२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरभित्रै गाडेको अवस्थामा भेटियो पुरुषको शव

सुत्ने खाटकै साइडमा तीन फिट गहिरो खाल्डो

आफ्नै घरभित्र गाडिएको अवस्थामा बुधबार एक पुरुषको शव विराटनगरमा फेला परेको छ । विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय सत्यराम चौहानको शव उस सुत्ने खाट नजिकै खाल्डो खनेर गाडेर पुरेको अवस्थामा बुधबार साँझमा फेला परेको प्रहरीले जनाएको छ ।

 ‘५५ वर्षीय सत्यराम चौहानको शव घरभित्रै पुरेको अवस्थामा भेटियो,’ मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भने, ‘हत्या गरेपछि चौहान सुत्ने खाटकै साइडमा तीन फिट जति गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव फेला पार्यौं, घटना गम्भीर रहेकाले यसलाई संघन अनुसन्धान अघि बढाउँछौं ।’ ‘घरभित्र शव गाडेका कारण हत्या नै हो भन्ने प्रष्ट हुन्छ,’ अधिकारीले भने, ‘अहिले रात परिसकेका कारण सबै कुरा खुल्न सकेन ।’  

सत्यरामका तीन छोरा छन् भने उनी २९ वर्षीय जेठो अविवाहित छोरो रोहितसँग बस्थे । विराटनगर–१५ मा माइलो छोरो नागेन्द्र बिहे गरेर श्रीमतीसँग डेरामा बस्थे । चार/पाँच वर्षदेखि कान्छा छोरा बेपत्ता रहेको प्रहरीले जनाएको छ ।  

माइलो छोरो नागेन्द्र बुवा र दाजु बस्ने घरमा बुधबार साँझमा पुगे । चौहानको कर्कटपाता र काठले बनाएको एक तले घर छ । झ्याल ढोका सबै खुल्लै छाडिएको घरमा बुवा र दाजुलाई नदेखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।  

घरभित्र चौहान सुत्ने खाटको छेउमा केही दिनअघि खनेको माटो देखेपछि प्रहरीले खनेर हेर्दा सत्यरामको शव फेला परेको एसपी अधिकारीले बताए । प्रहरी घरमा पुग्दा जेठो छोरो रोहित थिएनन् । केहीबेरपछि आएर आफू घरमै रहे पनि दिनभर काममा जाने र केही दिनदेखि बुवालाई आफूले समेत नदेखेको प्रहरीलाई बताएका थिए । प्रहरीले अनुसन्धानका लागि रोहितलाई नियन्त्रणमा लिएको छ भने माइलो छोरो नागेन्द्रमाथि पनि सोधपुछ थालेको छ ।  

‘घटनास्थलको प्रकृतिका हेर्दा चार/पाँच दिनअघि नै हत्या गरेर शव पुरेको जस्तो देखिन्छ,’ एसपी अधिकारीले भने, ‘रात परिसकेकाले धेरै कुरा बुझ्न नसकिएको र थप अनुसन्धान गरेपछि अन्य कुरा बाहिर आउने छ ।’ प्रहरीले शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेको छ ।

प्रकाशित: ७ जेष्ठ २०७७ १६:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App