१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउन खुकुलो भएपछि पुनः कडाई

उदयपुरमा केहीदिनयता लकडाउन खुकुलो भएको ठान्दै चहलपहल बढेपछि प्रहरीले पुनः कडाई गर्न थालेको छ । सरकारले लकडाउन आउदो ३२ गतेसम्म थप्ने निर्णय गरे पनि बजारमा पैदल र सवारी चलाउनेको संख्या बढेपछि प्रहरीले पुनः कडाई गर्न थालेको हो ।  

वैशाखभर कोरोनाको इपिसेन्टर बन्न पुगेको त्रियुगा नगरपालिका ३ भुल्केमा पछिल्लो दुईसाता नयाँ संक्रमित नदेखिएपछि कोरोना नियन्त्रण भएको निश्कर्ष निकालिदै गर्दा केहीदिनयता बजारका झण्डै एकतिहाई पसल दोकान खुल्नुका साथै चहलपहल निकै बढेको थियो । पैदल र सवारी दुवैको आउजाउ बजारमा ह्वात्तै बढेपछि प्रहरीले ठाउँठाउँमा गस्ती खटाएर नियमन गर्न थालेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले लकडाउनको अवधिमा अत्यावश्यक कामको सिलसिलामा मात्र बाहिर निस्कन र सवारी चलाउँदा अनिवार्य अनुमतिपत्र (पास) को व्यवस्था गर्नुपर्ने नियम भए पनि उल्लंघन गर्ने क्रम बढेपछि कडाई गर्न बाध्य भएको बताए । उनले सोमबार विहानदेखि ५ दर्जन हाराहारी मोटरसाईकल, स्कुटी र अन्य सवारी साधन नियन्त्रणमा लिइसकेको बताए । आईतबार मात्र ७७ थान मोटरसाईकल र स्कुटी नियन्त्रणमा लिइएको थियो ।  

त्यस्तै एउटा कार, ३ ट्याक्टर र बिभिन्न २६ सवारी साधनका चावी पनि नियन्त्रणमा लिइएको उनले बताए । लकडाउनमा विना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बँच्न गरिएको आग्रह लत्याउँदै विना काम बजार घुम्न, आफन्त भेट्न र रमाईलो गर्न निस्कने तथा पास नलिई सवारी चलाउने गरेको पाइएपछि त्यस्ता सवारी साधन नियन्त्रणम लिनु परेको हो ।  

धेरै लामो प्रयासले भुल्केमा कोरोना नियन्त्रणतर्फ आउने संकेत देखिएका बेला जथाभावी चहलपहल बढ्दा संक्रमण फैलिने संभावना भएकाले कडाई गर्नुपरेको प्रहरी भनाई छ । उदयपुरमा वैशाख ५ देखि जेठ ३ गतेसम्ममा एक पत्रकारसहित ३३ जना संक्रमित फेला परेका छन् । जसमध्ये पहिलोपटक ४ र पछिल्लो पटक ८ गरी १२ जना निको भएर घर फर्किसकेका छन् । उनीहरुलाई त्रियुगा क्याम्पस मोतिगडाको क्वारेन्टिनमा राखिएको छ ।  

 

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०८:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App