१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भारतबाट फर्केकालाई ‘हेँला हैन, माया गरौँ’

भारतबाट फर्केपछि मसुरियाको साझा बजारस्थित सडक किनारमा बसेका नेपालीहरु। तस्बिरः पुष्पराज जोशी/नागरिक

गौरीगंगा–५, अण्डैयाका प्रेमबहादुर मिजार दुई वर्षपछि सोमबार बिहान स्वदेश फर्के। स्वदेशमा पुगेपछि घरै पुगेजस्तो अनुभूति होला भन्ने सोचेका उनलाई सीमामै अपहेलित भएको महसुस भयो। ‘सीमामा पुग्ने वित्तिकै आफूहरुलाई पिउने पानी पाउनु कहाँ हो कहाँ छिः छिः र दूर दूर गरेझैँ व्यवहार गरियो,’ उनले भने,‘हामीलाई सम्झाउने मानिसले टाढैबाट या माइकिङ गरेरै भए पनि निर्देशन दिएको भए स्वदेश पुगेको महसुस हुन्थ्यो।’    

दिनभर लाइन लागेर अन्तिममा चेकजाँच नै नगरी आफ्नो घर जाने व्यवस्था आफै गर्नु भनेपछि उनी झनै तनावमा परे। ‘धनगढीदेखि मसुरियासम्म एक सय रुपैयाँ गाडी भाडा लाग्थ्यो,’ उनले भने,‘तर मैले पाँच सय रुपैयाँ तिरेर आइपुगेँ।’ यहाँ पुगेपछि पनि सडककै किनारमा बसाएर प्रहरीले नाम टिप्न थाल्दा झनै हेँलित भएको महसुस भएको उनी बताउँछन्।  

उनी मात्रै हैनन् गौरीगंगा–११, चमरैयाका कालीप्रसाद चौधरी पनि सोमबार नै भारतको बरेलीबाट मसुरिया आइपुगेका हुन्। उनी मसुरियाबाट चमरैया जानै लाग्दा सडक किनारमा बसाएर सबैले सोधपुछ गर्न थालेपछि अपहेलित भएको महसुस भएको बताए। ‘हामीलाई पनि थाहा छ, अहिले कोरोनाले सबै डराएका छौँ,’ उनले भने,‘यस्तो अवस्थामा जहाँ पायो त्यही बसाएर सोधपुछ गर्नुभन्दा कुनै निश्चित स्थानमा लगेर कुरा गर्दा मन त दुख्दैन थ्यो।’ 

उनले आफूहरुलाई सबैले छुनुपर्छ या नजिकै आएर कुरा गर्नुपर्छ पनि नभनेको बताउँदै भने,‘हामीलाई छुनैपर्छ भन्ने होइने, तर हेँलित गरेर कुरा गर्नुभन्दा सोधपुछ गर्नु नै पर्नेभए नजिकै कुनै चौरमा लगेर कुरा गर्दा राम्रो हुन्थ्यो।’ पहिले रोजगारी गरेर फर्कनेहरुलाई गरिने सम्मान अहिले भने हेलित हुनु परेको उनी बताउँछन्। ‘अब त गाउँघरमै बस्नेको सम्मान छ,’ उनले भने,‘बाहिरबाट आउनेलाई हेँला गरिँदा मन दुखेको छ।

कोरोनाको डर त्रासले हप्तौँ घुमेर आएकाहरुलाई सर्वप्रथम त देशभित्रै छिर्न गाह्रो भइरहेका बेला सीमा भित्र छिरिसकेकाहरुलाई लाल्छाना लगाउने, हेँला गरिँदा उनीहरुमा मानसिक तनाव बढ्न सक्छ – बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. मधुर बस्नेत  

 

’ छिः छिः र दूर दूर गर्नु भन्दा पनि मायालु स्वभावले कोरोनाका बारेमा सम्झाउँदै कुरा गरेपछि आफूहरुलाई पनि हिम्मत र रोगसँग लड्न सक्ने क्षमता बढ्ने उनी बताउँछन्। तिहारपछि उखु पेल्न भारतको बरेली पुगेका उनी अहिले कोरोनापछि भने सोमबार मात्रै मसुरिया पुगेका हुन्। ‘लामो समय लक डाउनमा फसेपछि बल्ल स्वदेश फर्केको छु,’ अर्का स्थानीय मोतिराम चौधरीले भने,‘अब त यही केही गर्छु, भारत जाँदैन।’  

भारतबाट स्वदेश फर्किरहेका व्यक्तिहरुलाई हेय हैन मायालु बोलीले सोधपुछ गर्नुपर्ने बताउँदै बरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर मधुर बस्नेतले भने,‘कोरोनाले हामी सबैलाई चोट परेकै छ, त्यसमा पनि भारतबाट फर्किरहेकाहरुलाई त झनै चोट छ, यस्तो बेलामा हामीले उनीहरुलाई हेयको दृष्टिले नभई मायालु बोलिले सोधपुछ गर्नुपर्छ।’  

कोरोनाको डर त्रासले हप्तौ घुमेर आएका उनीहरुलाई सर्वप्रथम त देशभित्रै छिर्न गाह्रो भइरहेका बेला सीमा भित्र छिरिसकेकाहरुलाई लाल्छाना लगाउने, हेँला गरिँदा उनीहरुमा मानसिक तनाव बढ्न सक्ने बताउँदै डा. बस्नेतले भने,‘पहिलो कुरा त यस्तो बेला उनीहरु जुन आशा र विश्वासले आएका छन् त्यो टुट्छ र मानिसमा मनोरोग बढेर जान्छ। अर्को भयावह पाटो भनेको  त्यसरी फर्केर आएकाहरुलाई सामाजिक लाल्छना लाग्दा खुलेर आउन नसक्ने र छुकिछिपी आउने हुँदा त्यसले कारोनाको संक्रमण समाजमा सल्कन सक्छ।’ त्यसैले यस्तो संक्रमणबाट समाजलाई जोगाउन बाहिरबाट आएकाहरुलाई सम्मानपूर्वक नम्र भाषामा कोरोनाको संक्रमणका बारेमा जानकारी दिँदै समाजप्रति उनीहरुको उत्तरदायित्व बहन गराउन सक्नुपर्ने उनी बताउँछन्।

प्रकाशित: १२ जेष्ठ २०७७ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App