coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङमा सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । जन्तेढुंगा गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा २ जना र हलेसी तुवाचुङ नगरपालिकामा २ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । शुक्रबार गरिएको आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि सो क्षेत्रमा उच्च सतर्कता अपाएर उनीहरुको पिसिआर परीक्षणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।  

ऐसेलुखर्क गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको आरडिटी परीक्षण गर्दा दुई जना कर्मचारीको रिपोर्ट पोजेटिभ देखिएको हो । दुई जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि तत्काल गाउँपालिका सिल गरिएको छ । अर्को आदेश नआएसम्मका लागि गाउँपालिकामा सवारी साधन आवत–जावत, व्यापार व्यवसाय सञ्चालन लगायतका गतिविध नगर्न सूचना जारी गरेको छ । गाउँपालिकाबाट प्रवाह हुँदै आएको सबै प्रकारका सेवा समेत बन्द गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । गाउँपालिकामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भिटिएम नभएकाले कर्मचारीलाई भिटिएम लिन दिक्तेल पठाएको गाउँपालिकाले जनाएको छ ।  

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा ३२ जनाको आरडिटी गर्दा दुई जना युवाको रिपोर्ट पोजेटिभ देखिएको हो । संक्रमित क्षेत्रका रुपमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा काठमाडौंबाट आएका दुई युवाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको मेयर इवन राईले बताए । काठमाडौं पेप्सीकोलाबाट आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि शुक्रबार थप ३३ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको छ । संक्रमित युवासँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीसँगै यात्रा गरेका व्यक्तिको पिसिआर परीक्षणमा स्वाब पठाइएको नगरपालिकाले जनाएको छ । संक्रमित युवाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा उपचार भइरहेको छ ।  

जन्तेढुंगा गाउँपालिकामा २१ जनाको आरडिटी गर्दा तीन जनामा पोजेटिभ रिपोर्ट देखिएको हो । रि–चेक गर्दा पनि पोजेटिभ नै रिपोर्ट आएको प्राथमिक स्वास्थ्य केन्द्रका डा. सरोजकुमार शाहले बताए । यसअघि साकेला गाउँपालिकामा दुई जनाको आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट भने नेगेटिभ आएको थियो । 

प्रकाशित: १६ जेष्ठ २०७७ १६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App