७ वैशाख २०८१ शुक्रबार
समाज

जताततै अमेरिकन फौजी किराको प्रकोप

ऐसेलुखर्क गाउँपालिकामा विषादि हाल्दै कृषि श्रोतव्यक्ति । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा किसानसँग फौजी किरा मार्दै कृषि प्राविधिक । तस्बिर : नागरिक

खोटाङका अधिकांश स्थानीय तहमा अमेरिकन फौजी किरा (फल आर्मी वर्म)को प्रकोप फैलिएको छ । अघिल्ला वर्षसम्म केही नगरपालिका र गाउँपालिकाको बेँसी क्षेत्रमा देखा परेको अमेरिकन फौजी किरा यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो ।  

गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी लगायतका ठाउँमा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पारेको अमेरिकन फौजी किराले यसपल्ट अधिकांश गाउँपालिकाको बेँसी क्षेत्रका मकै सखाप पार्न थालेको छ । तीन/चार पात पलाउँदादेखि नै फौजी किराले मकैको बिरुवालाई आक्रमण गरेपछि उत्पादन घट्नेमा किसान चिन्तित छन् । दुई नगरपालिका र आठ गाउँपालिकामध्ये जन्तेढुंगा गाउँपालिकामा अमेरिकन फौजी किराको प्रकोप अलि कम देखिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।  

फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । प्रकोप देखिएको क्षेत्रमा विषादि हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फौजी किरा फैलिने गरेको निमित्त प्रमुख राईले बताए । बेँसी क्षेत्रका खेत र बारीमा लगाइएको मकैमा फौजी किरा अधिक देखिएको लेकाली क्षेत्रमा भने नदेखिएको किसान बताउँछन् । ‘यस पल्ट सबै पालिकाका फौजी किराको प्रकोप देखिएको छ, कुनै पनि पालिका अछुतो रहेन,’ निमित्त प्रमुख राईले भने, ‘उपचार गरेको ठाउँमा फौजी किरा नियन्त्रणमा आएको देखिन्छ तर नयाँ ठाउँमा देखा पर्दै आएकाले समस्या सिर्जना गरेको छ ।’  

हलेसी तुवाचुङ नगरपालिकाको ११ वटै वडामा मकैमा फौजी किराको प्रकोप फैलिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, लफ्याङ, दिक्तेल, सोल्मा लगायतका ठाउँमा, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सबै वडाको बेँसी क्षेत्रमा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, खोटाङबजार, सिमपानी, लिच्कीराम्चेको तल्लो क्षेत्रमा, ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे, महेश्वरी, माक्पा लगायतका वडामा फौजी किराको प्रकोप फैलिएको छ । रावाबेँसी गाउँपालिकाको तल्लो भेगमा पनि फौजी किरा फैलिएको छ ।  

फौजी किरा नियन्त्रण गर्ने यस्तो छ प्रयास
जताततै फैलिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङका स्थानीयतहले आ–आफ्नै प्रयास सुरु गरेको छ । अधिकांश स्थानीय तहमा किटनाशक विषादि ल्याएर कृषि प्राविधिकमार्फत फौजी किराबाट बढि संक्रमित क्षेत्रको मकैमा छर्कने काम भइरहेको छ । कतिपय स्थानीय सरकारले किसानलाई विषादि निःशुल्क उपलव्ध गराएको छ । कृषि ज्ञान केन्द्रले पनि स्थानीय तहमार्फत किसानलाई विषादि उपलव्ध गराएको जनाएको छ ।  

खोटेहाङ गाउँपालिकाले विषादि ल्याएर कृषि प्राविधिक अध्ययन गरेका स्थानीय व्यक्तिलाई पाँच दिनका लागि परिचालन गरेर फौजी किरा नियन्त्रणको प्रयास गरिरहेको छ । मकैमा विषादि छर्नका लागि प्रभावित वडामा दुई÷दुई जना व्यक्तीलाई श्रोत परिचालन शिर्षकबाट काममा लगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । ‘कृषि पढेर आएका व्यक्तिलाई श्रोत परिचालन शिर्षकबाट पाँच दिनका लागि औषधि छर्कने काममा लगाएका छौँ,’ अध्यक्ष राईले भने, ‘उनीहरु बढि प्रभावित क्षेत्रमा गएर किसानको सहयोगमा मकैको बिरुवामा विषादि हाल्छन्, हाल्न सिकाउँछन् र विषादि दिएर फर्कन्छन् ।’  

ऐसेलुखर्क गाउँपालिकाले पनि आफैले तालिम दिएर तयार पारेको कृषि श्रोतव्यक्तिलाई फौजी किरा नियन्त्रणमा उपयोग गरिरहेको छ । सानो वडामा कृषि शाखाका कृषि प्राविधिक र दुई जना श्रोतव्यक्तिलाई तथा ठूला वडामा तीन जना श्रोतव्यक्तिलाई खटाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । ‘गत वर्ष हामीले तालिम दिएर वडा–वडामा कृषि श्रोत व्यक्ति तयार पारेका थियौँ,’ अध्यक्ष निरौलाले भने, ‘अहिले त्यही श्रोतव्यक्तिलाई फौजी किरा नियन्त्रणमा विषादि छर्ने काममा परिचालन गरेका छौँ ।’  

हलेसी तुवाचुङ नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि विषादि वितरण गरिरहेको जनाएको छ । सुरुका चरण निःशुल्क विषादि उपलव्ध गराइएकामा अव सशुल्क उपलव्ध गराउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा पनि कृषि प्राविधिक खटाएर विषादि हाल्ने काम भइरहेको छ । ऐसेलुखर्क, दिप्रुङ गाउँपालिका लगातका किसानलाई निःशुल्क विषादि उपलव्ध गराइएको छ । रातका समयमा सक्रिया हुने भएकाले साँझपख विषादि हाल्दा फौजी किरा भस्याक–भुसुक हुने गरेको कृषि प्राविधिक बताउँछन् । ‘साँझ परेपछि फौजी किरा सक्रिया हुने भएकाले त्यही बेला विषादि छर्नु उपयुक्त हुन्छ,’ कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले भने, ‘लार्भावस्थामै उपचार गर्न सकियो भने राम्रो हुन्छ, प्यूपा र पुतलीको अवस्थामा पुगेपछि फौजी किरा नियन्त्रण गर्न गार्‍हो हुन्छ ।’  

 

 

प्रकाशित: ९ जेष्ठ २०७७ ०९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App