१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दिल्लीबाट नेपालको सीमासम्म आएका नेपालीको दर्दनाक यात्रा

दिल्लीबाट नेपाल भारतको सीमा क्षेत्रमा अलपत्र परेका नेपाली ।तस्बिर÷निर्मल घिमिरे

मंगलबार बिहान नेपाल भारतको सीमा क्षेत्र सुरजपुर पुगेका बाँसगढी नगरपालिकाका  ६० वर्षीय पदमबहादुर मल्लको गोरो अनुहारमा कालो बादल छाएको छ । कुनै उत्साह, कुनै उमंगविहीन देखिएका छन उनी । पैदैल र गाडीमा चढेर दिल्लीबाट नेपालको सीमासम्म पुगेर मात्र लामो सास फेरेको उनले सुनाए ।

मंगलबार बिहान सुरज पुग्ने अलपत्र ३८ जनाको नेपालीको व्यथा एउटै खाले छ । मल्लको जस्तैे अन्यको थकित, अनिन्द्रा र भोक अनुहारमा प्रष्टै झल्किन्छ । घर जान गुहार मागिरहेको आवाज कसैको मुखबाट निस्केको छैन । तर, घर पुग्ने आशाको त्यान्द्रो बोकेर भारतको दिल्लीबाट नेपाली सीमा सुरजपुरसम्म आइपुगेका अलपत्र ३८ जना नेपालीको कथा विरक्तलादो छ ।  

कतै पैदल र कतै गाडी चढ्दै दिल्लीबाट नेपालको सीमा सुरजपुरसम्म आइपुगेका उनीहरुको भगवान पुकार्नुको विकल्प मात्र बचेको बाँके कोहलपुरका तर्कबहादुर शाहीले सुनाए । बाघको हटस्पट कतरनिया र मुर्तिहा संरक्षित जंगलमा रातभरि हिंड्दा बाँच्ने आशा मारेका उनीहरु नेपाली सीमासम्म पुगेपछि अलिकति तंग्रिएको उनी बताउँछन् । ‘बाटो बिराएर रातभरि जंगल छिचोल्दा कस्तो पो भएन होला,’ उनले दुख बिसाए ।  

बाघको गर्जनको आवाज सुन्दै रातभरि जंगल छिचोलेका नेपालीको समूह अझै पनि जंगलमै छ । केही रुखमा टेका लगाएर सुतेका छन्, केही गफिरहेका छन् ।

‘सीमामा भारतीय सुरक्षाकर्मीले जा भन्छन, नेपाली सुरक्षाकर्मीले छेकेर राखेको छ,’ अछामका तुरमखात गापा हर्क साउथले भने । सीमा क्षेत्रमा अलपत्र नेपालीलाई पानी र चाउचाउ दिन पुगेका गुलरिया नगरपालिका वडा नं. ६ का अध्यक्ष निरज सर्मा अघि उनीहरुको सामूहिक बिलौना हो, ‘देशकै दाना खाएर क्वारेटिनमा बस्न तयार छौ, तर चोर बाटो नेपाल जादैनौ ।’

बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र सुरजपुर आएर ७ जिल्लाका ३८ जना मजदुरहरु रोकिएका छन । दिल्लीबाट उपचार गराएर फर्केका र मजदुरी गर्न भारत पुगेका नेपाली नेपाल भारतको सीमाक्षेत्र सुरजपुरसम्म आइपुगका हुन ।

भारतको दिल्लीबाट पैदल र गाडीमा चढेर मंगलबार बिहान सुरजपुर आइपुगेका उनीहरुलाई नेपाल भारत सीमामा नेपाली सुरक्षाकर्मीले प्रवेश रोकेका छन । सीमामा प्रवेश नपाएपछि उनीहरु अनिदो र भोको छन् । उनीहरु घर फर्किन जनप्रतिनिधिदेखि अभियानकर्मीलाई गुहार गरिरहेका छन ।

मल्ल भन्छन, ‘यहाँबाट सरकारले हामीलाई नेपाल प्रवेश गर्ने बन्दोबस्त मिलाओस । सरकारी निर्देशनअनुसार हामी क्वारेन्टाइनमा बस्न तयार छौं ।’ ‘हामी नेपाली हौं, नेपाल नगए कहाँ जाने’, उनले भने,‘नेपालकै दाना खाएर क्वारेटिनमा बसौला ।’ लकडाउनअघि उपचारका लागि मल्ल दिल्ली पुगेका थिए । रगतको रिपोर्ट पर्खाइमा बसेका उनी मार्च २ गते भारत सरकारले गरेका लकडाउनमा दिल्लीमा फसेका थिए ।

दिल्लीबाट सुरजपुरसम्मकोे यात्रा निकै दर्दनाक एवं कष्टकर रहेको कोहलपुरका भगत शाहीले सुनाए । ‘कहिलेकाहीं मात्र खान पाइन्थ्यो । पानीको भरमा यात्रा निकै कष्टकर रह्यो’, उनले भने।

सुरजपुरमा रोकिएका ३८ जना बाँके(३), बर्दिया(४),अछाम(१६),गोर्खा(१) ,दैलेख(८), सुर्खेत(२) र जाजरकोट(४) छन् । सीमापारि रोकिएका आफ्नै क्षेत्रका बिरामी र मजदुरहरुलाई भित्रयाउन सम्बन्धित पालिका र जिल्लामा खबर गरिरहेको अध्यक्ष सर्माले बताए । पालिका प्रमुखबाट राम्रो रेसपोन्स नआएको उनले सुनाए । ‘सुरजपुरमा रोकिएकाहरुलाई ल्याएर सम्बन्धित जिल्ला पठाउने र क्वारेटिनमा राख्नका लागि पहल भइरहेको उनले जानकारी दिए । उनका अनुसार नजिकका पालिकालाई गाडीको व्यवस्था गरिदिएर पठाउनका लागि समन्वय र्भरहेको छ ।  

प्रकाशित: ६ जेष्ठ २०७७ ०८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App