१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘हामीहरुलाई घर जान देउ, नत्र मारिदेऊ’

घर जान पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका ईट्टा उद्योगमा कार्यरत भारतीय मजदुरहरु ।

दाङ

२३ वैशाखमा दाङ स्थित एक ईट्टा उद्योगमा कार्यरत १ सय बढि भारतीय मजदुरहरु लुकिछिपी भारत पस्न खोज्दै थिए । ईट्टा उद्योगबाट पैदल हिँडेर देउखुरी लमही ९ स्थित जलकुण्डिको जंगलमा लुकेर बसेका उनीहरुका बारेमा स्थानीयले थाहा पाए । लगत्तै प्रहरीलाई खवर गरे । स्थानीयको जानकारी पश्चात ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले १ सय १० जना उनीहरु लाई अगाडी बढ्न दिएन । उनीहरु  त्यहिँबाट दाङ फिर्ता भए ।

केहि दिन अघि दाङ कै विभिन्न ईट्टा उद्योगबाट तीन वटा बसमा भारतीय मजदुरहरु भारत जानका लागि हिँडे । नेपाल भारत सीमा क्षेत्र रुपैडिहा सम्म उनिहरु पुगे । तर त्यो भन्दा अगाडी उनिहरु बढ्न सकेनन् । उनिहरु त्यहिँबाट फिर्ता भए । ‘सुरुमा अमिलियाबाट प्रहरीले फिर्ता गरायो, अनि तीनवस भारतीय मजदुरी जान खोज्दै थिए, उनिहरु पनि रुपैडिहाबाट फिर्ता भए,’ दाङ जिल्ला ईट्टा व्यवसायि समितिका अध्यक्ष रोम ओलीले भने ।  

लकडाउनका कारण जिल्लाका ईट्टा उद्योगहरु ठप्प प्राय: छन् । उद्योगमा काम नभएपछि झण्डै दुई महिना सम्म उद्योगमा कार्यरत मजदुरहरु बेरोजगार बनेर बसेका छन् । ‘हामीहरु उद्योगमा काम गर्नका लागि भारतबाट आएका हौँ, लकडाउनका कारण काम सबै ठप्प भयो,’ नारायणपुर स्थित एक ईट्टा उद्योगमा कार्यरत विश्वनाथ चौहानले भने ‘न यहाँ काम छ, न खानका लागि जोहो गर्ने अरु उपायनै छ ।’ आँफूहरु भारतीय भएका कारण उनिहरुलाई बाहिर निस्केर अन्य काम गर्नका लागि समेत सहज छैन । स्थानीयहरुले उनिहरुलाई बाहिर ननिस्कन भनेका छन् । उनिहरु लकडाउन यता उद्योग हाता भित्रै कामविहिन अवस्थामा बसिरहेका छन् । ‘लामो समय भैसक्यो काम नभएको , कामै नभएपछि हामीहरुको कमाई हुने कुरै भएन,’ चौहानले भने ‘यस्तो अवस्थामा हामीहरु भोकै मर्ने अवस्था आउन थालिसक्यो, हामीहरुलाई घर फर्कने व्यवस्था गरिदिए आनन्द मान्थ्यौँ ।’

लकडाउनका कारण ‘न काम, न माम’ को अवस्था जिल्लामा रहेका ईट्टा उद्योगहरुमा कार्यरत भारतीय मजदुरहरुले झेलिरहेका छन् ।  भारत स्थित घर जानका लागि पटक पटकका प्रयास पनि असफल भएपछि ईट्टा उद्योगमा कार्यरत मजदुरहरुको आक्रोश चुलिएको छ । उनिहरु मंगलवार नाराबाजी गर्दै आफूहरुलाई घर फर्किने वातावरण निर्माण गरिदिन दबाब दिएका छन् । सैयौँको संख्यामा नाराबाजी गर्दै घोराही १२ बाट निस्कीएका उनिहरु घोराही १० नारायणपुर सम्म पुगेका थिए । उनिहरुलाई प्रहरीले रोकेको थियो ।  

‘कि त हामीहरुलाई घर जान दिनु पर्यो, नत्र यहिँ गोली हानेर मारिदेउ,’ मंगलवार आन्दोलन गरेका उनिहरुले भने ‘हामीहरु घर फर्कन चाहन्छौँ, जे जस्तो भएपनि घरमै पुगेर मर्छौँ ।’ काम विहिनताको अवस्थामा आँफूहरुको आयस्रोत  ठप्प भएको र साँझ विहान समेत छाक बसिसकेको उनिहरुले वताए । ‘हामीहरुको छाक बसि सक्यो,’ अर्कि मजदुर सुनिता चौहानले रुँदै भनिन् ‘हामी मरे पछि घरमै पुगेर मर्छौँ, हामीहरुलाई घर जान दिनु पर्यो ।’ उनिहरुले भारतबाट आउन थालेका नेपालीहरुलाई सीमा क्षेत्रमा अवरोध नहुने तर आँफूहरुलाई भारत पस्न किन नदिने भन्दै प्रश्न समेत गरेका छन् । भारतीय क्षेत्रमा रोकिएका नेपालीहरुलाई जिल्लामा भित्र्याउनका लागि अहिले जिल्लाका सबै स्थानीय तहहरुले तयारी थालेका छन् । सबै स्थानीय तहहरुले क्वारेन्टाईनको व्यवस्थापन गरिरहेका छन् । ‘भारतको सीमा क्षेत्रमा अड्कीएकाहरुलाई नेपाल आउन मिल्ने , तर हामीहरुलाई नेपालबाट आफ्नो घरमा किन जान नदिने ?’ घोराही १० स्थित मनकामना ईट्टा उद्योगमा कार्यरत भारत बाबागन्जका मजदुर शोभाराम चौहानले भने ‘हामीहरु के मानिस हैनौँ?’ उनले आफ्नो छोरानको निधन हुँदा समेत घर जान नपाएको भन्दै दुखेसो पोखे । चैत अन्तिम साता उनको १० दिनको छोराको निधन भएको थियो ।  

ईट्टा व्यवसायि समितिका अनुसार एउटा उद्योगमा दुई सय देखि माथीको संख्यामा मजदुरहरु छन् । यि मध्य अधिकांश भारतीय हुन् । लकडाउनका कारण उनिहरु घर जान पाएका छैनन् । उद्योगको काम समेत रोकिएकाले उनिहरुको दैनिक रोजिरोटि समेत खोसिने अवस्थामा पुगिसकेको छ । ‘अहिले सम्म हामीहरुले आँफैले यि मजदुरहरुको खानपानको व्यवस्थापन गरिरहेका छौँ,’ समितिका अध्यक्ष ओलीले भने ‘लम्बीम्दो लकडाउनका कारण यति ठूलो संख्यामा रहेका मजदुरहरुलाई खानपानको व्यवस्थापन गर्न हामीहरुलाई पनि ठूलो चुनौती बनिरहेको छ,यसर्थ यि मजदुरहरुलाई जतिसक्यो चाँडो घर फर्कने व्यवस्थापन गरिदिए धेरै राम्रो हुने थियो ।’ उद्योगमा अलपत्र परेका यि मजदुरहरुलाई आफ्नै लगानीमा घर फर्काउने समेत व्यवसायिहरुको भनाई छ ।  

प्रकाशित: ६ जेष्ठ २०७७ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App