१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तस्कर र सिकारी वनमा, सुरक्षाकर्मी लकडाउनमा

लकडाउनको मौका छोपी फँडानी गरिएको काठ । तस्बिर : नागरिक

कोरोना भाइसर संक्रमणको त्रासका कारण जारी लकडाउनले वनमा अवैध फँडानी बढेको छ । लकडाउनको मौका छोपी वन फँडानी गर्ने गिरोह राष्ट्रिय तथा साझेदारी वनक्षेत्रमा बन्दोबस्तीका समानसहित पसेका छन् । उनीहरूले हरिया रुख काटेर गोलिया बनाई निकासी गर्ने गरेका छन् । 

तथापि लकडाउनमा अवैध फँडानी हुन सक्ने भन्दै डिभिजन वन कार्यालयले वनक्षेत्रमा गस्ती बढाएको जनाएको छ । वन–रक्षक टोलीले गस्ती जारी राखेको भनिए पनि वन फँडानी हुने क्रम रोकिएको छैन । डिभिजन वन कार्यालय कपिलवस्तुका सहायक वन अधिकृत मदन सैन्डिल्यका अनुसार लकडाउन सुरु भएयता आधा दर्जनभन्दा बढी स्थानमा वन फँडानीका घटना भएका छन् ।

वाणगंगा नगरपालिका–१० पटनास्थित मायादेवी साझेदारी वन तस्करहरूको निशानामा सबैभन्दा बढी परेको स्थानीय बताउँछन् । सो वनमा जिल्लाकै सबैभन्दा बढी अतिक्रमण भएको छ । त्यहाँ करिब १० हजार हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

वैशाख १७ गते मायादेवी साझेदारी वनमा सालको हरियो रुख फँडानी गरी तीनवटा गोलिया बनाइराखेका २० घनफिटभन्दा बढी काठ बरामद भएको थियो । सो कार्यमा प्रयोग भएको लु२८प ३९४१ नम्बरको मोटरसाइल समेत बरामद भएको छ । घटनामा संलग्न व्यक्ति गस्ती टोली देखेपछि फरार भएका थिए ।

त्यस्तैवैशाख १५ गते मायादेवी साझेदारी वनमा अवैध निकासी गरिरहेको अवस्थामा एक मोटरसाइकलसहित सालको आठ दशमलव ६१ घनफिट गोलिया काठ बरामद भएको थियो भने घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका थिए । लु१८प २१७८ नम्बरको मोटरसाइकलसहित पक्राउ पर्ने दुवै जना नाबालक थिए । 

वैशाख ११ गते वाणगंगा नगरपालिका–१० स्थित मायादेवी साझेदारी वनमा भलेरियादेखि भावपुर जाने बाटोमा पर्ने स्थानमा सालको रुख ढालियो । तस्करहरूले रुखलाई काटेर सातवटा गोलिया बनाएका थिए । चोरी निकासी गर्नका लागि लुकाइछिपाई राखेको अवस्थामा गोलिया सात थान अर्थात् ३५ दशमलव ७४ घनफिट काठ बरामद गरिएको थियो । तस्करहरू भने फरार भएका थिए ।

वैशाख ९ गते कृष्णनगर नगरपालिका–११ कप्तानगञ्जस्थित सागवनको बगैंचामा लुकाइछिपाई राखेको अवस्थामा सिसौका पाँचवटा गोलिया काठ बरामद भएको थियो । सशस्त्र प्रहरीले बरामद गरेको सो काठ गौतमबुद्ध साझेदारी वनलाई बुझाइएको थियो ।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरीप्रसाद पौडेल वनक्षेत्रमा बढाइएको निगरानीले वनक्षेत्र धेरै जोगिएको दाबी गर्छन् ।

सुरक्षाकर्मीहरूको ध्यान लकडाउनतर्फ केन्द्रित भएको यो बेलामा तस्करहरूले व्यापक वन फँडानी गर्न खोजे पनि वनक्षेत्रमा गरेको गस्तीका कारण धेरै हदसम्म फँडानी रोकिएको छ,’ उनले भने । 

यतालकडाउनमा चोरी सिकारसमेत बढेको छन् । वनक्षेत्रमा चोरी सिकार गर्ने क्रममा रहेका ६ जना सिकारी तथा चार नाल बन्दुक बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ । यही अवधिमा मासुका लागि निलगाई सिकार गर्ने क्रम बढेको छ । तीनवटा निलगाई मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित: २ जेष्ठ २०७७ २२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App