१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

न्यायको प्रतीक्षामा पासी परिवार

काजक्रियापछि घरमा अंगिराका आमासहितका अन्य परिवार। तस्बिर:विनोद

चार छोरी र एक छोरालाई सानै उमेरमा छाडेर १० वर्षअघि श्रीमान्को मृत्यु भयो। कमजोर आर्थिक अवस्था र त्यसमाथि तल्लो जात भन्दै समाजबाट बहिष्कृत हुनुको पीडा छ रुपन्देही देवदह ११ की शान्ति पासीसँग।

गरिबीसँगको लडाइँ त उनले जसोतसो जितिन्। तर गत जेठ १० गते १३ वर्षीया छोरी अंगिरामाथि भएको अन्याय र अत्याचारको भने निरीह दर्शक बन्नुपरेको छ। गत जेठ ९ गते राति छिमेकी कोइला भन्ने २५ वर्षय  वीरेन्द्र भरले १३ वर्षीय अंगिरालाई जबरजस्ती करणी गरे।  

‘समाजमा त्यसैपनि तल्लो जात भनेर हेपाई खानुपथ्र्यो, त्यसमाथि छोरीलाई माथिल्लो जातको केटाले बिटुलो बनाएपछि छिमेकी गुहा¥यौं,’ शान्तिले भनिन्। गाउँका अगुवा भनिने बालकृष्ण पासीलाई छोरीको इज्जत लुटिएको खबर पु¥याएपछि उनक अगुवाइमा वडा न. ११ का अध्यक्ष अम्बरबहादुर चौधरीको रोहबरमा छलफल भयो।  

छलफलमा बलात्कारी वीरेन्द्रको जिम्मा लगाउने मौखिक सहमति गरेँ। त्यतिखेर शान्तिको परिवारले उपल्लो जातको केटा भएकाले छोरीमाथि थप अत्याचार हुने अनुमान गरेका थिए। वडाअध्यक्ष अमरबहादुर चौधरीलाई बिनाकागजात छोरी वीरेन्द्रको जिम्मा नलगाउने भने पनि कानुन बुझेका वडाअध्यक्ष चौधरीले भने १८ वर्षमुनिको विवाह दर्ता नहुने र आफूलाई हतार भएको भन्दै कटाकेटीको हात एक आपसमा थमाएर बाहिरिएका थिए ।

घरमा कुटपिट, त्यसको २ घन्टापछि हत्या  

छलफलमै बलत्कारी आरोपित वीरेन्द्रका आमा ५० वर्षीय अकाली भरले तल्लो जातकी केटी घर भित्र्याउन नसक्ने बताएकी थिइन्। तर वडाअध्यक्ष र गाउँका अगुवाहरुले पासी परिवारको कुरा नसुनी वीरेन्द्रको जिम्मा लगाएर पठाएसँगै वीरेन्द्रकी आमाले तल्लो जातको केटी भन्दै कुटपिट गरेकी थिइन्।  

अंगिराले जातीय अपमानसहित कुटाई खाएपछि रोहीणी खोला किनारतर्फ वीरेन्द्रसँगै गएको र घरबाट निस्केको दुई घन्टामै उनको शव झुन्डिएको अवस्थामा भेटिएको थियो। शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री बस्त्र देखिएको र चप्पल समेत नलगाएको अवस्थामा किशोरीको शव फेला परेको थियो। झुन्ड्याइएको रूखसमेत अग्लो भएको र कपडा च्यातिएकाले आत्महत्या नभई हत्या भएको शान्तिका दाजु प्रल्हाद पासीको भनाइ छ। ‘हामी पुग्दा प्रहरी आइसकेको थियो, घटनामा जसले बहिनीको जिम्मा लिएर गएका थिए, कोही पनि थिएनन्,’ उनले भने।  

नाबालिकालाई अघिल्लो दिन ललाइफकाई बलत्कार गरेर समाजका अगुवाहरुले जबरजस्ती छोरीलाई केटाको जिम्मा लगाइदिदा छोरीको हत्या भएको शान्तिको भनाइ छ। ‘हामीलाई न्याय चाहियो, छोरीको हत्यारालाई कारवाही होस्,’ उनले भनिन।  

समाजका अगुवाहरु रमिते  

घटना गम्भीर प्रकृतिको भए पनि वडाध्यक्ष, समाजका अगुवाले दबाब दिएका कारण सुरुमा प्रहरीले जाहेरी नै नलिएको पीडितले बताएका छन्। जाहेरी दिन खोज्दा ज्यान मार्ने धम्कीसमेत आएको दाजु दीपेन्द्रको भनाइ छ। वीरेन्द्रका परिवारबाट २ लाख रुपैयाँ दिएर घटना मिलाउनसमेत प्रयास भएको तर आफूहरुले नमानेको अंगिरकाकी दिदी दुर्गा बताउँछिन्।  

मंगलबार इलाका प्रहरी कार्यालय बुटवलमा मुस्किलले जाहेरी दर्ता गरेका पासी  परिवारको घरमा शोक छ। पोष्टमार्टमपछि जेठ १४ गते शवको भने अत्येष्टि गरिएको छ। छिमेकमा शोक हुँदा पनि अंगिराको विषयमा चिन्ता भने समाजका अगुवाहरुले गरेका छैनन्। परिवारले हत्या भएको भन्दै न्याय माग गरे पनि छिमेकहरु भने घटनाबारे नै अनविज्ञता प्रकट गर्छन्। समाजका अगुवासमेत रहेका बालकृष्ण पासीले गाउँमा छलफल भएको स्वीकार गर्दै अन्य जानकारी नभएको बताए। जातीय रुपमा अपमानसँगै इज्जत लुटेर हत्या गरेको अभियोगमा प्रहरीकोमा मुद्दा दर्ता भएको छ।  

नाबालिकामाथि गम्भीर अपराध भएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का निमित्त कार्यालय प्रमुख इन्द्रजित सहनी बताउँछन। बालिकालाई जबरजस्ती करणी, जातीय विभेद भएको प्रष्ट देखिएको उनले बताए। रहस्मय रुपमा मृत्यु भएकाले यस घटनाप्रति प्रहरीले गम्भीर रूपमा अनुसन्धान गनुपर्ने उनको भनाइ छ।  

राष्ट्रिय मानव अधिकार आयोगले पनि गम्भीर ध्यानआर्कषण भएको जनाएको छ। आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले विज्ञप्ति जारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ। घटनामा दोषीलाई कानुनी कारबाहीको प्रक्रियामा लैजानुको सट्टा बलात्कार आरोपित व्यक्तिलाई जनप्रतिनिधिसमेतको रोहवरमा नाबालिकालाई जिम्म लगाउनु गलत भएको बताएको छ।  

बालिकाको झुन्डिएको अवस्थामा शव भेटिएदेखि नै सम्पर्क विहिन भएका बलत्कार र हत्या अभियुक्त वीरेन्द्र भर, उनकी आमा अकाली र ठूली आमा शितली भरलाई प्रहरीले बुधबार पक्राउ गरेको छ  ।

मृतकका आमा शान्तिले तीन जनाविरुद्धको दिएको किटानी जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकाको बिहीबार म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एंव प्रवक्ता खड्कबहादुर खत्रीले बताए।  पोष्टमार्टमको रिर्पोटपछि फरेन्सिक जाँच प्रक्रिया अघि बढाएइको र भिसेरा र स्वाब परीक्षणका लागि नमुना काठमाडौं पठाइएको प्रहरीले बताएको छ।  

बुटवलमा प्रदर्शन  

नेपालमा पछिल्लो समय जातीयताकै कारण पश्चिम रुकुममा नरसंहार भएको र दलित समुदायमाथिको विभेद अन्त्यको माग गर्दै बुटवलमा दिउँसै बत्ती बालेर विरोध प्रदर्शन गरिएको छ। राष्ट्रिय दलित पत्रकार संघ, नेपाल प्रदेश ५ र रुपन्देही शाखाको आयोजनामा शुक्रबार बुटवल राजमार्ग चौराहामा ‘सरकार अध्यारोमा कहाँ छ, उज्यालो यहाँ छ’ भन्दै मैनबत्ती बालिएको थियो। यसैगरी रुपन्देहीको तिलोत्तमा दलित समुदायले स्वतःस्फूर्त रुपमा शुक्रबार विरोध प्रदर्शन गरेका छन्।  

 

प्रकाशित: १७ जेष्ठ २०७७ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App