१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राज्य नदेखेकाहरु, जसलाई केही थाहा छैन

गिट्टी फुटाउँदै सितली सुनार । तस्बिर : दिनेश/नागरिक

उनलाई देशमा शासन व्यवस्था फेरिएको अनि राजा हटेर गणतन्त्र आएको केही थाहा छैन । कोरोना त्रास पनि उनको दैलोसम्म आएको छैन । गाउँमा सुनेको ‘मान्छे मार्ने रोग आएको छ । त्यसैले शहरबाट आएकाहरुसँग भेट नहुनु हो ।’ कोरोना त्रासका बारेमा केही थाहा नभएपछि उनी ढुक्क छिन् । तिन छोरा र श्रीमान गुमाएकी उनले अघिल्लो पटक चुनावमा मतदान पनि गरिनन् । त्यसैले होला कोही कसैले सम्झिदा पनि सम्झदैनन् । घरवास बेचेर श्रीमान र आफ्नो उपचारमा पैसा सकेकी उनी यतिबेला घर न घाटकी भएकी छिन् ।

सेतै कपाल, चाउरिएर मुजा परेको अनुहारकी ७१ वर्षीया सितली सुनार सरकारले दिएको वृद्धभत्ताले हातमुख जोर्न सकस भएपछि मजदुरी गरेर जीबन चलाउन सुरु गरेकी हुन् । रोल्पा नगरपालिका २ स्थायी ठेगाना भएकी सुनार हिजोआज एउटा कोठा डेरामा लिएर रोल्पा नगरपालिका १ मा बसेकी छिन् । ‘जोडाको र मेरो आफ्नो औषधि गरे, ऋण तिरे सम्पत्ति सबै सकियो । अहिले डेरा गरेर बसेको छु ।’ न सत्ता न त आम समस्या बुझेकी उनलाई मात्र खाना र नानाको चिन्ता छ ।

तिन छोरी बिहे गरेर घर गएपछि उनी केही वर्ष यता एक्लै जीवन चलाउँदै छिन् । बिहानभर घरधन्दा गरेर दिउँसो रोल्पा नगरपालिका १ बामरुक नजिकै सडक छेउमा गिट्टी फुटाउन आउने सुनारलाई सरकारले दिएको वृद्ध भत्ताले घर चलाउन पुग्दैन । ‘उहिले छोराहरु मरेपछि कक्कर ‐चुरोट) खाने बानी बस्यो । दालभात मात्रै खाए त पुग्थ्यो कि । अरु खर्च पनि त चाहियोे ।’ खर्च देखाउँदै उनले भनिन् ‘कोठाभाडा, दाल, चामल, नुन, तेल, तरकारी, साबुन अनि कहिले लुगा कहाँ पुग्छ र ?’

एक ट्याक्टर गिट्टी बेचेर कमाएको ५ हजारमध्ये एक हजार ढुंगाको साहुलाई दिनुपर्छ । आफुसँग ४ हजार मात्र आउँछ । ‘बुढी मान्छे । कहिले बिरामी हुन्छु, कहिले अल्छी लाग्छ । दुईतिन महिनामा एक भारी ‐एक ट्याक्टर) पुग्छ ।’ गिट्टी फुटाउँदै सुनारले सुनाइन् ‘कोही अनि केही नभएकालाई सरकारले घर बनाइदिन्छ भन्ने सुनेको थिए तर त्यसमा मेरो नाम कहिल्यै आएन ।’ सरकारले चलाएको जनता आवास कार्यक्रमका बारेमा सुनेकी उनले त्यो सुविधा पाएकी छैनन् ।  

उमेरमा श्रीमानसँगै भारतको मुम्बईमा केही वर्ष बसेकी सुनारका तिन छोरा सानै उमेरमा मरेका थिए । ‘उतिबेला औषधि गर्ने अस्पताल थिएन । पैसा पनि थिएन । एउटा छोरा चार वर्ष पुगेर म¥यो अरु दुईवटा ५/६ महिना हुँदा मरे ।’ 

भाग्यमा छोरासँग बस्ने नलेखेको सोचेर चित्त बुझाएकी सुनार कति वर्ष यसरी गिट्टी फुटाएर जीवन चल्ला भन्ने अलमलमा छिन् । उनी जिल्लाको एउटा प्रतिनिधि पात्र हुन । सुनार जस्ता धेरै एकल महिला आज पनि कष्टकर जीवन बाँचिरहेका छन् । कोरोना, लकडाउन केही नबुझेकी उनलाई रोग आएको छ रे भन्नेचाहिँ थाहा छ ।  

उहिल्यै रोल्पा सदरमुकाम लिवाङमा राजा आउँदा हेर्न गएकी सितली आज पनि राजाको सत्ता चलिरहेको होला भन्नेमा छिन् । व्यवस्था फेरिएको र त्यसले दिने फाइदाको आजसम्म उनले उपभोग गर्न पाएकी छैनन् । सानै उमेरमा बिहे गरेकी उनीभन्दा जेठी छोरी उमेरमा १६ वर्षले मात्रै कान्छी छिन् । ‘उहिलेको चलन नै त्यस्तै । सानैमा बिहे गर्ने छोरा छोरी जन्माउने । हाम्रो पालामा लाटो जमाना थियो ।’ घरमा ग्याँस किन्न नसकेपछि उनले दाउराको जोहो गरेर भान्सा चलाउने गरेको बताउँछिन् ।  

हिजोआज सडकमा गाडी कम चलेकोले धुलो कम उड्ने बताउँदै सितली भन्छिन् ‘बुढेसकालका सहारा छोरा र जोडा छैनन् । सरकारले गरीबदुखीलाई किन हेरोस । हामी त नाम मात्रका मान्छे हौ ।’ उमेरले सात दशक काटेकी सितली कडा घाम, बर्खे झरी र ठिहिरयाउने चिसोमा खाना र नानाका लागि गिट्टी फुटाउन बाध्य छिन् । 

उनीसँग बिरामी हुँदा उपचार गर्ने ल्याकत छैन भने काम नगर्दा हातमुख जोर्न समस्या पर्छ । राज्य सत्ताको पहुँचबाट टाढा सितली जस्ता हरेक एकल वृद्ध महिलाहरुलाई राज्यले संरक्षण गर्नुपर्छ । उमेरमा आर्थिक प्रतिफलबिनाको कडा मिहिनेत गरेका उनीहरु आज नारकीय जीवन बिताउँदै छन् ।  

प्रकाशित: ८ जेष्ठ २०७७ ०७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App