१६ चैत्र २०८० शुक्रबार
समाज

उत्खननको विरोध गर्दा दिलिपको हत्या, ६ महिनापछि फेरि अवैध उत्खनन सुरु

धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध उत्खनन सुरु भएको छ । अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीद्धारा स्थानीय दिलिप महतोको हत्या भएको घटनाको करिब ६ महिनापछि फेरी सोही खोलामा फेरी मापदण्ड विपरित उत्खनन सुरु भएको हो । नगरपालिबाट ठेक्का पाएको मिथिला कन्स्ट्रक्सनले लगातार १५ दिनदेखि अवैध उत्खनन गरेपछि स्थानीयहरु विरोधमा उत्रेका छन् ।    

‘प्रहरी र मेयरको बलमा ठेकेदारले ७/८ फिटसम्म खनिरहेका छन् । रातदिनगरी एकैदिनमा ५ सय टिप भन्दा बढी गिट्टी बालुवा खन्छन्,’ स्थानीय सुनिल महतोले भने, ‘हामीले अवरोध गर्दा दिनहुँ दुइतर्फी झडप भैरहेको छ । कुनै निकायले कुनै सुनुवाइ नगरेपछि बाध्य भएर हामी गाउँलेले टिपर र स्काभेटर नियन्त्रणमा लिएका छौँ ।’  

मंगलबार साँझ दिलिपको हत्या भएको करिब १ किलोमिटरको दुरीमा अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा ४ वटा टिपर र एउटा स्काभेटर स्थानीयहरुले नियन्त्रणमा लिएको छ । मापदण्डको पालना गरी उत्खनन गर्ने प्रतिबद्धता जनाएमात्र टिपर र स्काभेटर छोड्ने स्थानीयहरुले अडान लिएका छन् । स्थानीयले गाडी नियन्त्रणमा लिएपछि विवाद समाधानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवरले नगरपालिका, ठेकेदार र स्थानीयलाई बुधवार छलफलका लागि बोलाएको थियो ।  

लकडाउन र संक्रमणको जोखिमलाई मध्यनजर गरी तीनै पक्षका प्रतिनिधि बसेर छलफल गर्न आग्रह गर्दा स्थानीय र ठेकेदार पक्षले भिडमै छलफल गर्ने अडान लिएपछि छलफल हुन नसकेको ढल्केवरका प्रहरी निरक्षक तिर्थ कार्कीले बताए । ठेकेदारले उत्खननको क्रममा समान्य मापदण्ड मिचे पनि स्थानीयले भनेजति गहिरो खाल्डो नखनेको उनको भनाई छ ।  

जिल्ला समन्वय समितिका उपाध्यक्ष दिपक झाका अनुसार विहान ६ देखि साँझ ६ बजेसम्म मात्र मापदण्ड बमोजिम उत्खनन गर्ने अनुमित दिइएको छ । तर स्थानीयका अनुसार दिनभर ७ फिटसम्म मात्र उत्खनन गरेपनि ठेकेदारले रातिराति समेत १० फिटसम्म उत्खनन गरिरहेका छन् । क्रसर व्यवसायी महासंघ प्रदेश २ का कोषाध्यक्ष समेत रहेका मिथिला कन्सट्रका संचालक बेचन शर्मा पैसा र पहुँचबाला भएका कारण उनले मापदण्डको धज्जी उडाएर उत्खनन गर्दा समेत कसैले केही गर्न नसकेको स्थानीय कैलाशप्रसाद महतोले आरोप लगाए ।  

प्रदेशका दर्जनौ क्रसरमा समेत लगानी रहेको उनले पटक पटक मापदण्ड विपरित उत्खनन गरेको आरोप लाग्दा समेत अहिलेसम्म कुनै कारबाही हुन नसकेको उनले सुनाए । स्थानीयलाई धम्कयाउँदै उनको लगानी रहेको क्रसर व्यवसायीले धम्क्याउँदै उत्खनन गरेको बताइएको छ । सोही क्रममा औरही खोलामा अवैद्य दोहनविरुद्ध अभियानमा लागेको मिथिला नगरपालिका ५, श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको गएको पुस २५ गते राति स्थानीय चुरियामाई प्रशोधन क्रसर उद्योगका सञ्चालक वीपन महतो लगायतले टिपरले किचेर हत्या गरेका थिए ।  

मापदण्ड विपरित औरही खोला दोहनको कारण श्रीपुर, हरिहरपुर, मर्धर लगायतका गाउँमा बाढीको उच्च जोखिम रहेको भन्दै गाउँलेहरु निरन्तर विरोध गर्दै आएका छन् । तर मिथिला नगरपालिकाका प्रमुख हरिनरायण महतोले मापदण्ड अनुरुप नै उत्खनन भइरहेको दावी गरे । ‘एकदमै मापदण्ड पालना गरेर ठेकेदारले उत्खनन गरिरहेका छन् । 

तर यहाँ केही व्यक्तिले बिना कुनै कारण राजनीतिक प्रतिशोधको आधारमा विरोध गरिरहेका छन्,’ उनले भने । जिल्लाका विभिन्न ठाउँमा अवैध उत्खनन भइरहेको गुनासो आएपनि लकडाउनका कारण अनुगमन गर्न नसकेको जिल्ला समन्वय समितिका उपप्रमुख झाले बताए ।   

प्रकाशित: १४ जेष्ठ २०७७ १३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App