६ वैशाख २०८१ बिहीबार
समाज

लकडाउनमा नौबिसे–नागढुङगा सडकखण्ड मर्मत

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नौबिसे–नागढुङगा सडकखण्ड मर्मतको काम धमाधम भइरहेको छ। चौबिसै घण्टा व्यस्त रहने सडकखण्ड लकडाउनको मौका छोपेर मर्मत गरिएको छ। सडक भत्किएको ठाउँमा मर्मत संम्भार, कालोपत्रे र अप्ठ्यारो मोडहरु कटिङ गर्ने कार्यलाई तीब्रता दिएको छ। लकडाउनको समयमा अति आवश्यक सवारी मात्र सडकमा गुड्न पाउने भएका कारण सडक मर्मत सुधारका लागि यस पटक गाडी रोक्नु पर्ने अवस्था छैन।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन चैत्र ६ गतेबाट शैक्षिक संस्था बन्द गराएपछि काठमाण्डौबाट बाहिरिनेको संख्या १० लाख भन्दा बढी रहेको अनुमान गरिएको छ। बाहिरिएका मध्ये ८० प्रतिशत मानिस नागढुंगा सडक मार्ग भएर बाहिरिएको अनुमान गरिएको छ। लकडाउन खुलेपछि ती मानिसहरु पुन काठमाण्डौ फर्कदा हुन सक्ने सम्भावित ट्राफिक जामलाई ध्यानमा राखि लकडाउनको समयमा सडक मर्मत सुधार गर्ने काम तीब्र गतिमा भइरहेको छ।  

शिवाको कन्ट्रक्सन र प्रतिष्ठा कन्ट्रक्सनको संयुक्त साझेदारीमा मोड कटिङ, वाल लगाउन र कालो पत्रे मर्मत गर्ने काम भ्याटसहित सात करोड ६० लाख भएको सडक डिभिजन कार्यालय भरतपुर साइड अफिस गजुरीका इन्जिनियर कृष्ण खड्काले बताए। ‘चैत्र पहिलो हप्ता मात्र ठेक्का सम्झौता भएपनि कन्ट्रक्सनले कामलाई तीब्रता दिएको छ’ उनले भने, ‘यहि गतिमा काम भईरहे जेठ महिना भित्र मर्मत सुधार गर्ने काम सकिन्छ।’  

सडक खाल्टाखुल्टी र भत्केका स्थानमा कालो पत्रे गर्ने काम भइरहेको प्रतिष्ठा कन्ट्रक्सनका साइड इन्चार्ज विजय अधिकारीले बताए। ‘अहिले गरेको नियमित कालो पत्रे नभई बिग्रेको भत्केको स्थामामा मात्र मर्मत सुधार गर्ने काम हो’ उनले भने, ‘नौविसे देखि नागढुंगासम्म आवश्यकता अनुसार कालोपत्रे गरिने छ, जेठ मसान्तसम्म सुधारको काम सकिन्छ।’  

४० वर्ष अघि तत्कालिन अवस्थामा रहेको मालवाहक तथा यात्रुवाहक गाडीको भारवहन क्षमतालाई अनुमान गरेर निर्माण गरेको सडक हो त्रिभुवन राजपथ। अहिले सडकको भारवहन क्षमता भन्दा निकै बढी क्षमता र लामो लामो मालवहान गाडी गुड्छन््। उकालो सडकमा क्षमता भन्दा बढी भार बोकेका गाडी र सडकको घुम्ती भन्दा लामो गाडी बिग्रेर प्रायः जसो जाम हुने गर्दछ। सडकको भारवहन क्षमता भन्दा बढी क्षमताका मालवहाक गाडी ग्ड्दा कोलो पत्र्रे  भत्कन्छ र सडक खाल्डाखुल्डी हुन्छ। देशभरका विभिन्न जिल्लाबाट काठमाडौँ छिर्ने मुख्य नाका नै यहि सडकखण्ड भएका कारण अन्य समयमा सवारी चापका कारण मर्मतमा कठिनाई हुने गथ्यो। 

प्रकाशित: २० जेष्ठ २०७७ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App