२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना रोकथाममा खटिने जनप्रतिनिधिलाई भत्ता

जिल्लाका केही स्थानीय तहले कोरोना महामारीको समयमा स्थानीय तहबाट पाउने भत्ता राहत कोषमा जम्मा गर्ने निर्णय गरे पनि पाटन नगरपालिकाले भने  जनप्रतिनिधिलाई भत्ता दिने निर्णय गरेको छ । डिलासैनी  र दोगडाकेदार गाउँपालिकाले कोरोना महामारीसँग जुध्न जनप्रतिनिधिहरूले आफूले बैठकमा पाउने भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । पाटन नगरपालिकाका जनप्रतिनिधिले भने कोरोना नियन्त्रणको नाममा फिल्डमा खटिने जनप्रतिधिलाई दैनिक एक हजार पाँच सय भत्ता दिने निर्णय गरेको छ ।

महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खट्ने जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न यो निर्णय गरिएको पाटन नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ९  का वडाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । वडाको सिफारिसको आधारमा प्रतिदिन एक हजार पाँच सय प्रोत्साहन भत्ता र क्वारेन्टाइनमा खटिने जनप्रतिनिधिलाई थप सञ्चार खर्च एकमुष्ट पाँच सय र खाना खर्चबापत प्रतिदिन पाँच सय रुपैयाँ दिने निर्णय गरेको छ ।  

कोराना अवधिभर खटिने महिला स्वास्थ्य स्वयम्सेविकालाई एकमुष्ट दुई हजार, स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थाको सिफारिसको आधारमा तलबको ६० प्रतिशत जोखिम भत्ता र क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी सुरुक्षाकर्मी, कर्मचारीलाई दैनिक खाना खर्चबापत पाँच सय र सञ्चार खर्चबापत एकमुष्ट पाँच सय दिने निर्णय गरिएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भत्ताको व्यवस्था गर्ने निर्णय सही भए पनि जनताको सेवाका लागि खटिने जनप्रतिनिधिलाई भत्ताको व्यवस्था गर्न आवश्यक नभएको स्थानीय प्रेमसिंह भाटले बताए । जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधि भने यस्तो निर्णय नगरेरै कोरोना रोकथाम तथा नियन्त्रणमा खटिरहेका छन् ।

नगरपालिकाले निर्णय गरे पनि अहिले कुन शीर्षकबाट भत्ता दिने भन्ने समस्या उत्पन्न भएको  उपप्रमुख सरस्वती कोलीले बताइन । जनप्रतिनिधि भइसकेपछि यस्तो महामारीमा जनताको सेवामा खटिनका लागि आफूहरूले कुनै भत्ता नलिने र जनताको सेवामा लागिरहने पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले बताइन् । पुर्चौडी नगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्डअनुसारको स्वास्थ्यकर्मीलाई भत्ता दिइने निर्णय पास गरेको र जनप्रतिनिधिले अहिलेसम्म कुनै भत्ता नलिने गरेको नगरपालिकाका उपप्रमुख जानकी बमले बताइन् ।

प्रकाशित: १ जेष्ठ २०७७ १७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App