१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संक्रमणको जोखिममा सडक सरसफाई गर्ने मजदुर

पृथ्वी राजमार्गमा सडक सरसफाइको काम गर्ने मजदुर । तस्विर : सरिता/ नागरिक ।

धादिङ

गजुरी गाउँपालिका वडा नं २ भूमिडाडाका दयानिधि सिलवाल दैनिक सडक सरसफाई गर्ने काम गर्छन् । सडक बढाल्नु, फोहोर टिप्नु, छेउछाउका झारपात उखेली सडकलाई चिटिक्क पार्नु उनको दैनिकी हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण देश लकडाउन भइरहँदा पनि उनी काममा नै खटिरहेका छन् । तर दैनिक काममा खटिदाँ सुरक्षा सामग्री नै नलगाइ जोखिमपूर्ण तरिकाले काम गरिरहेका छन् । उनले न मास्क लगाएका छन् न पञ्जा नै । यतिबेला फोहोरमा जोडिएर काम गर्ने मजदुरहरु जोखिममा छन् ।  

दैनिक व्यस्त हुने पृथ्वी राजमार्गमा अहिले फाट्टफुट्ट सवारी चलिरहेका छन् । राजमार्गमा होटल बन्द हुदाँ एम्बुलेन्स, खाद्यन्न तथा तरकारी लगायत अत्यावश्यक सामग्री बोक्ने सवारी साधनमा आवतजावत गर्नेले खाएका चाउचाउ, बिस्कुट लगायतको प्लास्टिकका खोलबाट पनि जोखिम हुने गरेको सिलवाल बताउँछन् । ‘होटल चलेको छैन, आफैले ल्याएका खानेकुरा खायो, फोहोर सडकमा नै फ्याकिदिन्छन्,’ उनले भने, ‘त्यो टिप्नै प¥यो, सरसफाईको काम गर्दा कोरोना भाइरस सर्ला कि भन्ने डर लाग्छ ।’  

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), चश्मा, स्यानीटाइजर, सर्जिकल मास्क सफाई मजदुरले पाउन सकेका छैनन् । कोही कसैलाई संक्रमण भएको रहेछ भने फोहोरका माध्यमबाट आफूहरुमा पनि सर्ने सम्भावना रहेको सिलवालले गुनासो गरे । होटल, घर र सार्वजनिक स्थलमा पुग्नु पर्छ । यदि कोही श्रमिक संक्रमित भएमा उनीहरुका परिवारका सदस्यदेखि लिएर उनीहरुसँग सम्पर्कमा रहने सबै जना संक्रमित हुने जोखिम हुन्छ ।  श्रमिकले आफैं सुरक्षा सावधानी अपनाउन नसक्ने तथा नजान्ने हुँदा सम्बन्धित पक्षले ध्यान दिन आवश्यक रहेको मजदुरको भनाई छ ।

कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला उनी जस्तै सरसफाई गर्ने मजदुर फोहोर व्यवस्थापनमा असुरक्षित तरिकाले खटिने गरेका छन् । ‘कोरोनाको डरले अरू घरमै बस्छन्,’ अर्का मजदुर मंगलबहादुर बस्यालले भने, ‘डर भए पनि आफ्नो काम गर्नेप¥यो, हामीलाई सुरक्षा सामग्री दिए त डर कम हुन्थ्यो नि ।’ कोरोनाको संक्रमणको सम्भावित जोखिम कम गर्न सरकारले लकाडाउन गरे पनि फोहोर संकलन र सरसफाईको काम रोकिएको छैन तर त्यस क्षेत्रमा काम गर्ने मजदुरका लागि सुरक्षा सामग्री पनि सम्बन्धित निकायले दिएको छैन ।  

सडकमा काम गर्ने मजदुरलाई अन्य सरकारी कर्मचारीलाई जस्तो सुविधा पनि छैन । काम गरे खान पाइयो, नपाए भोक्कै बस्नुपर्छ । सरसफाईको काम गर्ने मजदुरको हात नचले सडक सफा हुँदैन नत्र फोहोरको थुप्रोले सडकलाई नै कुरुप बनाइदिन्छ । एम्बुलेन्समा आएका बिरामीले पानी आएर फालेको बोत्तलबाट पनि रोग सर्ने जोखिम छ । तर जोखिमै मोलेर भएपनि काम गर्न बाध्य छन् । काममा जाउ मरिएला भन्ने डर, नजाउ खानै नपाइएला भन्ने डर रहेको मजदुरको भनाई छ ।

तीनै तहका सरकार, सरकारी निकाय, संघसंस्था लगायतले कोरोना भाइरसको संक्रमणबाट बच्न सुरक्षित भएर काम गर्न सुझाव दिइरहेका छन् । तर जुनसुकै बेला फोहोरमा जोडिनु पर्ने मजदुरलाई सुरक्षाका लागि आवश्यक सबै सामग्री जुटाउन पहल भएको देखिदैन ।  

प्रकाशित: ९ जेष्ठ २०७७ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App