२५ भाद्र २०८१ मंगलबार
image/svg+xml
समाज

राहत लिन श्रम गर्नुपर्ने

पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो।

कमजोर आर्थिक अवस्थाका तथा लकडाउनको प्रभावका कारण दैनिकी गुजार्न समस्यामा परेका गाउँपालिकावासीलाई राहत उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो। यस कार्यक्रमअन्तर्गत सार्वजनिक स्थान तथा सडकको मर्मत, ग्रामीण सडकमा नाली निर्माण, सडकका खाल्डाखुल्डी पुर्नेलगायत काम तय गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले जानकारी दिए। राहत लिन चाहनेले उक्त कार्यक्रमअन्तर्गत श्रम गर्न थालेपछि राहत पाउन थाल्नेछन्।

लकडाउनबाट प्रभावित तथा कमजोर आर्थिक अवस्थाका करिब एक हजार घरपरिवारलाई उक्त कार्यक्रममा समावेश गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थापाले बताए। उक्त कार्यक्रममा लकडाउन प्रभावितमध्ये सामान्य आर्थिक अवस्थाको परिवारका एक जना तथा कमजोर आर्थिक अवस्थाको परिवारका दुई जनासम्म व्यक्तिलाई सहभागी हुने अवसर दिइनेछ। उक्त कार्यक्रममा सहभागी हुनेले दैनिक सात किलोका दरले चामल प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाको भनाइ छ। कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले २०० टन चामल मौज्दात राखेको उनले बताए।  

बन्दाबन्दीको दुई महिनाभन्दा लामो समय बितिसक्दा कमजोर आर्थिक अवस्थाका गाउँपालिकावासीको जीविकोपार्जनमा समस्या परेको भन्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो। पाँच वडा रहेको गाउँपालिका सुक्खा र गरिबीको चपेटासँग जुधिरहेको छ। सुक्खाका कारण यहाँ स्थानीयवासीले कृषि उपज उत्पादन तथा पशुपालनको विकल्पमा विकास निर्माणमा दैनिक ज्यालादारी गर्न थालेका थिए। लकडाउनका कारण दैनिक ज्यालादारीका कामसमेत अवरुद्ध भएपछि गाउँपालिकाले श्रम गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो।  

प्रकाशित: १६ जेष्ठ २०७७ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App