेर अन्नबाली र वनस्पती बिनास गर्न थालेपछि कतिपय ठाउँमा सलहलाई भुटेर र पोलेर खाएको प्रशंग सुनेको अगमबहादुरले बताए । उनलाई पनि बाबुबाजेले चिचिमिरालाईजस्तै सलह मारेर खान मिल्ने बताएका थिए । तर, अगमबहादुरले सलह मार्न भने नसकेको बताए । उनका अनुशार सलह चलाख थियो । लट्ठीले लाग्न नपाउँदै सलह उँड्थ्यो । त्यो बेला सलहको सामना गर्ने बुढापाका अहिले पनि भेटिन्छन् । उसबेला छाडिएको सलह हिजोआज पनि जंगल र अन्नबालीमा भेटिने गरेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राईले बताए । ‘प्रत्यक्ष देखेको होईन, मैले पनि बाजेपुर्खाबाट सुनेको पहिला सलह आएको थियो रे,’ वडाध्यक्ष राईले भने, ‘त्यो बेला समुहबाट छुटेको सलह फटेंग्रा अहिले पनि फाट्टाफुट्ट भेटिन्छ । अलि रुप परिवर्तन भएको देखिन्छ ।’  

 

 

प्रकाशित: २० जेष्ठ २०७७ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App