२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ६ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। अर्घाखाँचीका ३५ वर्षिय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो।  गत जेठ १० गते भारतबाट आएका ती पुरुषको नमुना संकलन गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यो सँगै मृत्यु संख्या ६ पुगेको हो।  उनी अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षिय पुरुष रहेका छन्।  मृतक तीपुरुषको हिजो आएको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो।  

उनीसँगै सम्पर्कमा आएको अन्य व्यक्तिहरुको नमुना लिने काम जारी रहेको उनले बताए। शुक्रबारसम्म २ सय ६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।  

शुक्रबार नेपालमा १ सय ७० जना कोरोना संक्रमित थपिएका छन्।  प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालम गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  यस्तै धरानमा भएको परीक्षणमा सप्तरीका ४ सहित ५ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ३ र पर्साका ५ गरी ९ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  संक्रमित महिला रहेको र सर्लाही घर भइ अहिले पाटन अस्पतालमै रहेको बताए। यस्तै गण्डकी अस्पतालमा गरिएको परीक्षणमा म्याग्दीका १ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १० जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका ४ र नवलपरासीका २ सहित ६ जनामा पोजेटिभ देखिएको छ।  यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण्मा ८४ जनामा पोजेटिभ देखिएको छ।   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा पोजेटिभ देखिएको छ।  

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ।  यस्तै आरडिटी परीक्षण १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ।  पछिल्लो २४ घण्टामा आरडिटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ।  

क्वारेन्टाइनमा रहनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ।  शुक्रबारसम्म एक लाख नजिक क्वारेन्टाइनमा बस्नेहरुको संख्या छ।  देशभरीका विभिन्न क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन्।  अहिले विभिन्न अस्पतालमा १ हजार जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।

   

 

प्रकाशित: १६ जेष्ठ २०७७ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App