१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश २ मा संक्रमित बढ्दै, परीक्षण सुस्त

भारतबाट फर्केका नेपालीहरु राखिएको सिरहाको ब्रझ मावि क्वरोन्टिन। तस्विरः नागरिक

कोरोना भाइरस (कोभिड–१९) ले अन्य प्रदेशलाई संक्रमित बनाइसक्दा चैतको अन्तिम सातासम्म प्रदेश २ ‘ग्रिन जोन’ मै थियो। चैत २८ गत्ते वीरगंजमा तीन जना भारतीय नागरिकहरुमा संक्रमण देखिएपछि प्रदेश २ एकाएक तरंगित भयो। त्यसयता शनिबारसम्म ५५४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रदेश २ स्वास्थ्यसम्बन्धी पूर्वाधार, जनशक्ति र अन्य मानकमा निकै कमजोर छ। यस्तो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथाम गर्न हम्मे हुने चिन्ता सरकारवालाको छ। अहिलेसम्म संक्रमित व्यक्तिहरु अधिकांश भारतबाट आएका हुन्। उनीहरूलाई क्वारेन्टाइनमै रहेको अवस्थामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ। यस हिसाबले संक्रमण समुदायमा फैलिनसकेकोे अनुमान गरिएको छ। यद्यपी क्वारेन्टाइनको भद्रगोल अवस्थाले ठूलो समूहमा संक्रमण फैलिन सक्ने चिकित्सक बताउँछन्। सम्भावित संक्रमितहरु गाउँ–गाउँको क्वारेन्टिनमा पुगेका छन। रोकथामका लागि सावधानीमा कुनै ख्याल गरिएको छैन। क्वारेनिटनमा बसेकाहरु समुहमै  हसिमजाक गर्ने देखि सुर्ती माडेर बाँडेर खाने गरिरहेका छन। जिल्ला अस्पताल सिरहाका प्रमुख डा.नागेन्द्र यादव भन्छन्, ‘क्वारेन्टाइनभित्रै संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै मुस्कल पर्छ। क्वारेन्टिनमा असावधानीले संक्रमण फैलिए हाम्रो स्वास्थ्य पूर्वाधारले धान्न मुस्किल छ।’ पर्याप्त परीक्षण, आइसोलेसन कक्षको दायरा नबढाएसम्म संक्रमण व्यवस्थापन गर्न गाह्रो पर्नेबाला छ, उनले भने।

भारतले रेल तथा बससेवा सुरु गरेपछि त्यहाँ रहेका प्रदेशबासी फर्किन सुरु गरेका हुन्। प्रदेश प्रहरी कार्यालय जनकपुरकाअनुसार शनिबारसम्म १९ हजार ४ सय ६८ जना व्यक्ति प्रवेश गरेका छन्। शनिबार मात्रै १ हजार १ सय २३ जना प्रवेश गरेको कार्यालयका प्रहरी निरीक्षक तिलक सुनवारले बताए। प्रदेश २ सरकारले यस प्रदेशमा भारतबाट मात्र २ लाख प्रदेशवासी फर्किने अनुमान गरेको छ।  

जेठ १४ गत्ते प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले प्रधानमन्त्री केपी ओलीलाई लेखेको पत्रमा यस प्रदेशमा १० लाख मानिस फर्किने उल्लेख गरेको छ। यस प्रदेशबाट गत्त वर्ष एक लाख २५ हजार मानिस वैदेशिक रोजगारमा गएको तथ्यांक छ। यसमा भारततर्फ गएकाहरुको तथ्यांक समेटिएको छैन।

यती ठूलो संख्या प्रदेश भित्र प्रवेश गरिरहँदा सरकारले सावधानका उपाय लवलम्बन गरेको पाइदैन। सीमामा ठूलो क्षमताको ‘होल्डिङ स्टेसन’ निर्माण गरी प्रवेश गर्नेहरुलाई क्वारेन्टिन गर्नुपर्ने तर्क प्रदेशसभा सदस्य जगत प्रसाद यादवको छ। उनी भन्छन्,‘ सीमामा क्वारेन्टिन गरेर परीक्षणपछि मात्र गाउँ पठाउनुपथ्र्यो। तर, भारतबाट फर्किने नेपाली नागरिकलाई सीमाको क्वारेन्टिनमा रोक्न असफल भयो। प्रदेश सरकार सीमामा क्वारेन्टिन बनाउन नसक्दा जोखिम सिधै प्रदेशका गाउँ–गाउँ पुगेको छ।  

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार गरेको अपडेटअनुसार प्रदेशभर क्वारेन्टिनको बेड संख्या २५ हजार ३ सय २२ छ। तर, स्थानीय तहले बनाएका ती क्वारेन्टिानको अवस्था यति नाजुक छ कि त्यहाँ संक्रमण झन् बढ्ने जोखिम रहेको पालिका प्रमुखहरु बताउँछन्। सुरक्षा, खानपान र बसाइको व्यवस्था मापदण्डअनुसार छैन। विद्यालय तथा क्याम्पस भवनका एउटै कोठामा १० जनासम्म सुत्ने गरेका छन्। यस प्रदेशमा शनिबारसम्म २० हजार ९ सय ३३ जना क्वारेन्टिनमा बसेका छन।

प्रदेश सरकारले भारतबाट आउने व्यक्तिको सम्भावित संख्या आकलन गर्दै रोकथाम तथा नियन्त्रणको योजना नबनाएको पनि होइन। प्रदेश सरकारले चैत ५ गत्ते आठ वटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई ५० लाखको दरले रकम निकासा गरेको थियो। चैत ९ गत्ते प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेर यस प्रदेशमा भारतसँगको खुल्ला सीमानाका कारण संक्रमणको उच्च जोखिम रहेकोले सीमा सिल गरिदिन आग्रह गरेको थियो। जेठ १४ गत्ते मुख्य मन्त्री राउतले प्रधानमन्त्रीसँग पत्रमार्फत क्वारेन्टिन र आइसोलेसन लगायत भारतबाट ठूलो संख्यामा फर्किने प्रदेशबासीका लागि व्यवस्थापन सहयोग उपलब्ध गराइदिन आग्रह गरेको छ।  

परीक्षण सुस्त

पछिल्लो समय भारतबाट आएका व्यक्तिहरुको प्रयोगशाला परीक्षण जति बढी भयो, उत्तिकै मात्रामा नयाँ संक्रमित देखिएका छन्। तर, भारतबाट आएका जोखिममा रहेका व्यक्तिहरूको परीक्षणको गति निकै सुस्त छ। जे १ देखि शनिबारसम्म ६ हजार ६ सय ३६ जनाको पीसीआर परीक्षण भएको छ। तीमध्ये भारतबाट आएकाको संख्या धेरै छ। जेठ १ देखिदेखि शुक्रबारसम्म भारतबाट आएकाको संख्या यस प्रदेशमा १० हजार ५ सय ९० छ। यस हिसावले झन्डै चार हजार व्यक्ति पीसीआर परीक्षणको पर्खाइमा छन्।  

प्रदेश २ प्रहरीप्रमुख धिरज प्रताप सिंह पछिल्लो समय भारतबाट आउनेमध्ये अधिकांश ‘रिस्क जोन’ मा रहेका बताउँछन्। सीमाबाट सिधै क्वारेन्टाइनमा पर्याइएका उनीहरुको प्रयोगशाला परीक्षण र व्यवस्थापन चुस्त बनाउन सबै लाग्नुपर्ने   आवश्यकता रहेको उनको भनाइ छ।

सम्भावित संक्रमित पहिचान गर्न सघाउने आरडीटी त झन् यस प्रदेशमा ठप्पजस्तै छ। प्रदेशको सामाजिक विकास मन्त्रालयकाअनुसार शनिबारसम्म यस प्रदेशमा ६ हजार ६ सय १० जनाको आरडीटी गरिएको छ। सम्भाविक संक्रमित तथा जोखिमयुक्त व्यक्तिको संख्या बढ्दै जाँदा परीक्षणको गति सुस्ताउनुले अर्को जोखिमलाई निमन्त्रण दिइरहेको छ। सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेका अनुसार प्रयोगशाला सामग्री लगायतका अभावपूर्तीका लागि मुख्य मन्त्री ज्युले प्रधानमन्त्री ज्युलाई पत्रमार्फत आग्रह गरिसक्नु भएको छ। अभावपूर्ती भए परीक्षणको दायरालाई अझ फराकिलो र द्र्र्र्र्र्र्र्र्रूत गतिमा अघिबढाउँछौं, उनले भने।  

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुका अनुसार भाइस ट्रान्सपोर्ट मेडियम (भीटीएम) पर्याप्त नहुँदा सम्भाविक संक्रमितको परीक्षण प्रभावित भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव भन्छन,‘पाँच हजार माग गर्न २ सय पठाउँछ। कसलाई कसरी परीक्षण गर्नु ?’  

स्वाब परीक्षणका लागि प्रयोगशाला चहार्दै  

प्रदेश २ सरकारले कोरोना भाईरस(कोभिड–१९) परीक्षणका लागि प्रदेशको तीन ठाउँमा रियल टाइम पिसीआर मेसिसन जडान गरेको छ। वीरगंजको नारायणी अस्पताल, जनकपुरको प्रादेशिक प्रयोगशाला र राजविराजको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल। तर, राजविराजबाट संकलित दुई सय जनाको स्वाब चार दिनदेखि जिल्लामै थक्नेको छ।

राजविराजको पिसिआर मेसिन सञ्चालनमा आएको छैन। जनकपुरको प्रादेशिक प्रयोगशालाले स्वाब लिनै मान्दैन। यस जिल्लाको स्वाबय यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउँदै आएको थियो। अहिले प्रतिष्ठानले पनि स्वाब लिन मान्दैन। स्वाब संकलन गरेको तीन दिन भैसक्यो सप्तरीका स्वास्थ्य प्रमुख दुनीयाललाल यादवले भने,‘विपीको प्रयोगशालाले फर्काइदियो। विराटनगर पठाउँदा पनि लिन मानेनन। धेरै खुसामद(विन्ती) गर्दा ३० वटा मात्र स्वाब लियो यादवले भने,‘दुई सय स्वाब त्यतीकै थन्केको छ। अब परीक्षणका लागि कहाँ पठाउ, कसैले लिन मान्दैन।’ प्रदेशदेखि केन्द्र सम्म सबैलाई गुहारे, विन्ती गरे उनी भन्छन्,‘तीन दिन भैसक्यो, अब स्वाब काम लाग्दैन कि भने डर बढेको छ।’ ‘यस जिल्लाबाट संकलित स्वब धरान, विराटनगर, जनकपुर र टेकु कुनै प्रयोगशालाले लिदैन,’ स्वास्थ्य प्रमुख यादवले भने, ‘तनी दिनदेखि दुई सय जनाको स्वाब राजविराजमै राखिएको छ।’

सप्तरीमा अहिलेसम्म १ हजार २ सय ७९ जनाको स्वाब संकलन गरिएकोमा ५ सय ५५ जनाको नतिजा आउन बाँकी छ। यहाँ ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रदेश सरकारले राजबिराजमा रियल टाइम पिसीआर मेसिन उपलब्ध गराएको एक साता बढी भैसक्दा पनि संचालनमा आउन सकेको छैन। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डा. चुमनलाल दासका अनुसार पिसीआर मेसिन जडान भैसकेको छ। आइतबारबाट स्वाब परीक्षण सुरु हुने गरी तयारी भैरहेको उनले बताए।  

पिसीआर मेसिन संचालन तथा व्यवस्थापनका लागि समाजिक विकास मन्त्री नवलकिशोर साहले अस्पताल प्रमुख डा. दासलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरिसकेको छ। यो रकम पीसीआर मेसिन सञ्चालनपूर्व गर्नुपर्ने तयारी र जनशक्ति व्यवस्थापन लागि खर्च गर्न दिइएको हो। चेक हस्तान्तरण गर्दै मन्त्री साहले रकम अभावका कारण सेवा संचालन नरोकिने बताएका थिए।

प्रकाशित: १८ जेष्ठ २०७७ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App