४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

यस्तो ठग, जसको फन्दामा परे जेलरदेखि सर्वसाधारणसम्म

विभिन्न तरिकाबाट ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन सक्ने भन्दै ठगी गर्ने तारकेश्वरका ४५ वर्षीय राजकुमार चापागाईंलाई पक्राउ गरेको हो।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी महिलाहरुलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको महाशाखाका एसएसपी दीपक थापाले बताए।      

   उनले स्वास्थ्य मन्त्रालयको खरिदार, रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता महत्वपूर्ण पदमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ रुपैयाँ ठगी गरेका थिए। उनले जागिर लगाइदिने भनिएका व्यक्तिलाई काम भएको भन्दै परिचयपत्र समेत दिने गरेका थिए। 'जागिर लाइदिने भन्दै रकम लिएका मानिसलाई मन्त्रालयको परिचयपत्र दिँदै लकडाउनपछि अफिस जानु। अहिले तलब आइरहन्छ भन्ने गरेको पाइयो', एसएसपी थापाले भने, 'कसैलाई धादिङ त कसैलाई कहाँ भन्दा रहेछन्।'      

बरामद परिचयपत्र र अन्य  सामाग्री ।

काठमाडौँ पेप्सीकोलाका सम्झना केसी भट्टराईसँग रु एक लाख २० हजार लिँदै गरेको अवस्थामा चापागाईंलाई पक्राउ गरेको थियो।  

अभियुक्त चापागाई यस अघि पनि पक्राउ परेका व्यक्ति हुन। ठगी गरेको कसुरमा चार वर्ष नख्खु कारागारमा कैद भुक्तान गरेका उनी पुन: ठगीकै आरोपमा पक्राउ परेको थापाले बताए।

यसअघि पक्राउ पर्दा चापागाईंले आफू उच्चपदस्थ व्यक्तिको पिए भनी कारागार तथा प्रमुख जिल्ला अधिकारीलाई फोन गरी कैदी रिहा गर्न आदेश दिने गरेको अनुसन्धानमा खुलेको छ । आर्मी स्कुलमा बच्चा भर्ना गराइदिन्छु भनी विभिन्न व्यक्तिलाई प्रलोभनसमेत दिने गरेका थिए । पक्राउ परेका चापागाईंसँग प्रहरीले सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षकको नक्कली परिचयपत्र एक थान, खरिदार पदको नक्कली परिचयपत्र एक थान, स्कुटर एक थान, मोबाइल एक थान, सिमकार्ड तीन थान र रु एक लाख २० हजार नगद बरामद गरेको छ।      

 

प्रकाशित: ८ जेष्ठ २०७७ १५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App