coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

टोलमा तगारो थापे कारबाही

अपरिचित व्यक्तिलाई प्रवेश निषेध गरिएको भक्तपुर, ठिमीको एक साँघुरो गल्ली । तस्बिरःदीपेश श्रेष्ठ/नागरिक

सरकारले आव्हान गरेको लकडाउनका बेला बाहिरी तथा नयाँ मानिसलाई टोल प्रवेशमा रोक्न अनौठा तरिकाहरू अपनाइएका छन्। बाहिर व्यक्तिको प्रवेश रोक्ने बहानामा आफूखुसी तगारो थाप्ने काम स्थानीयले गरेका हुन्।  

उपत्यकाका भित्री साघुँरा गल्लीहरूमा बाहिरी मानिसलाई रोक्न अपनाइएका तरिकाहरू अनौठा मात्रै छैनन्, अव्यवस्थित पनि छन्। नयाँ मान्छे देख्नासाथ बाटो छेक्ने, कार्यालयमा काम गरेर फर्कनेलाई अनावश्यक शंका गर्ने, आफूखुसी गेट निर्माण गर्ने, काठ र बाँसको छेकबार लगाउने जस्ता कार्यहरू स्थानीयले गर्दै आइरहेका छन्। कोरोना महामारीलाई रोक्न अपनाइएका यस्ता कार्यहरूमा सरकारले रोक लगाएको छ।  

महामारीको बेला अनावश्यक शंका गर्ने, बार लगाउने, अमानवीय व्यवहार गर्ने, टोल छिर्न नदिने, अभद्र व्यवहार गर्ने, टोल निकाला गर्नेजस्ता गलत कार्य नगर्न गृह मन्त्रालयले जेठ ४ गते विज्ञप्तिमार्फत आग्रह गरेको थियो। टोलटोलमा अनेक अनपेक्षित हर्कत हुन थालेको गुनासाहरू आएपछि गृहले विज्ञप्ति जारी गर्दै यस्ता कार्य गर्ने टोलबासीलाई कारबाही गर्ने बताएको थियो। तर उपत्यकाका भित्री सहरहरूमा भने बाहिर मानिसलाई रोक्न भन्दै अनावश्यक रूपमा छेकबारहरू ते-स्याइएका छन्।  

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले यसो गर्नेलाई प्रहरीले कारबाही गर्ने बताए। उनका अनुसार टोलमा छेकबार लगाउँदै कुनै आपत्ति परे बाहिर निस्कन आफैंलाई पनि जोखिम हुन्छ। घरभित्रै बसेर लकडाउनको पालना गर्नुपर्ने बेलामा टोल प्रवेश गर्ने नदिनेगरी बार लगाउनुु गैरकानुनी हो। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई यस्तो क्रियाकलाप भए कारबाही गर्नू भनी पत्राचार गरिसकेको छ। ‘यस्तो गर्नेलाई हामीले कारबाही गर्छौं, सबै प्रहरी कार्यालयहरूलाई यस्तो कहीं–कतै देखेमा कारबाही गर्न आग्रह गरेका छौं,’ उनले भने।  

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई जथाभावी तगारो थाप्ने क्रियाकलाप भए कारबाही गर्नू भनी पत्राचार गरिसकेको छ।

तर उपत्यकाका भित्री सहरहरूका स्थानीय बढी त्रसित भएको भन्दै बाँस र काठहरू ते¥स्याउने गरेका छन्। काठमाडौंको न्युरोड, भक्तपुर र पाटन दरबार क्षेत्रमा अहिले स्थानीयले बाहिर मानिसलाई टोल प्रवेश नदिनका लागि काठ र बाँसका छेकबार लगाएका छन्, जसका कारण मानिसहरू भित्रभित्रै पनि ओहोरदोहोर गर्न छाडेको स्थानीयको भनाइ छ। ‘यस्तो बेलामा हामीले अनेक जुक्तिहरू अपनाएरै भए पनि सुरक्षित रहनुपर्छ, रातिको समयमा बाहिर मानिसहरू आएको पनि सुनियो, त्यसकारण गेट बन्द गरिएको छ,’ बसन्तपुरका स्थानीय तथा सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले भने। उनका अनुसार अहिले पुराना सहरलाई बन्द गर्नका लागि पर्याप्त गेटहरू छैनन्। बाहिरी मानिस गल्लीहरूमा ओहोरदोहोर गर्ने क्रम नरोकिएपछि उनीहरूलाई निषेध गर्न यस्तो तरिका अपनाइएको हो।  

यसअघि सरकारले लकडाउन गरेपछि स्थानीय स्तरमा ते¥स्याइएका काठ र बाँसका फोटोहरू सामाजिक सञ्जालमा भाइरल बनेका थिए। स्थानीयले बाहिरी मान्छे टोल प्रवेश नगरुन् भनेर यस्तो तरिका अपनाएको पाइन्छ। तर सरकारले उक्त कार्य रोक्न सबै स्थानीय तहलाई आग्रह गरेको छ।  

काठमाडौं महानगरपालिका–२२ का वडाध्यक्ष चिनिकाजी महर्जनले भित्री गल्लीहरूलाई सुरक्षित बनाउन यसो गरिएको बताए। उनले यस्तो खालको अवरोध क्षणिक समयका लागि हुने जानकारी पनि दिए। ‘यहाँका युवाहरूले सुरक्षित रहन यस्तो उपाय अपनाएका छन्, यसमा हाम्रो पनि समर्थन छ,’ उनले भने। उनका अनुसार युवा क्लब, टोल समिति, गुठीलगायत युवाहरूको समूहले टोललाई सुरक्षित राख्न नयाँनयाँ तरिकाहरू अपनाइरहेका छन्।  

ललितपुर महानगरपालिका–१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले पाटन क्षेत्रमा बाहिरी मानिसलाई आहोरदोहोर गर्न नदिइएको बताए। उनले बाहिर मानिस देखिनासाथ उनलाई निगरानी राखी क्वारेन्टाइनमा लगिएको जानकारी दिए। ‘उपत्यकाका भित्री गल्लीहरू अहिले झन् असुरक्षित भएका छन्, रातको समयमा मानिसहरू टोल छिरेको सुनिएपछि हामीले कडाइ गरेका छौं,’ उनले भने।  

भक्तपुर दरबार स्क्वायर क्षेत्रमा पनि अहिले बाहिरी मानिसलाई छिर्न दिइएको छैन। कोही मानिस भित्री गल्लीबाट ओहोरदोहोर गर्ने डरमा टोलवासीहरूले उच्च निगरानी राखेको संस्कृतिविद् ओम धौवडेलले जानकारी दिए। उनका अनुसार भक्तपुर दरबार क्षेत्रमा पनि काठ, फलाम र बाँसका छेकबार लगाएको देखिन्छ। मानिसहरूको ओहोरदोहोर हुने क्षेत्रलाई पूर्ण निगरानी राखिएको उनको भनाइ छ। ‘भित्री सहरमा बाहिरी मानिसहरूलाई प्रवेश दिएका छैनौं,’ उनले भने, ‘यसमा नगरपालिकाले पनि ख्याल राखेको छ।’

प्रकाशित: ९ जेष्ठ २०७७ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App